११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मर्ज गरेर सहकारीकाे संख्या घटाउन सुझाव

सहकारीलाई आपसमा मर्ज गरेर संख्या घटाउन सरोकारवालाले सुझाव दिएका छन्। प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले बुधबार विराटनगरमा आयोजना गरेको सहकारीमा सुशासनका लागि प्रविधिले ल्याएको अवसर, चुनौती र समाधानका उपाय विषयक अन्तरक्रियामा सरोकारवालाले सहकारीलाई एकीकरण गरेर संख्या घटाउन सुझाव दिएका हुन्।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका अधिकृत मनोज कार्कीले सहकारीहरूको एकीकरण आवश्यक भइसकेको बताए। उनले  सहकारीको संख्या धेरै हुँदा नियमक निकायलाई नियमन गर्न गाह्रो भइरहेको बताए।

कोशी प्रदेशमा करिब ५ हजारको हाराहारीमा सहकारी रहेका छन्, जसमा एक हजार प्रदेश सरकारले र अन्य सहकारी स्थानीय र संघीय सरकारको अधिकार क्षेत्र भित्रका छन्। धेरै सहकारी थोरै पुँजीबाट सञ्चालित भए पनि प्रविधिमैत्री बन्न नसकिरहेको कार्कीले बताए।

सहकारीहरू बचत र ऋण कारोबारमा अल्झिरहेका कारण सदस्यहरूको आर्थिक उन्नति हुन नसकिरहेको कार्कीको भनाइ छ। उनले भने, ‘सहरकारीहरू बचत र ऋण कारोबारमा मात्रै अल्झिँदा सदस्यहरूको आर्थिक उन्नयन हुन सकिरहेको छैन।’

सहकारीको विकल्प व्यवस्थित सहकारी नै भएका कारण उस्तै प्रकृति र धेरैजसो एउटै सेयर सदस्यहरू आबद्ध भएका सहकारीबीच एकीकरण गर्नु उपयुक्त हुने कार्कीको सुझाव छ।

इटहरी उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले सहकारीहरूले प्रयोग गरिरहेका सफ्टवयरको नियमन र अनुगमन गर्नैपर्ने अवस्था रहेको बताए। सहकारीहरूले प्रयोग गरिरहेका सफ्टवयरको अनुगमन र नियमन नगरे सहकारीमा अझै धेरै विकृति आउन सक्ने पोखरेलले स्पष्ट पारे। पोखरेलले एकीकृत रुपमा सहकारीहरूको केन्द्रीय सूचना प्रणाली लागु गर्न सुझाव पनि दिए।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले सहकारीलाई एकीकरण गरेर दरिलो बनाउन आवश्यक भइसकेको बताए। मन्त्री खत्रीले धेरै संख्यामा सहकारी हुँदा धेरै खालका समस्या देखिएको र नियमनसमेत चुस्त रुपमा हुन नसकेका कारण सहकारीलाई एकीकरण गरेर सबल र बलियो सहकारी बनाउनुपर्नेमा जोड दिए।

सहकारीहरू कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न केन्द्रित हुनेपर्ने मन्त्री खत्रीले बताए। कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीहरूले ध्यान दिए कृषि उपजको पर निर्भरता हट्ने र व्यापार घाटा कम गर्न पनि मद्दत पुग्ने खत्रीको धारणा छ।

कार्यक्रममा आइटीविज्ञ डा. भोजराज घिमिरे र अर्विन्द्र प्रधानले कार्यपत्र प्रस्तुत गर्दै सहकारीहरूले प्रयोग गरेका धेरैथरीका सफ्टवेयरहरूले  समस्या पनि निम्त्याइरहेको बताए। कार्यक्रममा उत्कृष्ट सहकारी संस्था, सहकारीकर्मी र कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो।

प्रकाशित: २२ चैत्र २०८० ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App