९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश सरकार विस्तार: कांग्रेस संस्थापनइतर समूह रुष्ट

लुुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। आफ्नो दल नेपाली कांग्रेसबाट एक र माओवादीबाट एकजना मन्त्री थपेर मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दैछन्।

तर उनकै दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति भने मुख्यमन्त्री चौधरीको यो निर्णयप्रति असन्तुष्ट देखिएको छ। कांग्रेसबाट संस्थापनइतर समूहबाट एकजनालाई पनि सरकारमा नलैजाने मुख्यमन्त्री चौधरीको निर्णयप्रति कांग्रेस प्रदेश नेतृत्व असन्तुष्ट बनेको हो। मुख्यमन्त्री चौधरी सभापति शेरबहादुर देउवा निकटस्थ हुन्।

यसैगरी सरकारमा रहेका स्वास्थ्यमन्त्री राजु खनाल पनि संस्थापन पक्षकै हुन् भने आज नियुक्त गर्न लागिएका सरोज थापा पनि संस्थापन समूहकै हुन्। मुख्यमन्त्रीसहित थप दुई मन्त्री नियुक्त हुँदा पनि सरकारमा संस्थापनइतर समूहको शून्य प्रतिनिधित्व हुने भएपछि पार्टी संस्थापनइतर समूह मुख्यमन्त्री चौधरीप्रति चिढिएको छ। ‘उहाँ (मुख्यमन्त्रीजी) ले के गर्न खोज्नुभएको हो’, लुम्बिनी प्रदेशसभापति तथा संस्थापनइतर समूहका नेता अमरसिंह पुनले भने, ‘मन्त्रिपरिषद् विस्तार र कांग्रेसबाट कसलाई लैजाने भन्ने विषयमा मसँग कुनै सरसल्लाह भएको छैन, मलाई केही थाहा छैन।’

संस्थापन समूहलाई मात्रै काखी च्यापेर मुख्यमन्त्री चौधरीले पार्टीभित्रको सन्तुलन बिगार्ने काम गरेको भन्दै सभापति पुनले अब पार्टी प्रदेश समितिबाट उनलाई कुनै पनि सहयोग नहुनेसमेत दाबी गरे। ‘उहाँ एकल रूपमा चल्न खोज्नुभयो, एकल रूपमै निकै टाढा पुग्ने सोच राख्नुभएको होला’, सभापति पुनले भने, ‘पार्टीसँग सरसल्लाह नगरेर एकल रूपमै हिँड्न खोज्ने उहाँलाई किन पार्टीको सरसल्लाह र सहयोग चाहियो ? अब उहाँलाई हाम्रो कुनै पनि सहयोग र सल्लाह हुँदैन।’

कांग्रेसको संस्थापनइतर समूहले एउटा मन्त्रालय दाबी गर्दै आएको थियो, तर मुख्यमन्त्री चौधरीले उपल्लो निर्देशन भन्दै संस्थापनइतर समूहलाई नील हान्दै संस्थापन समूहबाट मात्रै मन्त्री नियुक्त गरेका छन्। स्रोतका अनुसार कांग्रेसबाट थपिएका सरोज थापालाई मन्त्री बनाउन कांग्रेस नेत्री आरजु राणाको चर्को दबाब थियो।

सोही दबाब झेल्न नसकेर मुख्यमन्त्री चौधरीले थापालाई मन्त्री नियुक्त गर्न बाध्य भएको कांग्रेस स्रोत बताउँछ। यसैगरी माओवादीबाट कृष्णा केसी मन्त्री बन्दै छिन्। थापा र केसीलाई आज दिउँसो मन्त्रीको शपथ खुवाउने कार्यक्रम रहेको छ।

प्रकाशित: ८ पुस २०८० ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App