७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बाँकेको क्वारेन्टिनमा मृत्यु : पिसिआर रिपोर्टको प्रतिक्षा

बाँकेको नरैनापुरमा स्थापना गरिएको एक क्वारेन्टिन । तस्बिर : नागरिक

नेपालगन्ज- बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा रहेका एक ब्यक्तिको मृत्युको एकिन कारण अझै खुल्न सकेको छैन । नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा विगत चार दिनदेखि बस्दै आएका २४ वर्षिय युवकको आइतबार बिहान ४ बजेतिर मृत्यु भएको थियो । राति एक्कासी वान्ता गरेका उनको केही घण्टापछि मृत्यु भएको स्थानीयको भनाई छ । ‘क्वारेन्टिनमा सुतिरहेको अवस्थामा उनलाई एक्कासी वान्ता भयो, एम्बुलेन्स ब्यवस्था गरेर अस्पताल लैजान नपाउँदै मृत्यु भयो,’ एक स्थानीयले भने ।  

क्वारेन्टिनमा बसेका ब्यक्तिको मृत्यु भएपछि नेपालगन्जबाट स्वास्थ्य र सुरक्षा निकायका अधिकारी नरैनापुर पुगेका छन् । मृत्युको कारण खुल्न नसकेको हुँदा मृतकको शवलाई क्वारेन्टाइनमै राखिएको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए । ‘के कारणले मृत्यु भयो भन्ने एकिन नभएको हुँदा शव क्वारेन्टिनबाट उठाइएको छैन,’ उनले भने ‘हामी पिसिआर रिपोर्टको पखाईमा छौं, जस्तो रिपोर्ट आउँछ, सोही अनुसार उनको अन्त्येष्टी हुन्छ ।’ नरैनापुर गाउँपालिका वडा नम्बर ५ निवासी उनी गत बुधबार मात्र नेपाल–भारत अबैध नाकाबाट नेपाल प्रवेश भएका थिए । गाउँपालिकाले तत्कालै उनीसहित करिव ५ सय ब्यक्तिलाई विभिन्न क्वारेन्टिनमा राखेको थियो ।  

उनीसहित भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि नरैनापुरका ८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमित ८ जना मध्ये ३ जना ब्यक्ति दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टिनका थिए । संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट टे«सिङका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो । तर, संकलित स्वाबको पिसिआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भयो ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) बीरबहादुर ओलीले मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको र पिसिआर रिपोर्टको प्रतिक्षामा आफुहरु रहेको बताए । ‘मृतकको पिसिआर रिपोर्ट अझै आइसकेको छैन, जुन क्वारेन्टिनमा मृत्यु भएको छ, त्यहाँ यसअघि ३ जना ब्यक्ति संक्रमित भेटिएका थिए,’ उनले भने ‘जे रिपोर्ट आउँछ, त्यही अनुसार शबको अन्त्येष्टी गरिन्छ ।’ मृतकको पिसिआर रिपोर्ट आइतबार अपरान्हसम्म आउने अपेक्षा गरिएको छ । सबै ब्यक्तिको पिसिआर परिक्षण नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिदैछ । क्वारेन्टाइनमा मृत्यु भएपछि नरैनापुरका स्थानीय थप त्रसित बनेका छन् । मृत्युको कारण पुष्टी नहुँदा धेरैको मनमा कौतुहलता जागेको स्थानीयले बताए ।  

 

 

प्रकाशित: ४ जेष्ठ २०७७ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App