११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्रीहरुको ‘सडक’ निर्देशन किन हुँदैन पूरा? भौतिक मन्त्रीको १५ दिने निर्देशन पनि गयो खेर

पुरिएनन् खाल्डाखुल्डी

सरकार गठन लगत्तै पदभार सम्हालेका प्रधान, उपप्रधान, मन्त्री र राज्य मन्त्रीहरुले आफ्ना मन्त्रालय र सबै मन्त्रालय तथा निकायका पदाधिकारीहरुलाई निर्देशन दिइरहेका छन्। तर यसरी दिइएका अधिकांश निर्देशन पालना भएका छैनन्। 

आफ्ना मातहतका निकायलाई निर्देशन दिनेमध्येमा सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि पर्छन्। 

उनले पुस ११ गते उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका हुन। जिम्मेवारी पाएको केही दिनमै उनले पनि स्थलगत भ्रमण गरी विभिन्न किसिमका निर्देशनहरू दिए।  मन्त्री श्रेष्ठले उच्च पदस्थ कर्मचारी र निर्माण व्यवसायीलाई मन्त्रालयमा बोलाएर १५ दिन भित्र काठमाडौँका खाल्डाखुल्डी पुर्न निर्देशन दिए। आफ्नो निर्देशनमा उपत्यका बाहिरका सडकका खाल्डाखुल्डी पुर्न भने उनले ३० दिनको समय सीमा तोकेका थिए । 

श्रेष्ठले पुस १९ गते निर्देशन दिएका हुन। काठमाडौँ उपत्यकाको हकमा उनले दिएको निर्देशनको समय सीमा माघ ३ मा सकियो। तर सडकमा खाल्डाखुल्डी पुरिनु त परै जाओस् अझ बढिरहेका छन्। राजधानीका प्रमुख सडकहरू झन बिग्रिँदै गएका छन्। धुलाम्मे छन्। र, खाल्डाका आकारहरू ठूल–ठूला हुँदै गएका छन्। राजधानीको मध्य विन्दुमा पर्ने रत्नपार्कबाट छुट्ने सवारी साधनहरु गुड्ने अधिकांश सडकको अवस्था यस्तै छ। जबकि मन्त्री श्रेष्ठले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीलाई मन्त्रालयमा बोलाएरै निर्देशन दिएका थिए। 

मेलम्ची खानेपानी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र विद्युत् प्राधिकरणले पाइप र तार भूमिगत गर्दा जथाभाबी खनेका छन्। ती खनेका ठाउँ पुरिएको छैन। त्यत्तिकै छाड्दा  पैदल यात्रुका लागि ती धराप बनेका छन्। उपत्यकाका मुख्य सडक मात्र होइन भित्री सडकहरूको अवस्था पनि उस्तै छ। ती खाल्डाखुल्डीले मन्त्रीको निर्देशनलाई जिस्काइरहेका छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिव प्रसाद नेपालका अनुसार मन्त्रालयको मातहतका सडकको काम लगभग ६५ प्रतिशत सकिएको छ। 

उनले भने, ‘खाल्डाखुल्डी बाँकी हुनमा केही कारणहरू छ। जहाँ–जहाँ खाल्डाखुल्डी छन्। ती मेलम्ची खानेपानी र विद्युत् प्राधिकरणका कारण भएका छन्। खानेपानीको पाइपको समस्या समाधान हुन नसक्दा यसले समस्या निम्ताएका छ भने अर्को  टेक्निकल समस्या छ।’

उनले ठेक्कामा दिएको काम र जनताले यो काम नगरेसम्म काम गर्न दिनौँ भनेको ठाँउहरुमा काम बाँकी छ अन्यको काम सक्केको बताए। उनले हप्तामा एक चोटि काँहा काँहा के भएको भनी अपडेट लिने गरेको बताए। 

मन्त्री श्रेष्ठले निर्देशनमा भनेका थिए, ‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन।’ यसको लागि राजनीतिज्ञ र कर्मचारीले सुशासन कायम गर्न आत्मआलोचना सहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य रहेको बताएका थिए।

मन्त्री श्रेष्ठ सडक निर्माणको प्रगति तथा अवस्थाबारे बुझ्न पुस २९ गते प्राविधिकहरुको टोलीसहित शुक्रबार काठमाडौँको लाजिम्पाट, स्रोहखुट्टे, भैंसेपाटी र ललितपुरको जावलाखेलका सडक अनुगमनमा पुगेका थिए। 

तर उनले अनुगमन गरेकै सडकहरूको अवस्था बेहाल छ । जसोतसो काम सुरु भएको देखिन्छ । तर, हालत पहिले भन्दा फरक छैन। कतै खाल्डो खनेर सडक पेटी नै बिगारिएको छ भने कतै खनेर अलपत्र छाडिएको छ। कतै बिच सडकमै खानेपानीको पाइप फुटेर हिलाम्य र खाल्डो भएको छ। 

मन्त्री श्रेष्ठले गत बुधबार माघ ४ गते पनि काठमाडौं, ललितपुर महानगर, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकायलाई बोलाएर सडकका खाल्डाखुल्डी पुर्ने बिषयमा छलफल गरे। मन्त्री श्रेष्ठका यी सबै निर्देशन र पहलबाट सकारात्मक परिणाम आएका देखिँदैन।

यसै गरी मन्त्री श्रेष्ठले उपत्यका बाहिरका सडकका खाल्डाखुल्डी पनि पुस १९ देखि १ महिनाभित्र पुरिसक्न निर्देशन दिए। तर, उनले दिएको समय सकिन अब ३ दिन मात्र  बाँकी छ। बाहिरको प्रगति पनि लगभग शून्य छ।

सडक विभागका उप–महानिर्देशक तथा प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार सडकको काम धमाधम भई रहेको छ। 

उनले भने, ‘हाम्रो मातहतमा ४२० किलोमिटर जति पर्छ। यो मुख्य सडक अन्तर्गत पर्छ। यहाँ विद्युत् प्राधिकरण, टेलिकम र खानेपानिका कारण काम गर्न नमिलेको हो। उपत्यका बाहिर भने सवारीसाधन गुड्ने र समस्या भएको ठाउँमा काम सकेका छौँ। जहाँ पुर्न निमार्ण नै गर्नु पर्ने ठाउँ हो त्यहाँको भएको छैन।’ 

अधिकारीले आफ्नो मातहतको सडकमा धेरै समस्या नभएको र महानगरले हेर्ने सडकमा समस्या भएको बताए। 

उनले भने, ‘बढी खाल्डाखुल्डी महानगरको मातहतको सडकमा छ। हाम्रो मातहतको सडकको खाल्डाखुल्डी पुर्ने काम धेरै सकिएको छ। अब अन्य ठाउँमा भत्किन्छ भन्ने थाहा भई भई गर्न भएन। हामीले काम गरिसकेको ठाउँमा पनि पानीको पाइप फुटेको कारण सडक झनै बिग्रेको छ। उहाँहरूले कुनै काममा समस्या नआउने गरी काम गर्नु भयो भने हामीले सडक धमाधम पिज गछौँ। अब अर्थहीन मर्मत गरेर भएन।’

उनले महानगरपालिकाले पनि सडकलाई ध्यान दिने हो भने काठमाडौँको सडक राम्रो  भएको महशुस जनतालाई गराउन सकिने बताए।  

नयाँ सरकार गठन हुने बित्तिकै सस्तो लोकप्रियताका लागि यस्ता निर्देशनहरू दिने गरिन्छ। यो मात्र होइन, विगतका सरकारहरु र तीनका नेतृत्वहरुले पनि यसै गरी निर्देशन दिँदै आएका छन्। तर यस्ता निर्देशन पालना भएको छैन। 

२०७४ साउन १ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि काठमाडौँका सडकमा भएका खाल्डाखुल्डी पुर्न १५ दिनको समय दिएका थिए। यो पनि उनको निर्देशन नै थियो । उनले त्यति बेला भनेका थिए, ‘काठमाडौँमा सडक हो कि पोखरी हो, चिन्न नसक्ने भएका छन्। स्कुलका विद्यार्थीहरू हिँड्दा हिँड्दै ढलमा पसेका छन्। खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ। मैले अबको १५ दिनभित्र काठमाडौँमा खाल्डाखुल्डी देख्न नपरोस्। देउवाले दिएको निर्देशन पनि यसै गरी खेर गएको थियो। 

यसै गरी २०७५ असार २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्न मातहतका निकायलाई निर्देशन दिएका थिए। उनले आफ्नो निर्देशनमा ५० दिनको समय सीमा तोकेका थिए। 

ओलीले यो अवस्था अघिल्लो सरकारले निम्त्याएको र आफ्नो सरकारले समाधान गर्ने घोषणा गरेका थिए। तर गत भदौ १३ गतेको ओलीले निर्देशन पनि पालना भएन्। निर्देशन पालना नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको अनुगमनबाटै पुष्टि भएको थियो। 

गत असारको निर्देशनपछि पनि अपेक्षित गतिमा काम हुन नसकेपछि एक महिनाअघि गत १६ साउनमा प्रधानमन्त्री ओलीले उपत्यकाका प्रमुख सडकको अवस्था सुधार्न पुनः निर्देशन दिएका थिए। उनले प्रमुख सडकका खाल्डाखुल्डी पुर्न, सडक बत्तीको व्यवस्था गर्न, ट्राफिक संकेतसमेतको व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिएका थिए। 

तर अहिलेसम्म कसैको निर्देशन पालना भएको छैन।  सडकहरूको अवस्था जस्ताको तस्तै छ। यसको मारमा आम नागरिक परेका छन्। 

सभा,सम्मेलन र विदेशी पाहुना आउँदा भने रातारात बन्छन् सडक

राजधानीवासीलाई राम्रो सडक देख्न र हिड्नका लागि कि काठमाडौँमा कुनै अन्तराष्ट्रिय सम्मेलन हुनुपर्छ कि त छिमेकी तथा अन्य मुलुकबाट राष्ट्रपति, प्रधानमन्त्रीस्तरका व्यक्तिहरु पाहुना बनेर घुम्न आउनुपर्छ। विगतको अभ्यासहरुले यही देखाउँछ। अरु बेला आमनागरिकले सास्ती व्यहोर्नुपरेको छ।

२०७५ बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने धार्मिक भ्रमणका लागि भन्दै  काठमाडौं आएका थिए। उनी आउने भएपछि सडक विभागले उनी हिँड्ने रुटको  मर्मत सम्भार रङ रोगन बनाएर चिल्लो बनायो। अझ उनी ह्यातमा बस्ने भएपछि उनी आउने अघिल्लो एक रातमै तीन वर्षमा हुन नसकेको काम भयो।

चाबहिलदेखि ह्यात होटलको गेटसम्म कालोपत्रे भयो। मोदी ह्यातमा बस्ने भएपछि  चुच्चे पाटीदेखि ह्यात गेटसम्मको करिब ४ सय मिटर सडक एकै रातमा कालोपत्रे गरेर पेन्टिङ गरिएको थियो। ५० लाख रुपैयाँ खर्चेर मध्यरातमा सडक टल्काइएको थियो।

२०१४ मा नेपालमा सार्क सम्मेलन हुँदा यसै गरी उपत्यकाको सडक पखालेर पेन्टिङ गर्दै चिल्लो बनाइएको थियो। अझ नयाँ बानेश्वर माइतीघरमा सोलार लाइट र ग्रिनरी राखेर आकर्षक बनाइएको थियो।

प्रकाशित: १६ माघ २०७९ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App