१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिकाका अध्यक्षद्वारा बिरामीको उद्धार

इखाबुकी रामप्यारी लिम्बूलाई पालिकाको सवारीमार्फत उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ पठाउन सवारीमा चढाउँदै पालिका अध्यक्ष लाबुङ।

पालिकाको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङले अन्ततः पालिकाको सवारीमार्फत् बिरामीको उद्धार गर्न सुरु गरेका छन्।

शनिबार उनले उपचारका लागि फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुकी ६३ वर्षीया रामप्यारी लिम्बूलाई पालिकाको सवारीमार्फत् ताप्लेजुङ जिल्ला अस्पतालसम्म पुग्ने प्रवन्ध गरेका छन्। पथरिया र जण्डिसको समस्याले ग्रस्त उनलाई पालिकाको गाडीले छिरुवा बजारबाट ताप्लेजुङ जिल्ला अस्पतालसम्म पुर्‍याएको छ।

निर्वाचनताका घोषणापत्र सार्वजनिक गर्दै लाबुङले पालिकाको सवारीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका थिए। उनले निर्वाचनमा विजयी प्राप्त गरेर पदभार ग्रहण गरेको दिन आफ्नो पूर्व घोषित भनाइ कायम राख्दै बिरामी परेर उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने अवस्थामा सवारी चाहिए पालिकामा खबर गर्न आग्रह गर्दै पालिकाको सवारी औपचारिक रुपमा एम्बुलेन्सको रुपमा प्रयोग हुने घोषणा गरेका थिए।

उनले आफ्नो सेवा सुविधा समेत पालिकाका नागरिककै हितमा प्रयोग गर्ने भन्दै त्यो सुविधा व्यक्तिगत रुपमा भोग नगर्ने समेत घोषणा गरेका छन्। पूर्व लाहुरे उनी गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनी फक्ताङ्लुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। क्षेत्रफलकै हिसाबले नेपालकै तेस्रो ठूलो पालिका रहेको फक्ताङ्लुङको अधिकांश क्षेत्र दुर्गम र विकट छ।

पालिकाको आफ्नै एम्बुलेन्स सेवा नभएकोले सवारीमार्फत उपचारको पहुँचसम्म पुग्नुपर्ने बिरामीको उद्धारका लागि पालिकाको गाडीलाई ‘एम्बुलेन्स’ झैं सेवा दिने सवारीको रुपमा प्रयोग गर्ने अध्यक्ष लाबुङको घोषणा थियो।

प्रकाशित: १४ जेष्ठ २०७९ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App