१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिममा चल्यो शीतलहर: अत्याधिक चिसोले जनजीवन कष्टकर

अत्याधिक चिसो बढेपछि गौरीगंगा नगरपालिकाको चौमाला बजारमा आगो ताप्दै सर्वसाधारण। तस्बिरः पुष्पराज जोशी/नागरिक

लगातारको शीतलहरले गर्दा पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ। पश्चिमी तराईमा लगातारको कुहिरो र शीतलहरले गर्दा सर्वसाधारण मर्कामा परेका छन्। अत्याधिक चिसोका कारण यहाँका सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गइरहेको छ भने स्थानीय कामका लागि बाहिर निस्कन सकिरहेका छैनन्। चिसोबाट बच्न स्थानीय दिनभर आगो ताप्नुका साथै न्यायो लुगाको जोहो गर्न थालेका छन्।

एक सातादेखि पश्चिम तराईमा हुस्सु कुहिरो तथा शीतलहर चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कैलालीको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस रहेको छ। दिन प्रतिदिन कैलालीको तापक्रम घट्दै गएका कारण अत्याधिक चिसो बढिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविज्ञ रोजन लामिछानेले बताए। उनका अनुसार बुधबार कैलालीमा ९ दशमलव ६ डिग्री सेल्सियस तापक्रम थियो भने बिहीबार घटेर ८ दशमवल २ डिग्री सेल्सियसमा पुगेको छ। मौसममा आएको खराबीका कारण अझै दुई तीन दिनसम्म सुदूरपश्चिमको मौसमी अवस्था सुध्रन नसक्ने उनले बताए।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार १० डिग्री भन्दा तल तापक्रम झरेमा तराईमा शीतलहर मान्न सकिने बताउँदै उनले भने,‘केही दिनदेखि पश्चिम तराईमा १० डिग्रीभन्दा तल तापक्रम झरिरहेको छ। त्यसैले शीतलहर चलिरहेको छ।’ विगत केही दिनदेखि पश्चिम तराईको तापक्रम यही आसपासमा रहेको फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।  

अत्याधिक चिसो बढेपछि यहाँका स्थानीय तहले ठाउँठाउँमा सर्वसाधारणका लागि भन्दै आगो बाल्नका लागि दाउरा वितरण गरेका छन्। गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका लगायतका स्थानीय तहले चौक चौतारो, चिया पसल तथा सडक किनारमा सर्वसाधारणलाई न्यायो बनाउन दाउरा वितरण गरेका छन्।

‘अत्याधिक जाडो बढेपछि हामीले गौरीगंगा नगरपालिकाका सार्वजनिक स्थल तथा चौक चौतारामा दाउरा बाँडेका छौ,’ गौरीगंगा नगरपालिकाका उप मेयर भोजबहादुर बमले भने,‘सामाजिक उत्तरदायित्व बहन गर्दै हामीले चिसोबाट बच्न दाउरा वितरण गरेका हाँै।’ दाउरा वितरण गरेपछि भने सर्वसाधारणले राहत महसुस गरिरहेको उनले बताए। ‘सबैसँग पर्याप्त बाक्ला लुगाकपडा हुँदैनन्,’ उनले भने,‘रातभरी जसोतसो कटाए पनि दिनभरको फुर्सदिलो समयमा भने स्थानीयले दाउरा बालेर आगो ताप्दै न्यायो बनाउन थालेका छन्।’ यस्तै अत्याधिक चिसोका कारण गौरीगंगा नगरपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै शुक्रबारदेखि तीन दिन विद्यालय बन्दको घोषणा गरेको छ। ‘विद्यार्थीहरु चिसोले बिरामी हुन थालेपछि हामीले तीन दिनको बिदा दिएका छौँ,’ उपमेयर बमले भने।

अत्याधिक चिसो बढेपछि नगरपालिकाले वितरण गरेको दाउरा बालेर न्यायो बनाइन थालिएको चौमालाकी स्थानीय संगीता न्योपानेले बताइन्। उनले भनिन्,‘केही दिनदेखि अत्याधिक चिसो भएपछि शरीर न्यायो भएको थिएन, अहिले भने नगरपालिकाले दाउरा वितरण गरेपछि दिनभर आगो बालेर न्यानो बनाइरहेका छौँ।’  

प्रकाशित: २१ पुस २०७९ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App