११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

७७ वर्षीया महिलामाथि बलात्कारकाे घटनामा जनप्रतिनिधिले नै मिलापत्र गरेको खुलासा

आर्थिक लेनदेनमा मिलाउने जनप्रतिनिधिसहित ५ जना पक्राउ

कैलालीको घोडाघोडी नगरपालिका ४ मा ७७ वर्षीया वृद्धालाई बलात्कार गरिएको घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको खुलासा भएको छ। जनप्रतिनिधिसहित गाउँका टाठाबाठाहरु बसेर पीडितलाई ३ लाख रुपैयाँ दिने सहमतिमा वृद्धा महिलालाई बलात्कार गरेको घटना गुपचुप राखिएको थियो।

गत मंसिर १५ गते राती ९ बजेतिर आफन्तको घरबाट आफ्नो घर फर्कने क्रममा ७७ वर्षीया महिलालाई गहुँबारीमा लगेर वडा नं ४ का ३० वर्षीय प्रकाश सुवेदीले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए। बलात्कारको प्रतिकार गर्दा वृद्धाले लगाएकाे लुगा च्यातिएको र चोटपटक समेत लागेको उनले बताए। सामान्य परिवारका पीडितलाई दवाव दिई वडा सदस्यसहित गाउँका टाठाबाठाले ३ लाख रुपैयाँ दिने सहमतिमा घटना मिलापत्र गराइएको बुझिएको छ। घटना बाहिरिने भनेर पीडित महिलालाई उपचार समेत गर्न नदिएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक शाहीले बताए।

पिडित पक्षलाई ३ लाख रुपैयाँ दिने सहमतिमा घटना मिलापत्र गराइएपनि आर्थिक लेनदेनमा कुरा नमिलेपछि करिव १ महिनापछि घटना बाहिरिएको हो। पुस ११ गते पीडित महिलाका छोराले उजुरी लिएर ईलाका प्रहरी कार्यालय सुख्खड पुगेको उनले बताए। सहमति भएको ३ लाख मध्य २ लाख मात्र पीडितका छोरालाई पीडक पक्षले दिएको प्रहरी नायव उपरीक्षक शाहीले जनाकारी दिए।

पीडित महिलाका छोराले बलात्कार गर्ने सुवेदी र घटना मिलापत्र गर्ने वडा सदस्यसहित ८ जना गरि ९ जनाको नाममा किटानी जाहेरी दिएका छन्। प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए। अन्य ४ जना भने फरार रहेका छन्।

पक्राउ पर्नेमा अभियुक्त सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडासचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराई रहेको उनले बताए। घटना मिलापत्र गराउनेलाई जघन्य अपराध लुकाउन खोज्ने मतियारका रुपमा कारबाही गरिने उनको भनाइ छ।

बलात्कारको आरोपित पक्षले पीडितलाई ३ लाख दिने सहमतिमा मिलापत्र गरेपनि सहमति बमोजिम पूरै रकम नदिएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको बुझिएको छ। वृद्धाका छोराले आमामाथि बलात्कार भएको थाह पाएको दिन नै उजुरी दिन खोजेपनि जनप्रतिनिधिलगायतले जबरजस्ती गरेर गाउँबाट बाहिर जान नदिई घटना मिलापत्र गर्न दवाव दिएको प्रहरीलाई बताएका छन्।

बलात्कार आरोप लागेका सुवेदीले मदिराको नशामा वृद्धामाथि जबरजस्ती गरेको बयान दिएको प्रहरीले बताएको छ। गाउँमा अहिले पनि बलात्कारका घटनाहरू आर्थिक लेनदेनमा मिलापत्र गरिने गरेका छन्। कयौं घटनाहरू त मिलापत्र गरेर गुपचुपमै राखिने गरिएकाे छ।

प्रकाशित: २५ पुस २०७८ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App