३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

दुई वर्षपछि खेलकुद बोर्डमा बस्नेतको पुनर्बहाली

दुई वर्ष अघि कोशी खेलकुद विकास बोर्डको सदस्यसचिव पदमुक्त भएका कृष्ण बस्नेत (पर्शुराम) लाई उच्च अदालत विराटनगरले सोमबार पुर्नवहाली गर्ने फैसला गरेको छ।

नेकपा एमालेका बस्नेतलाई तत्कालीन कोशी प्रदेशका मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २५ गते बोर्डको सदस्यसचिवमा नियुक्त गरेका थिए।

आचार्यको सरकार ढलेपछि बनेको नेकपा एसका राजेन्द्र राई नेतृत्वको सरकारले बस्नेत नियुक्त भएको ६ महिना अर्थात् चैत २१ गते पदमुक्त गरेको थियो।

बस्नेतलाई पदमुक्त गरे लगत्तै हंसराज वाग्ले नियुक्त भएका थिए। गैरकानुनी तवरबाट सरकारले आफूलाई पदमुक्त गरेको भन्दै बस्नेतले सरकारविरुद्ध उच्च अदालतमा उत्प्रेषण परमादेशका लागि रिट दर्ता गराएका थिए।

प्रदेशको सरकार फेरबदलसँगै हिक्मतकुमार कार्की नेतृत्वको सरकारले हंसराज वाग्लेलाई गत वर्ष सदस्यसचिवबाट हटाउने निर्णय गरेको थियो।

सरकारले गरेको निर्णयविरुद्ध वाग्ले पनि २०८० ज्येष्ठ ४ गते उच्च अदालतमा उत्प्रेषणयुक्त प्रतिषेध परमादेशको रिट दर्ता गराएका थिए।

अदालतले सरकारलाई त्यस समय तत्काल वाग्लेलाई नहटाउन आदेश दिएपछि काम गर्दै आएका थिए। तर, वाग्लेले दर्ता गराएको रिटमा सोमबार खारेज हुने फैसला भयो। वाग्लेलेको रिट खारेजीको फैसला र बस्नेतको रिट जारी हुने फैसला एकै पटक भएको हो।

न्यायाधीश ममता खनाल र न्यायाधीश केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले २०७८ साल चैत २२ गते सदस्यसचिवमा नियुक्त भएका हंशराज वाग्लेलाई पदमुक्त गर्दै कृष्ण बस्नेतलाई पुर्नवहाली गरेको फैसला भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।

सरकारविरुद्ध दर्ता गरेको रिटको फैसला दुई वर्षपछि भए पनि न्यायालयले आफूप्रति न्याय गरेको बताएका बस्नेतले भने, ‘आफूलाई अदालतले खेलकुद विकास बोर्डको सदस्यसचिवमा पुर्नवहाली गरेकाले कानुनी राज्यमा न्यायलालप्रति विश्वास बढेको छ। राजनीतिक प्रतिशोधका आधारमा हटाइए पनि लोकतन्त्रमा न्याय मरेको छैन भन्ने उदाहरण अदालतले दिएको छ।’

अदालतले फैसला मात्रै गरेको नभई जिम्मेवारी दिएको र पाएको जिम्मेवारी पूरा गर्ने गरी काम गर्ने बताउँदै, बस्नेतले भने, ‘आफू सदस्यसचिव नियुक्त हुँदा नै खेल, खेलाडीको विकास, भौतिक संरचना निर्माण जस्ता विकासका योजना बनाएको थिए। अब त्यसैलाई निरन्तरता दिँदै, नयाँ योजना बनाएर काम गर्ने छु। खेलाडीलाई राष्ट्रिय गहनाभन्दा पनि गौरवका रुपमा अघि बढाउने र खेलकुदका गतिविधिलाई निरन्तरता दिइने छ।’

प्रकाशित: १८ वैशाख २०८१ २०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App