९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

वर्ष उत्कृष्ट खेलाडी बने दीपक र राजपुरा

एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन्। यस संस्करणदेखि सुरु गरिएको शिर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी भए। याक एण्ड यति होटलमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे। महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन्। दीपक १६ औं एशियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन्। राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन्। 

दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड प्रदान गरे। वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए। टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन्। ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । सिक्काले सर्वाधिक ४४.८ प्रतिसत मत प्राप्त गरिन्। यस अवार्डको मनोनयनमा करातेका विप्लभलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ,  भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए।

सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन्। उनलाई ईसेवाको चिफ बिजनेस अफिसर आशिष गौतम र केल्मी नेपालका प्रतिनिधि दीपक बिष्टले अवार्ड प्रदान गरे। वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए। यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए। उनलाई सूर्य नेपाल प्रालीका प्रतिनिधि विदुर अधिकारी र युनाइटेड अजोड इन्स्युरेन्स प्रा.लि.का सिनियर डिसिइडी कुमारबहादुर खत्रीले अवार्ड प्रदान गरे । गुरुङको प्रशिक्षणमा १६औं एशियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो।

उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक काँस्य तथा जुनियरमा दुई रजत र एक काँस्य पदक प्राप्त गरेको थियो। प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे। युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए। उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन्। देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एशिया छनोटको उपाधि जित्न सफल भएको थियो। उनले एथ्लेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते।

देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए। उनलाई होटल याक एण्ड यतिकी महाप्रवन्धक मोनिका साई ब्लावर र इड्राइभ नेपाल प्रालीका अध्यक्ष राजेश मास्केले अवार्ड प्रदान गरे। एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुङ्खे सम्मानित भइन्। उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन्। उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन्। लाइफ टाइम एचिभमेण्ट अवार्ड पहिलो ओलम्पियन एवं भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे। खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन्।

प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ प्रदान गरे। स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रन्जित सम्मानित भए। उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन्। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड प्रदान गरे। एशियन स्पोटर््स जर्नालिस्ट अवार्डबाट हङकङ रेमण्ड चुलाई प्रदान गरिएको छ। उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अवार्ड प्रदान गरे।

कुल ९ विधामध्ये एशियन स्पोटर््स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्पmबाट एक वर्षका लागि खेलकुद बीमा पाउनेछन्।

प्रकाशित: २८ माघ २०८० २०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App