१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना उपचारको लागि सबै प्रदेशमा टेलिमेडिसिन सेवा

दुर्गम तथा स्थानीय स्वास्थ्य संस्थामा आउने बिरामीलाई लक्षित गरी सरकारले सोमबारदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । बिरामीलाई केन्द्रीय अस्पताल रेफर गर्नेपर्ने अवस्था बाहेकको अवस्थामा यो सेवाले लाभ हुने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय हब अस्पताल र प्रदेशस्तरीय दुवै हब अस्पतालका लागि सम्पर्क अस्पताल तथा चिकित्सकसमेत तोकेको छ ।

कोभिड १९ उपचारलाई लक्षित गरी सुरु गरिएको यो सेवा अन्य उपचारको लागिसमेत लाभदायी हुनेगरी निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, ‘अहिले कोभिडका बिरामीमा केन्द्रित छौं, तर यो सेवा सवै रोगको उपचारको लागि हो ।’

निर्णयअनुसार प्रदेशभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्रदेश भित्रका हब अस्पतालका चिकित्सकसँग सम्पर्क गरेर परामर्श लिने र प्रदेश हब अस्पतालका चिकित्सकहरुले केन्द्रीय हब अस्पतालका चिकित्सकसँग फोन, इमेल, भाइवर तथा अन्य प्रविधिबाट यो सेवा लिनेछन् ।

विवरणअनुसार पश्चिमाञ्चल प्रादेशिक अस्पतालका डा. शरदचन्द्र बराल र डा. शैलेश गुरुङलाई सम्पर्क चिकित्सक तोकिएको छ । सेती प्रादेशिक अस्पतालमा डा. शेरबहादुर कमार, डा.कपिल गौतम, भरतपुर अस्पतालको लागि डा. प्रदीप अधिकारी र डा.कल्याण सापकोटालाई तोकिएको छ । सुर्खेत अस्पतालको लागि डा. नवराज केसी, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा डा. विष्णुदत्त पौडेले र डा. अच्युत कार्की, कोसी अस्पतालमा डेनप्रसाद आचार्य र प्रवीनकुमार झा तथा लुम्बिनी अस्पतालको लागि डा. सुदर्शन थापालाई तोकिएको छ । जनकपुर अस्पतालको लागि डा. रामदेव चौधरीलाई सम्पर्क गर्नेगरी व्यवस्था गरिएको छ ।

थप २५७१ जनामा कोरोना संक्रमण
गत चौविस घण्टामा थप २५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमित मध्येमा १४ सय २८ जना काठमाडौं उपत्यकाका छन् । थपसहित नेपालमा कुल १ लाख ९७ हजार ४ जना संक्रमित पुगेका छन् । यसैगरी १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणको कारण जम्मा ११ सय २६ जनाको मृत्यु भएको छ ।

कुल संत्रमित मध्येमा १ लाख ५९ हजार ७ सय ३४ जना निको भएका छन् । हाल निको हुने दर ८१ प्रतिशत रहेको छ । कुल संक्रमित मध्येमा ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित छन् । तीमध्ये २९ हजार ८ सय ३६ होम आइसोलेसनमा र ६ हजार ३ सय ३८ जना संस्थागत आइसोलेसनमा छन् । गम्भीर लक्षण भएका ४ सय ११ जनाको आइसियुमा र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल ७६ वटा जिल्लामा कोराना भाइरस संक्रमण देखिएको छ भने १३ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित: २५ कार्तिक २०७७ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App