३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

सशस्त्र प्रहरीलाई मिल्स गोल्डकपको उपाधि

सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) ले चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

मिल्स गोल्डकप ट्रष्टले विराटनगरमा आयोजना गरेको प्रतियोगितामा घरेलु टोली विराटनगरको पेमा युवा क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो। उपाधि जित्दै एपिएफले २ लाख ११ हजार १ सय र उपविजेता पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ। मिल्स गोल्डकपको दोस्रो पटक उपाधि उचाल्न सफल भएको एपिएफले पहिलो संस्करणसमेत हात पारेको थियो।

एपिएफलाई जित दिलाउन भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले गोल गरेका थिए। यता, पेमाका लागि एक मात्र गोल मिलन राईले गरे। प्लेयर अफ द फाइनल एपिएफका दिसन राईले ३ हजार रुपैयाँ प्राप्त गरे।

खेल सुरु भएको ११ औं मिनेटमा घरेलु टोली पेमाका मिलन राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सुरज सुब्बाको क्रसपासमा मिलनले गोल गरे। लगत्तै १३ औं मिनेटमा एपिएफका भरत कपालीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। विराटनगरका गोलरक्षक अरुणले पन्छाउन खोजेको बल रिबाउण्ड हुँदा भरतले गोल गरे।

६० औं मिनेटमा एपिएफका दिसन राईले टोलीका लागि गोल संख्या बढाएर दोब्बर बनाए। हरि कार्कीले डिबक्सभित्रबाट मिलाई दिएको क्रसपासमा दिसनले उत्कृष्ट गोल गरे। ७४ औं मिनेटमा एपिएफका धनबहादुर श्रेष्ठले गोल थपे। यो गोलसँगै एपिएफको गोल संख्या तेब्बर बन्यो। दिसन राईले निकालेको पासलाई सदुपयोग गर्दै धनबहादुरले गोल गरे।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता एपिएफका हरि कार्की, उत्कृष्ट गोलरक्षक एपिएफका सुजन बिक र पेमा युवा क्लबलका कोमल खवासलाई सम्मान गरिएको थियो।

खेलाडीहरुलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोललगायतले पुरस्कार प्रदान गरे।

प्रकाशित: १७ वैशाख २०८१ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App