३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

गुटेरेसको आग्रह:‘खनिज इन्धन विस्थापित गरौं’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले विश्वको तापमान बढाउन जिम्मेवार खनिज इन्धनको विस्थापन हुनैपर्नेमा जोड दिएका छन्। दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन समापन हुन एक दिन बाँकी रहँदा उनले सबै राष्ट्रले खनिज इन्धनको एकैपटक विस्थापन नगरे पनि क्रमशः चरणबद्ध रूपमा गर्न सक्ने बताए।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण विषय खनिज इन्धन रहेको उनले बताए। ‘यो इन्धनको विषयमा हामीले महत्त्वाकांक्षी नतिजा हासिल गर्नु छ। तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न विश्वका राष्ट्रहरू खनिज इन्धनको प्रतिस्थापनमा सहमत हुनैपर्छ,’ उनले भने। खनिज इन्धन चरणबद्ध विस्थापनमा सहमति भए कोप २८ ले ठुलो सफलता हात पार्ने उनको तर्क छ।  

‘समय घर्किसकेको छ। सन् २०५० सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न पनि यो निर्णय गर्न अत्यावश्यक छ,’ सोमबार अपराह्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने। विद्यमान बहुपक्षीय बैंकहरूमा आमूल सुधार हुनुपर्ने बताउँदै आएका उनले जलवायु संकटको समाधानका लागि बहुपक्षीय बैंक नै स्थापना गर्नुपर्ने आवश्यकता बढेको बताएका छन्। जलवायु परिवर्तनको विश्वव्यापी चुनौती सामना गर्न बहुपक्षीयताको महŒव कोप २८ ले पुनर्पुष्टि गरेको तर्क उनको थियो।

सम्मेलनमा अझै पनि धेरै सहमति जुट्न बाँकी रहेको बताउँदै पृथ्वीवासी र पृथ्वीका लागि सम्मेलनका आगामी २५ घन्टा अत्यन्त महत्त्वपूर्ण रहने उनको भनाइ छ। कार्बन शून्य गर्ने प्रक्रिया (डिकार्बाेनाइजेसन) ले नयाँ रोजगारी सिर्जना गर्ने बताउँदै उनले विकसित राष्ट्रले यो प्रक्रियालाई सजिलो पार्न विकासोन्मुख राष्ट्रलाई वित्तीय र प्राविधिक सहयोग गर्नुपर्ने बताए।

दुबई सम्मेलनलाई सम्पूर्ण विश्व सम्मेलनमा सहभागी ४ हजार सञ्चारकर्मी र हजारौं पर्यवेक्षकले नजिकबाट नियालिरहेको चर्चा गर्दै उनले केही कुरा लुकाउन नसकिने बताए।

थोरैथोरै गरेर गरिने प्रयासलाई अस्वीकार गर्न जलवायुवार्ताकारलाई आह्वान गर्दै महासचिवले दुबईमा उच्चतम सहमति कायम हुनुपर्ने बताए। वायुमण्डललाई तताउन जिम्मेवार कार्बन डाइअक्साइड उत्सर्जनको ८० प्रतिशत स्रोत खनिज इन्धनको प्रयोग हो। पृथ्वीको तापमान लगातार बढ्दा हिमनदी र हिउँको ढिक्का पग्लने, समुद्री सतह बढ्ने तथा बाढी, पहिरो, डुबानलगायत जलवायुजन्य विपदहरू बढेको वैज्ञानिक अध्ययनले देखाएका छन्।

प्रकाशित: २६ मंसिर २०८० ००:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App