२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

धरानमा पाँच दिनमा ४ जना संक्रमितको मृत्यु

सक्रिय संक्रमित १४ सय बढी

कोभिड १९ को तेस्रो लहरको चपेटामा परेको धरानमा पछिल्लो पाँच दिनमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुने अधिकांश दीर्घरोगी भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य मशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। मृतक सबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको पनि उनले बताए। ‘मृत्यु भएका अधिकांश दीर्घरोगी थिए, हस्पिटलमा जाँच गर्दा पोजिटिभ आएको हो,’ मेहताले भने।

प्रतिष्ठानमा गए राती वडा नं ९ की ७६ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ। मधुमेहबाट पीडित रहेकी वृद्धाले कोभिड १९विरुद्धको खोपसमेत लगाएकी थिइन्। उनको राती १ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो।

यस्तै, माघ १३ गते बिहान ७ बजेर ४० मिनेटमा संक्रमण पुष्टि भएको धरान १५ का ७२ वर्षीया वृद्ध पुरुषको पनि मृत्यु भएको थियो। उनले पनि कोभिडविरुद्ध खोप लगाएका थिए। त्यसअघि माघ १२ गते राती ८ बजेर ४० मिनेटमा धरान ११ का ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो। उनी कलेजो र मिर्गौला रोगबाट पीडित थिए। कोभिडविरुद्धको खोप लगाए पनि उनलाई संक्रमण पुष्टि भएको थियो।

यसैगरि, माघ ११ गते राती धरान १४ का २९ वर्षीया संक्रमित पुरुषको पनि निधन भएको थियो। कलोजमा समस्या भएका उनले भने कोभिडविरुद्ध खोप लगाएका थिएनन्। सुनसरी जिल्लाको १२ स्थानीय तहमध्ये हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या धरानको बढी छन्। तेस्रो लहरसम्म आइपुग्दा कोरोनाबाट सुनसरीमा मृत्यु हुनेको संख्या शुक्रबारसम्म ५५६ जना पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ। ती मध्ये धरानको मात्र २२७ जना रहेका छन्।

सक्रिय संक्रमित १४ सय बढी

कोरोना संक्रमित हुने तथ्यांकमा पनि सुनसरी जिल्लामा धरान बढी छ। यस्तै, सक्रिय संक्रमित पनि धरानमा बढी रहेको छ। स्वास्थ्य कार्यालय सुनसरीका अनुसार शुक्रबारसम्म जिल्लामा ३१ हजार ३ सय ६३ जना संक्रमित भएका छन्। ती मध्ये धरानको मात्र १२ हजार ९५ जना छन्।

अहिले तेस्रो लहरको क्रममा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ४० रहेको पनि स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। ती मध्ये सबै होम आइसोलेसनमा रहेका छन् भने स्थानीय पालिकाले तयार गरेको आइसोलेसनमा बस्नेको संख्या १७ मात्र रहेको छ।

प्रकाशित: १५ माघ २०७८ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App