३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

धेरै प्रकारका खतराहरूबाट देश जेलिएको छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्। 

अध्यक्ष ओलीले देश गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरूलाई समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धेरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको स्पष्ट पारे।

ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए। उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए।

ओलीले  भने, ‘हामी संविधान दिवस पनि मनाइरहेका छौँ। र, जुन संविधान बनाउँदा संविधान बनाउने संविधान सभाको अध्यक्ष सुवाषचन्द्र नेम्वाङजी हुनुहुन्छ। यसपल्ट दुखद कुरा हो। यस अगाडिका संविधान दिवसहरू हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौँ। चाहे सरकारी तवर होस, चाहे गैरसरकारी तवरमा होस्। हामीले सधैँ मनाइरहेका छौँ। र, उहाँको उपस्थिति हुने गर्दथ्यो। यसपल्ट उहाँको उपस्थिति नभएर सुवास नेम्वाङ र संविधान भनेर संविधानमा सुवास नेम्वाङको पदचिह्न के छ, उहाँको कन्ट्रिब्युशन के छ? उहाँका चिन्हहरू के छ? उहाँले दिनु भएको दिशा निर्देश, गोरेटोको के छ? उहाँका योगदानका पत्रहरू के छन्? ती विषयहरूमा हामी छलफल गर्छौैं, गरिरहेका छौँ। थुप्रै साथीहरूले विचार राखिसक्नुभएको छ।’

उनले अगाडी भने, ‘यतिबेला सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था, साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ। आज सबै पार्टी, सबै पक्षहरू मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ। नत्रभने धरै प्रकारका खतराहरूबाट हामी जेलिदैछौं। त्यो गम्भीर परिस्थिति छ। त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ। त्यसमा पनि प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो यो।’

उनले राजनीतिक दलहरू जिम्मा, जमानी बसेर धेरैले बलिदान दिएको बताए। ‘जिम्मा, जमानी बसेर धेरैका घरबार, परिवार उजाड भएका छन्। प्रमुख राजनीतिक दलहरूको आह्वानमा धेरैले जीवन आहुति गरेका छन्। धेरैको क्षति भएको छ। धेरै ठुलो हिसाब गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउँमा आइपुगेका छौँ। यी आजको उपलब्धिहरू जे छन् । यी यतिकै होइन आकाशबाट आएका होइनन् । यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँसु, कठिनाईहरुसँग जुधेर यहाँ ल्याई पुर्‍याएका छौँ । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन’, ओलीले भने। 

उनले देशप्रति, प्रमुख राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने बताए। ‘सबैमा चेतना भया । तर नेकपा एमाले प्रतिबद्ध छ। यी उद्देश्यहरूलाई तलमाथि हुन नदिन, समृद्ध नेपाल: सुखी नेपालको गन्तव्यमा मुलुकलाई पुर्‍याई छोड्न एमाले प्रतिबद्ध छ’, ओलीले भने। 

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे।

प्रकाशित: २ आश्विन २०८० १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App