१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बाँकेमा शीतलहर सुरु, जनजीवन प्रभावित

नेपालगन्जमा आइतबार बिहानै लागेको शीतलहर। तस्बिर: गणेश/नागरिक

केही दिनयता बढेको चिसोसँगै शीतलहर सुरु भएपछि बाँकेको जनजीवन प्रभावित भएको छ। शनिबार रातिदेखि बाँकेको नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा शीतलहर सुरु भएको हो। शीतलहर सुरु हुँदा विपन्न, बृद्धबृद्धा, बालबालिका, दीर्घरोगी तथा दैनिक ज्यालादारी काम गर्ने मजदुर प्रभावित भएका छन्।  

जाडो महिनामा तराईको समतल क्षेत्रमा हुस्सु लाग्नु तथा शीतलहर चल्नु सामान्य भए पनि स्थानीय तहहरुले यसबाट बच्न पूर्वतयारी नगर्दा बर्सेनि समस्या हुने गरेको छ। गर्मीमा तातो हावा चल्ने र जाडो महिनामा निकै चिसो हुने भएका कारण तराई क्षेत्रमा मौसमजन्य प्रतिकूलतासँग जुध्न सावधानी अपनाउनुपर्ने भए पनि समयमै सावधानी अपनाइएको छैन। यहाँका स्थानीय तहहरुले चोकचोकमा आगो ताप्ने व्यवस्था गर्ने भनेपछि अहिलेसम्म दाउरा खरिद गर्न सकेका छैनन्। न्यूनतम तापक्रम निकै कम भएको र मौसम सफा रहेको बेलामा तराईको समतल क्षेत्रमा शीतलहर चल्छ।

जाडोबाट जोगाउन गाईबस्तुलगायतका जनावर र मान्छे सबैले आआफ्ना ढंगले प्रयास गरिरहेका छन्। तर, त्यति गर्दा पनि जीउ तातो पार्न उनीहरुलाई समस्या परिरहेको छ। नेपालगन्जकी गीता खातुनले भनिन्, ‘हुनेले बाक्लो कपडा लगाउँछन्। नहुनेका छोराछोरी कपडाबिनै चिसोमा घुम्छन्।’ बालबालिकालाई विद्यालय जानसमेत समस्या भएको उनी बताउँछिन्।

शीतलहर चलेका बेला आपूmभन्दा अगाडि अलि टाढासम्म देखिँदैन। शीतलहरले बाटोसमेत राम्रोसँग नदेखिँदा हिँड्न कठिन भएको कोहलपुरका विकास पौडेलले बताए। ‘साँझ त झनै केही देखिँदैन,’ उनी भन्छन्, ‘दिउँसो पनि आफू नजिकैसम्म मात्र देखिन्छ। टाढासम्म देखिँदैन।’  

शीतलहरको चिसो छल्न गरिबहरु गाईबस्तुलाई खुवाउन जतन गरी राखेको पराल बालेर घुर ताप्ने गरिरहेका छन्। शीतलहर चल्दा जमिनदेखि लागेको कुहिरोले आकास ढपक्कै ढाकेको छ। त्यसमा पानीका कण मिसिएर आएका छन्। शीत लहरको चिसोले रगतको प्रवाह रोकिने, विभिन्न प्रोटिनजन्य पदार्थ स्नायुभित्रै जम्ने जस्ता कारणले मुटु, फोक्सो एवम् मस्तिष्कजस्ता संवेदनशील अंगले काम गर्न छाडी ज्यानैसमेत जानसक्ने भएकाले यसबाट बच्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ।  

शीतलहर चलेका बेला वा निकै जाडो भएको बेला सडकमा आगो तापेर बस्ने चलन धेरैको हुन्छ तर शीतलहर चलेका बेला आगो तापेर बस्नु हानिकारक हुने कतिपयको भनाइ छ। शीतलहर चलेको बेला हावामा पानीको बाफको मात्रा धेरै हुने र अक्सिजन कम हुने भएकाले आगो तापेर बस्नु हानिकारक हुने उनीहरु बताउँछन्। यस्तो समयमा आगो तापेर बस्दा निसासिने र रगतमा अक्सिजन कम भएर मानिसको ज्यानै जाने सम्भावना हुन्छ। केही दिन अघि बाँकेमा कोइला बालेर राति सुत्दा निसासिएर चारजनाको ज्यानसमेत गएको छ।  

बुढाबुढी, सुत्केरी तथा बालबालिकाहरूमा चिसोले बढी असर पुर्‍याउने स्वास्थ्यकर्मी मैना चनाराले बताइन्। चिसोको जोखिममा रहेका यस्ता उमेर समूहका मानिसले बढी ख्याल गर्नुपर्ने उनको भनाइ छ। जाडोमा जथाभावी घरबाहिर ननिस्कने, शिशुको राम्रोसँग हेरचाह गरेर न्यानो पारी राख्ने, न्याना कपडा लगाएर घरभित्रै बस्ने, घरलाई न्यानो राख्ने गर्दा पनि चिसोबाट बच्न सकिने उनी बताउँछिन्।

प्रकाशित: १८ पुस २०७८ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App