१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

चर्कियो सिंह र बाग दरबारबीचको द्वन्द्व: रोकिएनन् मेयर बालेनका शब्द वाणहरू

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सङ्घीय सरकार विरुद्धका आरोप र असन्तुष्टिका शब्द वाणहरू रोकेका छैनन्। 

उनले बिहीबार बिहानसम्म पनि सामाजिक सञ्जाल मार्फत सङ्घीय सरकारप्रतिका आफ्ना असन्तुष्टि र आरोपहरू सार्वजनिक गरिरहेकै छन्। यसले समस्या समाधान भन्दा पनि द्धन्दको वातावरण सिर्जना गरेको छ। 

मेयर बालेनले सङ्घीय सरकार काठमाडौँ महानगरभित्रका समस्या समस्यामा गम्भीर नभएको र आफूलाई असहयोग तथा असमन्वय गरेको आरोप सामाजिक सञ्जाल मार्फत नियमित लगाइरहेका हुन। उनी सञ्चार माध्यम र सञ्चारकर्मीहरू माझ प्रस्तुत हुँदैनन्। तर आफ्ना सामाजिक सञ्जालमा मनका लागेका सबै कुराहरू लेखिरहेका छन्।

मेयर बालेनका स्ट्याटस मात्र नरोकिएका होइनन्। उनले सिंहदरबार परिसरको फोहर समेत नउठाउन निर्देशन दिएका छन्। सिंहदरबार परिसर शनिवारदेखि फोहरको डङ्गुरमा रुमलिएको छ। यसले सिंहदरबार र बागदरबारबीचको द्धन्द चर्किएको स्पष्ट हुन्छ।

सिंहदरबार र बागदरबारबीच अघोषित वाक युद्ध सुरु भएकै छ। उनले बिहीबार बिहान (२९ गते) मात्रै सिंहदरबार अर्को पालिकामा सार्न सङ्घीय सरकारलाई चुनौती दिएका छन्। साथै सिंहदरबारलाई काठमाडौँको हितमा काम नगरेको आरोप पनि लगाएका छन्। 

यसअघि बालेनले देशलाई सफा गर्न नेताहरूलाई सिस्डोलमा डम्प गर्न पर्ने बताएका थिए। सिस्डोल त्यही ठाउँ हो जहाँ काठमाडौँको फोहोर व्यवस्थापन हुन्छ। 

मेयर शाहले नेताहरूले देश फोहोर गरेको आशयमा देश सफा गर्न नेताहरूलाई नै डम्प गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरेका हुन्। ‘साँच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ’, उनले भनेका थिए।

गत शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमा स्ट्याटस राख्दै मेयर शाहले सिंहदरबारबाट निस्कने फोहोर नउठाउने बताएका थिए। आजका मितिसम्म पनि सिंहदरबारको फोहर उठाइएको छैन। यसले स्थानीय तह र सङ्घीय सरकारबीचको द्धन्द सतहमा आएको छ।

मेयर शाहले राजनीतिक दलका स्थानीय नेताहरूको हस्तक्षेपले गर्दा काठमाडौँ महानगरले फोहोर व्यवस्थापन गर्दै आएको सिसडोलमा पटक पटक रोकावट आएको बताउँदै आएका छन्।

यति मात्र होइन, उनले सिंहदरबार भित्रका १४ वटा मन्त्रालयले महानगरसँग समन्वय गरेर गर्नुपर्ने कामहरू समेत नगरेको फेहरिस्त प्रस्तुत गरेका छन्। उनले महानगर र यी मन्त्रालयहरुबीच भएको सहमति, सम्झौता कार्यान्वयन नभएको असन्तुष्टि पनि जनाइरहेका छन्। पालना र कार्यान्वयन हुन नसकेका १४ बुँदे मुद्दा तथा समस्याहरू समेत आफ्नो सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।

समग्रमा मेयर बालेनले सिंहदरबारले महानगरलाई सहयोग नगरको गुनासो गर्दै आएका छन्। उनले पटक पटक सिंहदरबार र राजनीतिक दलहरूलाई शब्द वाण प्रयोग गर्न थालेपछि सरकार (सिंहदरबार) पनि आक्रोशित भएको छ। 

मेयर बालेनले सिंहदरबारको फोहर नउठाउने निर्णय गरेपछि सरकार आक्रोशित भएको हो।  बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने मेयर बालेनको अभिव्यक्तिपछि यही विषयमा केन्द्रीत भएर मन्त्रिपरिषद् बैठक पनि बस्यो। मेयर बालेनको अभिव्यक्ति र निर्देशनलाई गम्भीरतापूर्वक लिएको ठहर गर्दै जिम्मेवारी बोध गरी काम गर्न सचेत गराउने निर्णय बैठकले गरेको थियो।

‘काठमाडौँ महानगरपालिकाको फोहर स्थानीय तहले उठाउने कानुनी व्यवस्था छ, नीतिगत रूपमा भएको व्यवस्थाअनुसार काम गर्नुपर्छ’, बैठकपछि पत्रकारलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनेकी थिइन, ‘उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक बैठकमा छलफल भएको छ।’

यो द्धन्द चर्किनु अघि मेयर बालेनले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजिएको पनि बताएका थिए। उनले लेखेका थिए, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोजिँदैछ, यो देश कहिले पनि बन्दैन।’ यद्यपि उनले कसले र किन उनलाई राजीनामा दिन लगाउन खोज्दै छन् भन्ने कुरा खुलाएका थिएनन्।

प्रकाशित: ३० चैत्र २०७९ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App