२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

पूर्ण बहादुरको सारङ्गी: प्रेम, त्याग र सम्बन्धको कथा

चलचित्र समीक्षा

‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगका लागि निःसन्देह एक अमूल्य उपहार बनेर आएको छ।

जसले नेपाली समाजकाे सजीव चित्रणलाई चलचित्रमा उतार्नुका साथै मानव समाजमा रहेकाे प्रेम, त्याग र परस्पर सम्बन्धकाे महत्त्वलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।

यस चलचित्रले गन्धर्व समुदाय केवल एक कथा मात्र नभई, समाजका विभिन्न वास्तविक र गहिरो जरा गाडिएका वर्गीय विभाजनका पीडालाई मर्मस्पर्शी रूपमा उजागर गरेको छ।

आफ्ना सङ्गीत र सांस्कृतिक परम्परालाई जीवनको साधन बनाउने गन्धर्व समुदाय यस चलचित्रको केन्द्रबिन्दु हो। निर्देशक सरोज पौडेलले चलचित्रलाई एकदमै सजीव र मार्मिक शैलीमा प्रस्तुत गरेका छन्।

चलचित्रले आफ्नो कथा पूर्ण बहादुर नामका एक पात्रको वरिपरि घुमाउँछ। पूर्ण बहादुर एक दलित (गन्धर्व) समुदायका सदस्य हुन्। जो सारङ्गी बजाएर आफ्नो जीवनयापन गर्छन्।

सारङ्गी पूर्णबहादुरको जीवनयापनकाे साधन मात्र होइन, यो उनको भावना, आत्मा र अस्तित्वको अभिन्न हिस्सा हो। सारङ्गी मार्फत उनले आफ्ना हर्ष, दुःख, पीडा, र आक्रोशलाई अभिव्यक्त गरेका छन्।

समाजले उनलाई बारम्बार अपहेलित गर्छ। उनको प्रतिभा र सम्मानलाई नजरअन्दाज गर्छ। तथापि उनले सारङ्गीलाई आफ्नो जीवनको सार मान्न छोड्दैनन्। सारङ्गी उनका लागि एक अभिव्यक्तिको माध्यम हो। जसको सहयोगमा उनी आफ्ना भित्री भावना र पीडालाई मनमोहक ढंगले उजागर गर्छन्।

कलाकार विजय बराल पूर्ण बहादुरको भूमिकामा छन्। उनले आफ्नो अभिनयद्वारा यस पात्रलाई सजीव बनाइदिएका छन्। हलमा दर्शकहरूले आँसु रोक्न नसक्नुको कारण विजयको प्रभावशाली अभिनय नै हो। उनले मुहारमा पूर्ण बहादुरको पीडा र सपना प्राकृतिक रुपमै झल्काएका छन्।

विजयले हलमा दर्शकसँग गरेको संवादमा उल्लेख गरेझैँ यस चलचित्रले दर्शकहरूलाई आफ्नै जीवन र सम्बन्धसँग जोड्न बाध्य बनाउँछ। चलचित्रले बाबु र छोराको सम्बन्धमा रहेको त्याग, संघर्ष, र माया प्रस्तुत गरेको छ। यो सम्बन्ध मात्र माया र समर्पणमा होइन, संघर्ष र साहसमा पनि आधारित छ।

बाबुले छोराको लागि गरेको त्याग, र छोराले बाबुको लागि गरेको सम्मान चलचित्रको मुटु हो। यसले दर्शकलाई केवल मनोरञ्जन मात्र दिँदैन, उनीहरूलाई आफ्ना परिवार, विशेष गरी बाबुआमाको संघर्ष र त्यागको मूल्य बुझ्न पनि प्रेरित गर्छ।

चलचित्रमा पूर्ण बहादुर समाजबाट बारम्बार अस्वीकृत हुन्छन्। तर उनी आफ्नो अस्तित्वलाई स्विकार्न र सारङ्गीबाट आफ्नो जीवनको सार खोज्न कुनै कसर बाँकी राख्दैनन्।

यो यात्रामा उनी समाजको विभेदकारी मानसिकतासँग लड्दै छन्। उनले सारङ्गीको धुन मार्फत् आफ्ना पीडा र मर्म व्यक्त गर्छन्। यो संघर्ष केवल एक व्यक्तिको मात्र होइन, यो वर्गीय विभेद र सामाजिक अन्यायको कथा हो। जसले समाजमा फेरबदल ल्याउन सन्देश दिइरहेको छ।

चलचित्रको छायाङ्कनले नेपाली समाजको प्राकृतिक सुन्दरतालाई जीवन्त बनाएको छ। गाउँको परिवेश, पहाडी भूगोल र समाजको यथार्थ चित्रणले चलचित्रलाई झनै आकर्षक बनाएको छ।

फिल्मले परम्परागत जीवनशैली, धार्मिक र सांस्कृतिक मान्यताहरूलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ। फिल्ममा निर्देशकले केवल कथा मात्र होइन, एक परिवेश र जीवनशैलीलाई पनिसँगै पर्दामा उतारेका छन्। यही फरकपनका कारण चलचित्रले नेपाली जनताको मनमा गहिरो छाप छाड्न सफल भएको छ।

चलचित्रले दर्शकलाई पूर्ण बहादुरजस्ता व्यक्तिहरूको जीवनको झल्को दिन्छ। जो दैनिक जीवनमा संघर्ष गरिरहेका छन्। पूर्ण बहादुरको पीडालाई बुझ्न सहज छैन। तर यो चलचित्रले दर्शकलाई उनको ठाउँमा उभिएर सोच्न बाध्य बनाउँछ। जब समाजले पूर्ण बहादुरलाई अपहेलित गर्छ, उनी अस्वीकृत हुन्छन्, तब उनले आफ्नो सारङ्गीबाट जीवनको सन्देश पाउँछन्।

सारङ्गी उनको लागि केवल एउटा बाजा होइन। यो उनको जीवनको सहारा, अभिव्यक्ति, र अस्तित्वको साधन हो। जब उनी सारङ्गी बजाउँछन् दर्शकलाई उनको पीडामा साथ दिन बाध्य बनाउँछ।

फिल्मको सङ्गीत पनि यसको एउटा मुख्य आकर्षण हो। सारङ्गीको धुनले पूर्ण बहादुरको संघर्ष, पीडा र जीवनप्रतिको तृष्णालाई जीवन्त बनाउँछ। सङ्गीतले दर्शकलाई भावनात्मक रूपमा जोड्छ र चलचित्रलाई अझ मार्मिक बनाउँछ।

पूर्ण बहादुरजस्ता थुप्रै पात्रहरू समाजमा छन्। तर उनीहरुका कथाहरू कतै लुकिरहेका छन्। फिल्मले यस्ता पात्रहरूको कथा उजागर गर्दै दर्शकलाई गहिरो प्रश्न सोधेको छ, किन समाजले विभेद गरिरहेको छ ?

सारङ्गीको धुनले समाजमा समानता र न्यायको आवाज उठाउने प्रेरणा दिन्छ। फिल्मले समाजको विभेदकारी मानसिकतालाई चुनौती दिँदै दर्शकलाई विभेदरहित समाज निर्माणतर्फ प्रेरणा दिन्छ। 

कथा

पूर्ण बहादुर गन्धर्व चलचित्रका मुख्य पात्र हुन्। उनी आफ्नो पुर्ख्यौली पेसा सारंगी बजाएर गाउँ-घरमा गीत गाउँदै हिँड्छन्। उनी समाजले अस्वीकार गरेको व्यक्ति हुन्। उनी यो पेसामा अडिग रहन चाहन्छन् तर उनको संघर्ष केवल आफ्नो अस्तित्व र आत्मसम्मानको लागि होइन, आफ्ना सन्तानको भविष्य निर्माण गर्नका लागि पनि हो।

पूर्णको जीवनसंगिनी बाटुली पनि यो कथाको महत्त्वपूर्ण पात्र हुन्। बाटुलीलाई आफ्ना श्रीमानलाई समाजले हेर्ने तिरस्कारपूर्ण दृष्टिकोण देखेर दुखेको छ। उनी आफ्नो छोराको लागि यो कठिनाइपूर्ण जीवन नहोस् भन्ने चाहन्छिन्। उनले छोराको भविष्यका लागि जोखिम उठाउँछिन्। समाजले उनलाई पदीय हैसियतमा तल देखे पनि, बाटुली आफ्नो सम्मान र सन्तानको भविष्यका लागि कदम चाल्न अघि बढ्छिन्।

बाबु-छोराको सम्बन्ध

फिल्मको मुख्य ‘थिम’ बाबु-छोराबीचको सम्बन्ध र संघर्षमा केन्द्रित छ। पूर्णले छोरालाई आफ्नै पेसामा ल्याउन संघर्ष गर्छन्। तर, उनी आफूले भोगेको समाजको विभेदको अनुभव आफ्नो सन्तानलाई भोग्न नपरोस् भन्ने चाहन्छन्। यसैले उनी आफ्नो सम्पूर्ण ऊर्जा छोराको भविष्य निर्माण गर्न खर्चिन्छन्।

छोरालाई परम्परागत पेसामा बाधिन नदिनका लागि पूर्णले सन्तानको भविष्य निर्माण गर्न गरेको संघर्षले दर्शकको हृदयलाई गहिरो रूपमा छोएर जान्छ। फिल्म हेर्दा हरेक बाबुले छोराको लागि गरेको त्याग, माया, र सपनाहरूलाई सम्झिन्छन्। यसरी चलचित्रले दर्शकलाई आफ्नो परिवारसँगको सम्बन्धको पुनर्मूल्यांकन गर्न प्रेरित गर्छ।

गन्धर्व समुदायको संघर्ष

फिल्मले गन्धर्व समुदायको जीवन सङ्घर्षलाई वास्तविक रूपमा चित्रण गरेको छ। यो समुदायलाई समाजले केवल मनोरञ्जनको साधनको रूपमा हेरेको छ। यो समाजको ठूलो विरोधाभास हो – गन्धर्व समुदायका पुरुषहरू सारंगी रेट्दै गीत गाउँदै हिँड्दा, समाज त्यसलाई रमाइलो मान्छ। तर, त्यो पेसा अपनाउनुपर्ने आवश्यकतालाई कहिल्यै महसुस गर्दैन।

गन्धर्व समुदायको संस्कृतिलाई मासिन नदिन, परम्परागत पेसालाई निरन्तरता दिनको लागि पूर्ण बहादुरले गरेको संघर्ष दर्शकलाई नेपाली समाजको यथार्थसँग साक्षात्कार गराउँछ। उनीहरूका लागि सारंगी मात्र बाजा होइन: यो एक अस्तित्व र पहिचानको प्रतीक हो। तर, आजको पुस्ताले यो पेसामा भविष्य देख्न नसक्नु र आर्थिक सुरक्षाको अभावले उनीहरूलाई वैकल्पिक बाटो खोज्न बाध्य बनाएको छ।

कलाकारहरूको अभिनय

चलचित्रमा विजय बरालले गरेको अभिनय प्रशंसनीय छ। उनले पूर्ण बहादुरको भूमिका निर्वाह गर्दा, दर्शकलाई एक त्यागी पिताको भावनामा डुब्न बाध्य बनाउँछन्।

बाबु-छोराको गहिरो सम्बन्ध, समाजले देखाउने भेदभाव र आफ्नो सपना पुरा गर्ने सङ्घर्षलाई उनले निकै प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। बाटुलीको भूमिका निर्वाह गर्ने अञ्जना बराइलीले आफ्नो चरित्रलाई गहिरो अनुभूतिका साथ प्रस्तुत गरेकी छन्।

सहायक भूमिकामा रहेको बुद्धि तामाङ र मुकुन भुसालले पनि उत्कृष्ट अभिनय गरेका छन्। विशेष गरी, बुद्धिले आफ्नो हास्य अभिनयलाई परिपक्व बनाउन सफल भएका छन्। भोलाराज सापकोटाको भूमिकाले समाजको दोहोरो चरित्रलाई दर्साउँछ – गरिब, दलित, मजदुरहरूको पक्षमा बोल्ने पात्रकै व्यवहारमा पनि किस्तापि देखिन्छ।

सङ्गीत र संवाद

फिल्मको अर्को विशेषता यसको ब्याकग्राउन्ड सङ्गीत हो। सारंगीको मार्मिक सङ्गीतले पूर्ण बहादुरको जीवनको पीडा र सङ्घर्षलाई अझ प्रखर रूपमा दर्शकको सामु प्रस्तुत गर्छ। गीतहरूले मात्र कथा र भावनालाई प्रस्तुत नगरी, समाजलाई सन्देश पनि दिन्छ। सारंगीको प्रत्येक धुनमा एक प्रकारको गहिराइ छ, जसले गन्धर्व समुदायको मौलिकता र जीवन सङ्घर्षलाई उजागर गर्छ।

फिल्मको संवाद पनि प्रभावशाली छ। पात्रहरूले बोलेका संवादहरू छोटा भए पनि मर्मस्पर्शी छन्। वीरे पात्रले बोलेका संवादले समाजमा गन्धर्वहरूको अवस्थाबारे गहिरो सन्देश दिन्छ। फिल्ममा लामो संवाद राख्नुभन्दा एक-एक वाक्यमा राखिएको स-साना शब्दले पनि दर्शकको मस्तिक्कमा गहिरो छाप पार्दछ।

पूर्ण बहादुरको सारंगी केवल मनोरञ्जन मात्र होइन, यो एउटा यथार्थपरक दृष्टिकोण हो। जसले समाजलाई झस्काउन सक्छ। चलचित्रले दर्शकलाई भावुक बनाउँदै गन्धर्व समुदायको पीडा, उनीहरूको संघर्ष, र उनीहरूको अस्तित्वलाई पुनः परिभाषित गर्न बल पुर्‍याउँछ। समाजले रमाइलो मान्ने तर सधैँ अपहेलित गर्ने समुदायको कथा यो फिल्मको केन्द्रमा छ।

प्रकाशित: २५ कार्तिक २०८१ १७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App