३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

दलित महिला सदस्य भन्छन्: अझै समाजमा छुवाछूत गरिन्छ

टीकापुर नगरपालिकाका-३ का वडा सदस्य कमलादेवी विश्वकर्माले समाजमा जातकै कारण हुने छुवाछूत कायम रहेको बताएकी छन्। वडा सदस्य विश्वकर्मा समाजमा हुने विवाह, उत्सवमा फरक व्यवहार गरिने, भान्सा फरक गरिने गरिएको बताउँछिन्।

‘हाम्रो समुदायमा चारपाँच जना गैर दलित महिला हुनुहुन्छ, हामी एउटै समूहमा छौं’, उनले भनिन्, ‘कहिलेकाहीँ पिकनिक जान्छौँ, एउटै समूहमा छौँ, तर उहाँहरू हामीले छोएको खानु हुन्न, आफैं पकाएर खाने, उहाँहरूले पकाएर बरु हामीलाई दिने गर्नुहुन्छ।’

कमलालाई यसो गर्नु विभेद हो भन्ने थाहा भए पनि रोक्न नसकेको उनी बताउँछिन्। ‘यही समाजमा बस्नु छ, पहिलेदेखि विभेद भोगेका छौं’, उनी भन्छिन्, ‘विद्रोह गरेमा अशान्ति हुन्छ, मिलेर बसेको समाजमा किन झैझगडा गर्नु भन्ने लाग्छ।’

गाउँमा जन्मदिन मनाउँदा बोलाएर पनि अलग्गै राखेर खाना खुवाउने गरिएको, विवाहमा भान्सा छुन नदिने जस्ता समस्या विद्यमान रहेको उनको अनुभव छ।

कार्यपालिका सदस्य मञ्जु विकले पुरुषका तुलनामा महिलाले विभिन्न खाले विभेद झेलिरहेको बताइन्। उनले महिनावारी हुँदा छुवाछूत अन्त्य नभएको, दलित र गैर दलित बिचको विभेद अझै रहेको बताइन्।

‘छुवाछूत पुरुषको तुलनामा महिलाले बढी मानिरहेका छन्, पुरुष दाजुभाइ हामी कहाँ आउने, हामीसँगै खाना खाने गर्नुहुन्छ’, उनी भन्छिन्, ‘तर महिलासँगै खानु हुन्न, हामीले छोएको खान मान्नुहुन्छ।’

अर्का महिला सदस्य भारतीदेवी विक अझै आफ्नो वडामा दलित र गैरदलितबीच विभेद कायम रहेको, विवाह जस्ता भोज तथा उत्सवमा समान व्यवहार नभएको बताउँछिन्।‘पार्टी तथा कार्यक्रममा फरक व्यवहार महसुस गर्ने भएर म गाउँमा हुने विवाह, ब्रतबन्ध तथा खानपिनका कार्यक्रममा जान्न’, उनले भनिन्, ‘अहिले आफू स्थानीय वडा सरकारमा भएकाले यसो गर्नु हुन्न भनी हरेक कार्यक्रममा भन्न थालेकी छु, समाजमा नदेखिने खालको भित्रभित्रै छुवाछूत कायम छ।’

टीकापुर-४ की वडा सदस्य तुल्सादेवी विक विस्तारै समाज परिवर्तन हुँदै गएको बताउँछिन्। उनी परिवर्तन भए पनि पुर्खाले विभेद गरिरहेको बताउँछिन्। ‘विगत जस्तो विभेद छैन, पहिला घरभित्र जान नदिने, धारा छुन नदिने गरिन्थ्यो’, तुल्सादेवीले भनिन्, ‘युवा पुस्ताले छुवाछूत मान्दैनन्, तर अघिल्लो पुस्ताले छुवाछूत अन्त्य गर्न मानेका छैनन्, उनीहरू अझै विभेद गर्छन्।’

नगरपालिकाका निवर्तमान उपप्रमुख केशरी रावल विष्टले समाजमा भइरहेका छुवाछूत तथा विभेद अन्त्यका लागि वडावडामा महिला तथा दलित महिला सदस्य निर्वाचित भइसकेकाले अब उनीहरूले काम गर्नुपर्ने बताइन्।

‘समाजमा विद्यमान गलत अभ्यास चिर्न नीतिगत रूपमा कडाइ गर्नुपर्छ, भएका कानुन कार्यान्वनय गर्नुपर्छ’, उनी भन्छिन्, ‘जनचेतना जगाउने खालका योजना तर्जुमा आवश्यक छ, यस्ता विभेद, छुवाछूत चिर्न महिला सदस्य, दलित महिला सदस्य वडावडामा भएका हुन्, उहाँहरूले समस्याको खोजी र समाधानको उपाय पनि निकाल्नुपर्‍यो।’

विष्टले जात तथा लिङ्गका आधारमा गरिने सबैखाले विभेद अन्त्य हुनुपर्ने बताउँदै समाजको सकारात्मक विकासका लागि सबैको सोच पनि सकारात्मक हुनुपर्नेमा जोड दिइन्। नगरपालिकाका कानुन अधिकृत केशरबहादुर थापाले जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा भइसकेकाले छुवाछूत गरिएको थाहा पाए कानुनी पक्रियामा जान सुझाव दिइन्। ‘जात तथा लिङ्गका आधारमा छुवाछूत गर्नु कानुनी अपराध हो’, उनी भन्छिन्, ‘अपराध लुकाएर बस्ने होइन।’  

प्रकाशित: २२ जेष्ठ २०८० ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App