७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कोरोनाका संभावित संक्रमितका लागि बनाइएको क्वारेन्टिन तराईमा खचाखच, पहाडमा रित्तै

कास्कीको रुपा गाउँपालिकाले कोरोना भाईरसका सम्भावित संक्रमितका लागि विभिन्न तीनठाउँमा क्वारेन्टिन बनाउने निर्णय त गर्‍यो । तर सबै क्वारेन्टिन संचालन गर्न आवश्यक परेन । सुरुमा एउटा मात्र संचालनमा ल्याइएको क्वारेन्टिनमा २५ जना स्थानीय बसेका थिए । पहिलो चरणमा क्वारेन्टिनमा बसेका घर फर्केपछि केही समयपछि क्वारेन्टिन नै रित्तियो ।  

अहिले रुपा गाउँपालिकाको क्वारेन्टिनमा तीनजना मात्र बसेका छन् । गाउँपालिकाका स्थायी बासिन्दा उनीहरुमध्ये दुईजना चितवन र एकजना कञ्चनपुरबाट फर्केका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत विष्णुप्रसाद पोखरेलका अनुसार सुरुमा क्वारेन्टिन बसेका २५ स्थानीय घर फिरेपछि रित्तिएको क्वारेन्टिनमा पछिल्ल्लो ५ दिनदेखि ३ जना मात्र बसिरहेका छन् ।  

‘ग्रामिण क्षेत्र भएकोले यहाँका क्वारेन्टिन खालि भएका हुन् । गाउँ भित्रिने सबै स्थानीयबासि हुन्छन,’ उनले भने, ‘संक्रमण फैलिएको क्षेत्रबाट फर्केकालाई मात्र क्वारेन्टिनमा राखिएको छ । धेरै त होमक्वारेन्टिनमै पनि बसे ।’ गाउँमा आउजाउ गर्नेको संख्या कम भएकोले पनि क्वारेन्टिन आवश्यक नपरेको उनले बताए । ‘धेरै नै भीडभाड हुने ठानेर सुरुमै तीनठाउँमा क्वारेन्टिन बनाउने निर्णय भयो । त, सबै क्वारेन्टिनमा बस्नुपर्ने गरि मान्छे नै आएनन । त्यही भएर एउटा संचालन गरियो, उनले भने, ‘सुरुमा बसेका मान्छे पनि घर फर्केपछि त्यो क्वारेन्टिन नै बन्द भयो ।’

केहीदिनपछि भारतबाट आउने तयारीमा रहेका गाउँलेका लागि क्वारेन्टिन आवश्यक पर्ने उनले बताए । भारतमा रहेका गाउँलेले फोन गरेर घर फर्किदै गरेको जानकारी गराएकोले पनि क्वारेन्टिनलाई चालु अवस्थामा राख्नुपरेको उनले बताए । ‘भारतबाट आउने तयारीमा रहेका तीनजनाले फोन गरेका छन् । ती बाहेक विभिन्न मुलुकमा कामका लागि गाउँका बासिन्दा रहेको र उनीहरु पनि फर्किने सम्भावना भएकोले क्वारेन्टिन चालु अवस्थामै राखिराखेको पोखरेलले बताए । पोखरेलका अनुसार गाउँपालिकाका झन्डै १८ सय व्यक्ति विभिन्न मुलुकमा छन् । केही गरि ती व्यक्ति पनि घर फिरेको खण्डमा उनीहरुका लागि क्वारेन्टिन चाहिने भएकोले पनि तयारी अवस्था राखेको उनले बताए । ‘विदेशबाट गाउँले फर्किएको खण्डमा उनीहरुलाई राख्नका लागि रुपा– ७ को रामकोट माविमा क्वारेन्टिन बनाउने तयारी छ । तारबार गरेर तयारी पारिएको छ,’ उनले भने ।  

कास्कीकै अन्नपूर्ण गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार ६० शैया क्षमताको क्वारेन्टिन अहिले रित्तै छ । सुरुमा छिमेकी माछापुच्छ«े गाउँपालिकाका चारजनालाई अन्नपूर्णको क्वारेन्टिनमा राखेको भएपनि उनीहरु घर फर्केपछि अरु कसैलाई पनि राख्नु नपरेको अधिकारीले बताए । ‘क्वारेन्टिनको व्यवस्था छ । तर बस्ने मान्छे छैनन् । अब भारत वा तेश्रो मुलुकबाट फर्केका व्यक्तिलाई आवश्यक परेमा राख्ने हो,’ उनले भने, ‘भारत वा तेश्रो मुलुकबाट कोही फर्किइहाले मात्र उनीहरुलाई क्वारेन्टिनमा राख्ने हो । नत्र अहिलेलाई रित्तै छन् ।’

भारतसँग सीमा जोडिएका तराईका जिल्लामा लुकिछिपि आउजाउ गर्ने व्यक्तिलाई राख्न क्वारेन्टिन साँघुरो भएको बेला गण्डकी प्रदेशका विभिन्न जिल्लामा संचालित क्वारेन्टिन भने लामो समयदेखि रित्ता छन् । भारतीय सिमाभन्दा टाढा रहेकोले र तत्काल आउजाउ सम्भव नभएकोले पनि क्वारेन्टिनमा बस्ने मान्छे नभएको स्वास्थ्य पदाधिकारीको भनाई छ । ‘भारतसँग सिमाना जोडिएको जिल्लामा मान्छेको आउजाउ रोकिएको छैन । तर, गण्डकी प्रदेशमा आउजाउ निकै नै कम छ,’ गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले भने, ‘खुला सिमाना र लुकिछिपि आउनेको डर तराईका जिल्लामा छ । आउजाउ नरोकिँदा पनि क्वारेन्टिनमा बस्नेको भीड छ । तर गण्डकी प्रदेशमा भने आउजाउ कम छ ।’

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशभरका ४ सय ३२ जना मात्र क्वारेन्टिनमा बसेका छन् । मुस्ताङका कोही पनि व्यक्ति क्वारेन्टिनमा छैनन । प्रदेशभित्रका करिब ४ सय ५० क्वारेन्टिनमा ४५ सय व्यक्ति राख्न सकिने भएपनि अहिले ४३२ जना मात्र बसेको निर्देशनालयका निर्देशक शर्माले बताए । ‘क्वारेन्टिन नै कोरोना भाईरस संक्रमणको ‘हब’ भएकोले पनि होम क्वारेन्टिनलाई प्राथमिकता दिइएको हो,’ उनले भने । तराईका क्वारेन्टिनमा भीडभाड हुँदा पहाडका क्वारेन्टिन भने रित्तै रहेको उनले पनि बताए ।  

क्वारेन्टिन नै सुरक्षित नभएसम्म झनै संक्रमण फैलने त्रास भएको उनले बताए । ‘बागलुङबाट पर्सा गएका व्यक्ति त्यहीका क्वारेन्टिनमा संक्रमित भएको पुष्टि भयो । ती संक्रमितसँग बागलुङमा सम्पर्क भएका कसैमा पनि संक्रमण देखिएन,’ उनले भने, ‘त्यही भएर पनि क्वारेन्टिनलाइ व्यवस्थित र मापदण्ड अनुकुल बनाउनुपर्छ । अहिले त क्वारेन्टिन नै जोखिममा छन् ।’  

गण्डकी प्रदेशमा अहिले नै क्वारेन्टिन बन्द नगरेको भएपनि भारत र तेश्रो मुलुकबाट आउने व्यक्तिका लागि आवश्यक रहेको उनले बताए । ‘भारतमा रेलसेवा सुरु भएको छ । भारतमा रहेका नेपाली नागरिक फर्किने सम्भावना छ । त्यस्तै कामका लागि खाडि गएका युवाहरु पनि फर्किने सम्भावना छ,’उनले भने, ‘त्यसरी फर्किनेका लागि पनि क्वारेन्टिन चाहिने अवस्था छ । तर, अहिले धेरैतिरका क्वारेन्टिन रित्तै रहेका छन् ।’

प्रकाशित: ६ जेष्ठ २०७७ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App