८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

गिरिजा काँग्रेसको कुशल सङ्गठनकर्ता : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइराला पार्टीको कुशल सङ्गठनकर्ता भएको बताएका छन्। काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला : प्रजातन्त्रको लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तरक्रियामा उनले गाउँगाउँमा पुगेर पार्टीको सङ्गठन विस्तार गर्ने नेता गिरिजा भएको बताएका हुन्।

“लोकतन्त्र सुदृढीकरण, आर्थिक समृद्धि, सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका स्व कोइराला क्रान्तिकारी र परिवर्तनशील नेता हुनुहुन्थ्यो,” उनले भने। वामपन्थी नेता एवम् पूर्व उपप्रधानमन्त्री अमिक शेरचनले काँग्रेस र कम्युनिष्टबीच रहेको अन्तरबिरोधलाई अन्त्य गर्न गिरिजाको महत्वपूर्ण योगदान रहेको बताए।

लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाले बोलेको कुरालाई अक्षरशः पालना गर्ने प्रतिवद्ध र इमान्दारी नेता भएको उनले स्मरण गरे। “१२ बुँदे सहमति र गणतन्त्र स्थापना भारत सरकारका पहलमा भएको भन्ने कुरा हल्लामात्र हो,” उनले भने। नेता शेरचनले जनआन्दोलन, जनयुद्ध र गिरिजाको सफल नेतृत्वको कारण देशमा गणतन्त्र स्थापना भएको उल्लेख गरे।

काँग्रेस नेत्री सुजाता कोइरालाले नेपालको आर्थिक विकासको जग गिरिजाले नेतृत्व गरेकाे सरकारको पालादेखि शुरुआत भएको बताइन्। “गिरिजाले ल्याएको आर्थिक उदारीकरणको नीतिले देशमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधारको विकास भएको हो,”उनले भनिन्। उनले संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको उल्लेख गरिन्। 

फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले गिरिजाले नेपालको प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलन र मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको अथक योगदानलाई जीवन्त बनाउन आवश्यक रहेकामा जोड दिए। उनले भने,“काँग्रेसले गिरिजाको सपनालाई पूरा गर्नुपर्छ।”

प्रकाशित: १७ असार २०७८ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App