वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो टि–२० खेलमा नेपाल १० रनले पराजित भएको छ। जितका लागि १६१ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४८ बलमा २ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ७१ रनमा नट आउट रहे। गुल्सन झाले ११ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए। लोकेश बमले १७ र आरिफ सेखले १२ रन थपे। यसबाहेक, नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कुशल भुर्तेल २, दीपेन्द्रसिंह ऐरी ३, सोमपाल कामी ३, अनिलकुमार शाह एक र कुशल मल्ल शून्य रनमा आउट भए।
वेस्ट इन्डिजका ओबेड म्याकोय र गुडाकेश मोटेले समान २ विकेट लिए। ओसेन थामस र कप्तान रोस्टन चेजले एक–एक विकेट हात पारे।
त्यसअघि टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रनको योगफल खडा गरेको थियो।
वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रनको पारी खेल्दा गडाकेस मोटीले नट आउट रहँदै ३३ रन जोडे। कप्तान रोस्टन चेज भने २३ रन बनाएर आउट भए।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २/२ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट हात पारे।
नेपालले यसअघि भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो। पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी २० शृङ्खला खेल्ने तालिका छ।
ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। शृङ्खलाको तेस्रो खेल बुधबार हुनेछ।
प्रकाशित: १६ वैशाख २०८१ १५:४९ आइतबार