१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाममा निर्वाचन सामग्री मतदानस्थलमा पुग्यो, थप तयारी धमाधम

इलाम सदरमुकामबाट बिहीबार मतदान केन्द्रसम्म निर्वाचन सामग्री लैजानै तयारी गरिँदै। तस्बिर: भीम/नागरिक

यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तयारी धमाधम भइरहेको छ। मतदानस्थलको सुरक्षालाई विशेष ध्यान दिएर तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

निर्वाचन विथोल्ने समूहबाट निर्वाचनसम्बन्धी चुनौती रहेपनि प्रशासनले सुरक्षाको सबै तयारी गरिसकेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए। ‘सबै मतदाताले भयरहित र निर्धक्कसाथ मतदान गर्नमा कुनै समस्या छैन,’ उनले भने, ‘मतदान केन्द्रमा सुरक्षाका तीनै चारै निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी)ले निगरानी गर्ने छन्।’  

जिल्लामा एकीकृत सुरक्षा योजना बनाइ कार्यान्वयन गरिएको छ। त्यसैअनुसार सुरक्षा निकाय परिचालित रहेको उनले बताए। प्रशासनले पशुपतिनगरस्थित नेपाल–भारत सीमानाका बन्द गरिसकेको छ भने भारतीय सुरक्षा निकायसँग निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनसमेत समझदारी भएको प्रजिअ ढुंगानाले बताए। ‘निर्वाचनका बेला सीमामा हुनसक्ने चुनौतीलाई लिएर भारतीय पक्षसँग पनि छलफल भइसकेको छ,’ उनले भने, ‘सीमा क्षेत्रमा मदिराको बेचबिखन र प्रयोग हुन नदिने, भारतीय आमसञ्चार माध्यमबाट समेत नेपालको निर्वाचनलाई सम्पन्न गर्नमा असर पुग्ने सामग्री प्रयोग नगर्ने समझदारी दुवै पक्षबीच भएको छ।’

प्रशासनका अनुसार जिल्लामा निर्वाचनका लागि ६ सय १० नेपाली सेना, ४ सय ५४ सशस्त्र प्रहरी, ७ सय ७५ नेपाल प्रहरी र १ हजार ४ सय ४८ म्यादी प्रहरी परिचालन गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका १५ कर्मचारीले जिल्लाका दशै स्थानीय तहमा निर्वाचनको निगरानी गर्ने छन्। सिडिओको अध्यक्षतामा निर्वाचन जिल्ला कमान्ड पोस्ट, निर्वाचन सम्बन्धी सूचना विश्लेषण र प्रवाह गर्न  र सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सूचना विश्लेषण तथा सम्प्रेषण समिति बनेको छ। ‘अहिलेसम्म मदिरा निषेधको काम गरिसकियो, अत्यावश्यक वस्तु र सेवा व्यवस्थापन गरिएको छ,’ प्रजिअ ढुंगानाले भने, ‘१५ दिनअघि नै मदिरा निषेध गरिएकामा मंसिर १ देखि मतदानस्थलमा मदिरा र चुनावी प्रचारका काम निषेध गरिएको छ।’  

निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ४ सहायक कर्मचारी र १ सहयोगी खटिएका छन्। जिल्ला कारागार  र सदरमुकामको बालमन्दिर स्कुलमा २ अस्थायी मतदान केन्द्र राखिएको छ। कारागार केन्द्रमा कैदी–बन्दी र नेपाली सेना तथा अस्थायी मतदाता सूचीका अन्यले बालमन्दिर केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। अस्थायी मतदाता सूचीमा नाम भएका मतदाताले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउने छन्।  

२ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा १ सय ५० मतदानस्थल र २ सय ८५ मतदान केन्द्र छन्। प्रतिनिधिसभा क्षेत्र १ मा ७१ मतदानस्थल र १ सय ३६ मतदान केन्द्र छन्। यो क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदाता छन्। प्रतिनिधिसभा क्षेत्र २ मा ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयको तथ्यांक छ। यो क्षेत्रमा १ लाख १५ हजार ३ सय ४२ मतदाता छन्।

मतदानस्थलमध्ये ३६ अति संवेदनशील, ५५ संवेदनशील र ५९ वटा सामान्य छन्। ‘सदरमुकामसँगको दूर, सडकको अवस्था, विगतमा त्यहाँ भएका घटना र स्थानीय सांस्कृतिक, भौगोलिक र जातीय आधारमा मतदानस्थलको वर्गीकरण गरिएको छ,’ सिडिओ ढुंगानाले भने, ‘निर्वाचनका लागि पहिलो समस्या निर्वाचनविरोधी समूह नै रहेपनि इलाममा ज्यादै कम छ, हामीले सूक्ष्म निगरानी गरिरहेका छौं।’ प्रशासनले यसअघि नै निर्वाचनविरोधी समूहका ७ जनालाई नियन्त्रणमा लिएर ‘आइन्दा यस्ता क्रियाकलाप नगर्नेगरी’ रिहा गरिएको उनले जनाए।  

निर्वाचन सामग्री मतदातस्थल पुग्यो

निर्वाचनका लागि मतदान केन्द्रसम्म सामग्री पुर्‍याइएको छ। निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत कार्यालयबाट मतदान अधिकृतलाई सामग्री हस्तान्तरण भएको हो। यसपटक कम्तीमा ६१ प्रकारका निर्वाचन सामग्री मतदान केन्द्र पु¥याइँदैछ।  

प्लास्टिकको सुत्लीको रोल, स्टाम प्याड, स्टाम प्याडको मसी, प्लास्टिकको बोरा, प्लास्टिकको थैली, २ मिटर कोरा कपडाको टुक्रा, सोसर, स्केल, सर्जिकल मास्क, प्याकिङ टेप, रबर म्याट, कर्मचारी स्वयंसेवक निर्वाचन प्रतिनिधि कभर, डोरी, भित्र कार्ड, बाहिर कार्ड, पुरुष कार्ड, महिला कार्ड मतदान केन्द्रमा आवश्यक सामग्री हुन्। यस्तै, हातहतियार निषेध कार्ड, धूमपान निषेध कार्ड, मतदाता क्रमसंख्या कार्ड, मतदान केन्द्र कार्ड, मोबाइल निषेध कार्ड, स्वस्तिक छाप (रबर), प्राथमिक उपचार, पोलबुक, अनुसूचीहरू, मतपेटिका, छेकाबारा, पोस्टर–पम्प्लेट, फ्लेक्स प्रिन्ट सामग्री मतदान केन्द्र लगिँदैछ।  

फलाटिनको पोका, नउड्ने मसी भएको मार्कर पेन, मतपेटिका स्टिकर, स्वस्तिक छाप (पित्तल), लाहा, मार्कर पेन, पुसपिन प्याकेट, क्लिप पिन, स्टिच मेसिन, स्टिच पिन, कैंची, ग्लुस्टिक, पन्चिङ मेसिन, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाई, जेलपेन (कालो), जेलपेन (रातो), मैनबत्ती, परिचयपत्र, फायल, ठूलो खाम, सानो खाम, फाइल लेस, निविदा मतपत्र र खाम, सेतो कागज ३० सिट, मतदाता नामावली रंगीन खामभित्र (लाहा छाप), मतदाता नामावली श्यामस्वेत खामभित्र र सुरक्षण सिल मतदान केन्द्रका सामग्री हुन्।  

इलाम सदरमुकामबाट निर्वाचन क्षेत्र २ को र सूूर्याेदय नगरपालिकाको फिक्कलबाट क्षेत्र १ का मतदान केन्द्रको सामग्री वितरण भएको छ। सामग्री मतदानस्थल पुगेपछि मतदानका लागि बारबेरा गर्नेदेखिको तयारी सुरु भएको छ। 

प्रकाशित: २ मंसिर २०७९ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App