८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संविधान संशोधन विधेयकमाथि छलफल गर्ने तयारी

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा रहेको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संसद् ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि सैद्धान्तिक छलफलका लागि मंगलबारको सम्भावित कार्यसूचीमा राखिएको छ ।

सार्वजनिक सूचना प्रकाशित गरेको सात दिनपछि मात्र सदनमा सैद्धान्तिक छलफल अघि बढाउन मिल्ने व्यवस्थाबमोजिम मंगलबार सात दिन पूरा हुने भएकाले संविधान संशोधन विधेयक कार्यसूचीमा राखिएको हो । सैद्धान्तिक छलफलमा सांसदले बोल्न चाहेमा विधेयकको सैद्धान्तिक पक्षमा बोल्न पाउनेछन् ।  

सरकारले गत जेठ ९ गते संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक जेठ १८ गते संसद्मा पेस भएको थियो । संसद्मा विधेयक पेस भएपछि १८ गते राजपत्रपमा र १९ गते सरकारी सञ्चार–माध्यममा मात्र सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । संविधानको धारा २७३ को उपधारा (३) मा ‘सदनमा पेस भएको विधेयक सम्बन्धित सदनमा प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्नेछ,’ भन्ने व्यवस्थाबमोजिम सार्वजनिक सूचना प्रकाशित भएको हो ।  

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ मा नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकोले,’ भन्ने उल्लेख छ । मन्त्रिपरिषद्ले जेठ ५ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा स्वीकृत गर्दै जारी गर्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट जेठ ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका विषयको जवाफ दिने क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको र यसलाई समेटेर छिट्टै नयाँ नक्सा जारी गरिने बताएका थिए । प्रधानमन्त्रीले संसद्मा बोलेको भोलिपल्टै जेठ ७ गते सरकारले नयाँ नक्सा जारी गरेको थियो । सरकारले नयाँ नक्सा जारी गरेको दुई दिनपछि ९ गते संविधान संशोधन विधेयक ल्याएको हो ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App