५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसाद बेपत्ता

दुर्गाप्रसाद तिम्सिना । तस्बिर : भीम/नागरिक

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका माई नगरपालिका–१०, लुम्बकका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिना घरबाट हराएका छन् । आइतबार साँझ ४ बजेतिर घरबाट हिँडेका दुर्गाप्रसाद कता गए भन्ने पत्तो नभएको परिवारजनले बताएका छन् ।  

दुर्गाप्रसाद अरू दिन पनि साँझ ४/५ बजेतिर घरबाट ‘इभिनिङ वर्क’मा निस्किएर केहीबेरमा घर फर्किन्थे । तर, आइतबार साँझ घरबाट हिँडेका उनी अहिले राति ९ बजेसम्म बेखबर भएको दुर्गाप्रसादका भतिजा गोपाल शर्मा तिम्सिनाले नागरिकन्युजलाई बताए । ‘सधैं पनि बिहान–बेलुका उहाँ घरबाट यसो टहलिन निस्किनुहुन्थ्यो,’ गोपालले भने, ‘तर, आज अलि टाढा गोदकसम्म पुगेको खबर आयो । सधैं यति टाढा जानुहुन्थेन ।’  

गोपालका अनुसार दुर्गाप्रसादले घरबाट पैदलै मेची राजमार्ग पुगेर गोदकका एक स्थानीयसँग कुराकानी गरेको थाहा पाएको बताए । ‘त्यहाँका वडाध्यक्षसँग नै भेट भएको र उहाँले हिन्दीमात्र बोलेको सुन्नमा आयो,’ गोपालले भने, ‘त्यहाँबाट पनि इलाम जान्छु भनेर छुट्नुभएको रहेछ तर विपरीत दिशातर्फको फिक्कलतिर चाहिँ जानुभएको सूचना पनि आयो ।’ त्यसपछि उनलाई कसैले नदेखेको र खबरसमेत नगरेको गोपालले बताए । ‘अरूबेला पनि मलाई इलाम (सदरमुकाम) जाऔं भनिरहनुभएको थियो,’ गोपालले भने, ‘तर, बन्दका कारण अहिले जान सकिँदैन भनेपछि घरमै बस्नुभएको थियो ।’ दुर्गाप्रसाद बेपत्ता भएकोबारे प्रहरीमा खबर गरेको पनि गोपालले जानकारी दिए ।

भारतीय जेलबाट छुट्ने बेला चिकित्सकले दुर्गाप्रसादको मानसिक अवस्था ९ वर्ष ९ महिनाको बालकको झैं भएको बताएका थिए । घर आएपछि पनि उनको व्यवहार असामान्य रहेको पारिवारिक स्रोत बताउँछ ।  

केही महिनायता दुर्गाप्रसादको पारिवारिक सामाजिकीकरणमा समस्या भइरहेको छ । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भइरहेको परिवारजनले बताइरहेका छन् । दुर्गाप्रसादको बोलीचाली र व्यवहार सुरुमा सहज भएपनि अहिले दिनदिनै जटिल बनिरहेको गोपाल बताउँछन् । ‘पहिला–पहिला अधिकांश समय मानसिक रूपमा ठीक अवस्थाको बोली–व्यवहार थियो,’ गोपालले भने, ‘दिन बित्दैगएपछि उहाँको अवस्था झन्झन् असहज देखिँदैछ ।’  

घरमा खाना खाने, लुगा लगाउने, सरसफाइ गर्नेलगायत काममा दुर्गाप्रसादलाई केही सातायता मानसिक हिसाबले निकै गार्‍हो परिरहेको छ । त्यतिमात्र होइन, अश्लिल शब्द बोल्ने, परिवारका अन्य सदस्यलाई आक्रमण गर्नेजस्ता व्यवहार दुर्गाप्रसादले देखाएको गोपालले जनाए । ‘कुनैबेला मानसिक रूपमा उहाँ एकदम ठीक हुनुहुन्छजस्तो बोली–व्यवहार छ, कोहीबेला उहाँकै कारण परिवारको भौतिक सुरक्षा नै जोखिममा पर्लाजस्तो खतरा पनि छ,’ गोपालले भने, ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका छन् । तर, अवस्था चाहिँ झन्झन् बिग्रिएकोजस्तो देखिन्छ ।’  

दुर्गाप्रसाद घर आएपछि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको छ । ‘चिकित्सकले उहाँको मानसिक अवस्था ठीक छ, बिस्तारै सुधार हुन्छ भनेकाले फेरि उपचारमा लगिएको छैन,’ गोपालले भने, ‘तर, पुनः मनोचिकित्सकसँग परामर्श नगरी नहुने भइसकेको छ ।’  

दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन् । विभिन्न संघ–संस्थाको पहलमा उनलाई गत चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको हो ।  

सन् १९८१ मै जेल परेका उनको मुद्दामा कुनै सुनुवाई भएन । यसरी लामो समय जेलमै कोचिएको थाहा पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेगरी गत चैत ७ मा रिहा गरेको थियो । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए ।

प्रकाशित: ३१ श्रावण २०७८ १६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App