१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

फेरि सर्‍यो प्रधानमन्त्री दाहालविरुद्धको अदालत अवहेलना मुद्दा

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा निर्णय सुनाउने आदेश आइतबार गरेको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रधानमन्त्री दाहालविरुद्धको मुद्दामा मंसिरमा १८ मा फैसला गरी निर्णय सुनाउने आदेश गरेको हो। २०७३ जेठ १२ मा दर्ता भएको मुद्दा २०७४ सालदेखि ‘हेर्न नभ्याइने’मा पर्दै आएको थियो।

२०७३ साल वैशाखमा राष्ट्रियसभा गृहमा भएको नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेलामा अध्यक्षको हैसियतमा दाहालले अदालतविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका थिए। दाहालले शान्ति प्रक्रियाको मर्ममाथि प्रहार भएको, अदाललते दिउँसै रात पारिरहेको, आफूहरूको मुद्दामा हराएको भन्नेजस्ता अभिव्यक्ति दिएका थिए। त्यसपछि दाहालको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

त्यस समयमा हत्याको आरोप लागेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका थिए। गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा चितवनबाट माओवादी कार्यकर्ता छविलाल अधिकारी पनि पक्राउ परेका थिए। त्यसै आक्रोशमा दाहालले अदालतविरुद्ध बोलेका थिए। मुद्दा परेको करिब ७ वर्षपछि सर्वोच्च अदालतले आगामी मंसिर १८ मा निर्णय सुनाउने आदेश गरेको हो।

प्रकाशित: ८ आश्विन २०८० ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App