अखिल (क्रान्तिकारी) ले चुनाव हुन नदिनैका लागि 'समानुपातिक' निर्वाचन प्रणालीको गीत गाएको र अनेरास्ववियुले हल्लैहल्लामा तिनैको गीतमा ताली बजाएकोे छ। नेविसंघ आन्तरिक समस्यामै अल्भि्कएर तमासेमात्र बनेको छ। यिनै कारणले निर्वाचन नभएको हो। त्रिविका पदाधिकारी तथा विद्यार्थी संगठनका नेताले पटकपटक निर्वाचन प्रणालीकै विषयमा बैठक गरेको सुनिन्छ। तर निर्णय कहिल्यै हुँदैन। अब त्रिविलाई नै मिति तोक्न दिइयो भन्ने विद्यार्थी नेता भन्छन्। तर तिनैको दोहोरो चरित्रका कारण त्रिवि एक्लैले निर्वाचनको मिति तोक्नसक्ने परिस्थिति पनि देखिँदैन।
संगठन उमेदवार बन्ने र पाएको मतका आधारमा निर्णय गरी पछि व्यक्ति तोक्ने प्रणालीलाई समानुपातिक भन्नेे व्याख्या क्रान्तिकारी र अनेरास्ववियुले गर्दैआएका छन् तर त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियममा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्याम्पसमा भर्ना भएको कुनै पनि विद्यार्थी उमेदवार हुन पाउँछ। विगतमा संगठनबाहिरको व्यक्ति पनि लोप्रियताका आधारमा सभापतिलगायतका पदमा निर्वाचित भएका थिए। संगठन मन नपरे पनि व्यक्ति मन पराउने थुप्रै विद्यार्थी क्याम्पसमा हुन्छन्। तसर्थ, अहिलेसम्म चलिआएको प्रणाली स्ववियु निर्वाचनक लागि उपयुक्त विधि हो। यस प्रकरणमा नेवि संघले सही धारणा राखेको छ। यसैले क्रान्तिकारी र अनेरास्ववियुले पनि 'मेरो गोरुको बाह्रै टक्का' भन्नेजस्तो जिद्दी लिनु हुँदैन।
व्यक्तिलाई स्ववियुमा चुन्ने र चुनिने अधिकारबाट वञ्चित गराउनु यथार्थमा विद्यार्थीको अधिकार र स्वतन्त्रता खोस्नु हो। यसले विद्यार्थीको साझा वैधानिक मञ्चका रूपमा स्थापित स्ववियुकै अपमान हुन्छ।
विद्यार्थी नेताहरू ताजा जनमत लिन किन अनिच्छुक भएका हुन् भन्ने प्रश्न अनुत्तरित छ। अब यस प्रश्नको उत्तर सबै क्याम्पसमा अध्ययन गर्ने सचेत विद्यार्थीले खोज्नु जरुरी छ। विद्यार्थीलाई भर्याङ बनाएर प्रभुत्व कायम गर्ने संगठनका नेताहरूले पनि यस प्रश्नको उत्तर दिनुपर्छ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समयमा हुन नसक्दा शैक्षिक संस्थाहरू प्राज्ञिक स्थलको साटो अराजकता बढाउने र मुठभेड गर्ने थलोका रूपमा विकसित भइरहेका छन्। यस अवस्थाको अन्त्यका लागि विद्यार्थीहरूले कार्यकाल सकिएको स्ववियुको वैधानिकताको प्रश्न उठाउने र क्याम्पस प्रशासनले स्ववियुका कार्यलाई सहयोग नगर्ने गर्नुपर्छ। स्वयं स्ववियुमा निर्वाचित पदाधिकारीमध्ये कतिले त क्याम्पसै छाडिसके। बाँकी रहेकाहरूमा पनि उत्साहका साथ काम गर्ने मनःस्थिति हुँदैन। विद्यार्थीहरू कहिले परीक्षामा कम नम्बर आएको बहानामा आगजनी गर्ने असजिलो प्रश्न आए परीक्षा बहिष्कार गरी तोडफोडमा उत्रने केही निहुँ वा मागमा तालाबन्दी गरी हाल्ने त सामान्य अभ्यास बन्न पुगेका छन्। उता, विद्यार्थी संगठनका नेता भने ठेक्कापट्टाकै बन्दोबस्तमा बढी अल्झेका देखिन्छन्। कतैे गुलियो चटाएर स्ववियुलाई सिध्याउने प्रशासनलको षड्यन्त्रमा यी नेता पनि लटपटिएका त हैनन्?
स्ववियुलाई मर्यादित व्यवस्थित र पारदर्शी तथा विद्यार्थीको भरोसा योग्य संस्था बनाउन त्यहाँभित्र हुने अनियमितता र लापरबाहीलाई रोक्न नयाँ ढंगले अगाडि बढ्ने संकल्प गरेर यथाशीघ्र निर्वाचनमा जाने अठोट विद्यार्थी संगठनका नेताहरूले गरे भनेमात्र उनीहरूप्रतिको सन्देह निवारण हुनेछ।
प्रकाशित: ७ वैशाख २०६९ ००:०७ बिहीबार