१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा : कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेसन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ।

प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरलाई अझ बढी सङ्क्रमणको जोखिम आङ्कलन गरिएकाले स्वास्थ्य पूर्वाधार र उपचारका क्षेत्रमा सोही अनुसारको व्यवस्थापन तयारी गर्न माग गरिन्। उनले कोरोनाविरुद्धको खोप, अक्सिजन, आइसोलेसन केन्द्रलाई समयमै व्यवस्थित तुल्याउन सुझाव दिइन्।

नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले संविधान निर्माणका समयमा राजनीतिक स्थिरताका लागि सदनलाई पूर्णअवधि पुनः सञ्चालन हुन दिने सहमति विपरीत प्रतिनिधिसभा भङ्ग किन गरियो भनी प्रश्न गर्दै समाजमा देखिएका बेथितिलाई अन्य गर्दै जनताले उठाएका जल्दाबल्दा मुद्दालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद आशा विकले कोरोनाका कारण शिक्षाको विकासका साथै बालमस्तिष्कमा परेको प्रभावबारे समयमै सचेत रही आगामी कार्ययोजना बनाउन आवश्यक रहेको धारणा व्यक्त गरिन्।

सांसद इन्दुकुमारी शर्माले नागरिकता विधेयक समयमा पारित नहुँदा धेरै नेपाली नागरिकले झमेला झेल्नु परेको घटना सुनाउँदै छिटो निष्कर्षमा पुर्‍याउन सुझाव दिइन्।

नेपाली कांग्रेसका उमा रेग्मीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत स–सना योजनामा लथालिङ्ग अवस्थामा रहेकाले त्यसलाई जिम्मेवारीका साथ पूर्णता दिने सम्बन्धमा सरकारले चासो लियोस् भनिन्।

नेकपा एमालेका कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या सम्बोधन गर्नुको साटो आयोग नै किन खारेज गर्नुपर्यो भनी प्रश्न गरे।

सोही दलका कृष्णबहादुर राईले गुहेश्वरी–वाग्मती कोरिडोर खाल्डाखुल्डीका कारण अस्तव्यवस्त रहेकाले सुधारका लागि पहल होस् भने।

एमालेकै कृष्णभक्त पोखरेलले लगातरको वर्षाका कारण आएको बाढीबाट चितवनमा ठूलो भौतिक क्षति भएकोबारे जानकारी गराउँदै पहिरो जोखिम बस्तीलाई स्थानान्तरणका लागि एकीकरण बस्तीको कार्यक्रम अघि बढाइयोस् भने ।

सोही दलका खेमप्रसाद लोहनी कोभिड–१९ खोपको व्यवस्थापन र वितरणमा सरकार कमजोर देखिएकाले तत्काल कमजोर सुधार्न सरकारलाई सुझाव दिए।

नेपाली कांग्रेसका गगनकुमार थापाले संसद्लाई हेप्ने र अदालतलाई अपमान गर्ने छुट विगतको जस्तो अब नयाँ सरकारलाई नरहेको जनाउँदै सदनले गुमेको अधिकारलाई फिर्ता ल्याउन सफल भएको भनी प्रशंसा गरे।

नेकपा एमालेका गजेन्द्र महतले प्राप्त अवसर र समयको सदुपयोग गरी जनता र देशहितका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए। सांसद गोपालबहादुर वमले विकास र समृद्धिका आधारका रुपमा रहेको सडक र विद्युत्का कार्यक्रमलाई तीव्रगतिमा गाउँगाउँसम्म विस्तार गर्ने कार्यक्रम बनाउन माग गरे।

एमालेकी गङ्गा चौधरी सत्गौवाले लोकतन्त्रमा फरक विचार राख्ने कसैलाई पनि निस्केर जा भन्न नसुहाउने भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको घटनाले समुदाय विशेषको अपमान भएको विचार प्रकट गरे।

सोही पार्टीका घनश्याम खतिवडाले पछिल्ला दिनमा पुनः कोरोना सङ्क्रमण बढिरहेकाले त्यस विरुद्धको खोपको सुनिश्चित गर्न सरकारलाई सुझाव दिए।

 नेकपा माओवादी केन्द्रका चुडामणि खड्काले गोर्खा जिल्लाका बाढीपहिरो पीडितका लागि राहत प्याकेज उपलब्ध गराउन माग गरे।

सांसद् जयकुमार राईले बिपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको भनिएको आर्थिक हिनामिनाका घटनाको सत्यतथ्य बाहिर ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए।

एमालेका झपटबहादुर रावलले अदालतको फैसलाका कारण एक कार्यकालमा तीन पटक प्रतिनिधिसभा सदस्य हुन पाएकामा गौरव गर्दै कोरोनाविरुद्धको खोपको प्रभावकारी व्यवस्थापनका साथै भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका आधारमा काम गर्न सरकारलाई सुझाव दिए।

माओवादी केन्द्रकी अमृता थापा कोरोनाविरुद्धको खोपका लागि मात्र नभई खोपलगायतको प्रमाणित गरेको काजग लिन पनि घण्टौँ लाइनमा बसेर सास्ती भोग्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ भनी प्रश्न गरिन्।

प्रकाशित: १२ श्रावण २०७८ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App