३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

गणेशमान सिंह टेन–के रोड रेस: गोपीचन्द्र र सन्तोषीद्वारा उपाधिरक्षा

साबिक विजेता एपिएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। शनिबार आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधिका रक्षा गरेका हुन्। 

उपाधि रक्षा गर्ने क्रममा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता गोपीले निर्धारित १० किमिको दूरी ३१ मिनेट ४४.४९ सेकेन्डमा पूरा गरे। गत वर्ष पहिलो संस्करणमा गोपी आफैंले ३२ मिनेट ०१.२ सेकेन्डको कीर्तिमान तोडेका थिए। उपाधिसँगै गोपीले कुल ६० हजार नगद पुरस्कार पाए। 

नयाँ कोर्स रेकर्ड बनाएका उनले थप १० हजार रूपैयाँ प्राप्त गरे। पुरुषतर्फ अनिष थापामगर ३१ मिनेट ५०.४९ सेकेन्डका साथ दोस्रो हुँदा तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्ड समयका साथ तेस्रो भए। अनिषले नगद ३० हजार र तीर्थले नगद १५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरे। यसै गरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन्।

उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन्। सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पूरा गरेकी थिइन्। अघिल्लो संस्करणको कीर्तिमान तोडेसँगै सन्तोषीले थप १० हजार रूपैयाँ प्राप्त गरिन्। महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३०.० सेकेन्डका दोस्रो र एपिएफकी फुलमती राना ४० मिनेट ५६.० सेकेन्डका साथ तेस्रो भइन्। 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर समापन भएको थियो।

प्रकाशित: ८ चैत्र २०७७ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App