३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
विचार

रेल : ब्रोड गेज हैन, स्ट्यान्डर्ड गेज

विगत केही वर्षदेखि नेपालमा रेल मार्ग भाषण र चर्चाको विषय बन्ने गरेको छ । बिमस्टेक सम्मेलनमा भाग लिन आएका भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच रक्सौल–काठमाडौँ रेलमार्गको ‘ब्रोड गेज लाइन’को प्रारम्भिक इन्जिनियरिङ एवं ट्राफिक सर्वेक्षण गर्ने सहमति भएको छ। नेपाल र भारत बीचमा रेलवेको प्रारम्भिक सर्वेक्षणको सहमति हुँदै गर्दा नेपालले प्राविधिक रूपमा आफ्नो अडान राख्नुपर्ने थियो, त्यस्तो अडान राखेको देखिएन । नेपालको रेल विभागले मन्त्री तथा प्रधानमन्त्रीलाई अहिले विश्वमा कुन कुन प्रविधिको रेलहरूको विकास भइरहेको छ, हामीले कुन प्रविधि रेल अपनाउनुपर्छ भन्नेबारे प्रस्ट सूचना दिनुपर्ने थियो । नेपालले भारतसँग रेलको प्रारम्भिक अध्ययन गर्ने सहमतिमा परेको प्रविधि ‘ब्रोड गेज लाइन’को राम्रो र नराम्रो पक्ष के छन् र नेपालले कुन प्रविधिमा जोड दिनुपथ्र्याे यस लेखमा केलाउने प्रयास गरिएको छ।

रेल मार्गको विकास र निर्माणको कुरासँगै आउने प्रमुख कुरा भनेको प्रविधि हो । रेल निर्माणका लागि भारत लगायतका अन्य देश तथा दातृ निकायसँग सहयोग माग्दा वा सम्झौता गर्दा नेपाली पक्ष नेपालमा कुन प्रविधिको रेल मार्ग निर्माण गर्न चाहन्छ त्यो कुरा प्रस्ट हुनु जरुरी छ । अझ विशेष गरी भारतसँग हुने सम्झौताका लागि त हामी अझ प्रस्ट रूपमा प्रस्तुत हुनुपर्छ।

भारतको सहयोग लिने बहाना वा अन्य कुनै बहानामा भारतको पुरानो प्रविधि ब्रोड गेज प्रयोग गर्न थाल्यौँ भने रेल मार्ग हाम्रा लागि सेतो हात्ती हुनेछ।

अहिले विश्वमा खासगरी २ प्रकारका रेल प्रविधि प्रचलित छन् । ती हुन् : स्ट्यान्डर्ड गेज (मानक लाइन) र ब्रोड गेज (बडी लाइन) । यी बाहेक मिटर गेज, साँघुरो गेज (न्यारो गेज) जस्ता अन्य केही प्रविधिहरू पनि कतै कतै प्रयोग भएको पाइन्छ । कतै कतै ब्रोड गेज र स्ट्यान्डर्ड गेजलाई मिलाएर डुअल (मिश्रित) गेज प्रणाली पनि पाइन्छ जुनमा गेजमा ब्रोड र स्ट्यान्डर्ड गेजमा चल्ने दुवै रेल चल्छ तर यो धेरै खर्चिलो हुन्छ । केही सीमित ठाउँमा प्रयोग गर्न सकिन्छ । स्ट्यान्डर्ड गेजमा रेलको लिक (रेल गुड्नका लागि प्रयोग गरिएको फलामको डन्डी) को बीचमा दूरी १४ सय ३५ मिलिमिटर हुन्छ भने ब्रोड गेज जसलाई भारतीय गेज पनि भनिन्छ जसमा रेलको लिकको बीचको दूरी १६ सय ७६ मिलिमिटर (कतै कतै १५२० मिलिमिटरदेखि १८३० मिलिमिटरसम्म) हुन्छ । स्ट्यान्डर्ड गेज भारतबाहेक संसारका अन्य देशहरू चीन, जापान, अमेरिका, रसिया, क्यानाडा र युरोपका देशहरूमा यो प्रविधि प्रयोग भइरहेको छ । ब्रोड गेजको प्रयोग भारतमा गरिएको छ । विशेषगरी अंग्रेजको शासनका बेलामा अंग्रेजले यो प्रविधि भारतमा भित्र्याएको थियो । कतिपय मानिस त्यति बेला अंग्रेजहरूले भारतले रेल मार्ग विस्तार र सञ्चालनका लागि आवश्यक सामग्री, रेलको डिब्बालगायत अन्य कुराहरू आफूसँगबाट मात्र किनोस् भन्ने उद्देश्यले नै अन्यन्त्र नभएको प्रविधि भारत भित्र्याएको भन्ने गर्छन् । यसले गर्दा पछिसम्म पनि रेलसम्बन्धी धेरै कुरामा भारत ब्रिटिसको मात्र भर पर्नुपरेको थियो।

प्राविधिक र व्यापारिक दुबै हिसाबले स्ट्यान्डर्ड गेज प्रविधि नै उत्कृष्ट भएको अन्तर्राष्ट्रिय अनुभव र अध्ययनले देखाइसकेको छ । ब्रोड (भारतीय) गेज प्रयोग गर्ने हो भने १.५ प्रतिशतभन्दा बढी उकालोमा रेल जान गाह्रो देखिन्छ । १.५ प्रतिशत उकालो भन्नाले १०० मिटर रेल गुड्दा १ मिटर माथि (उकालो) जानु भन्ने बुझिन्छ । तर स्ट्यान्डर्ड गेज प्रविधि प्रयोग गर्ने हो भने ३.५ प्रतिशत जति उकालोमा रेल जान सक्ने देखिन्छ । त्यसकारण पनि नेपाल जस्तो पहाडी भेगमा धेरै उकालोमा जान सक्ने रेल प्रविधि (स्ट्यान्डर्ड गेज) नै उपयुक्त हुन्छ । ब्रोड (भारतीय) गज प्रयोग गर्ने हो रेल मार्गको दिशा परिवर्तन गर्न फराकिलो मोड वा करिब १७५ मिटर अर्धव्यास (रेडियस) को मोड आवश्यक पर्छ तर स्ट्यान्डर्ड गेजमा दिशा परिवर्तन गर्न ब्रोड गेजभन्दा सानो मोड वा ९०–१४० मिटर अर्धव्यास भएको मोड भए पुग्छ । हाम्रो जस्तो पहाडी क्षेत्रमा फराकिलो मोड बनाउन गाह्रो पर्छ जसको कारण २ स्थान जोड्ने रेलमार्ग ब्रोड गेज प्रयोग गरी बनाउँदा रेलमार्गको लम्बाइ बढ्न गई लागत खर्च बढ्ने हुन्छ । दोहोरो रेल सञ्चालन गर्न स्ट्यान्डर्ड गेजका लागि ब्रोड गेजको भन्दा करिब १.४ मिटर कम चौडाइ भए पुग्ने देखिन्छ । हाम्रो जस्तो पहाडी भूभाग तथा जग्गा प्राप्तिमा (अधिकरण) ठूलो झन्झट भएको देशमा १.४ मिटर चौडाइ कम जग्गा आवश्यक पर्नुले पनि ठूलो अर्थ राख्छ । स्ट्यान्डर्ड गेजलाई केही सांघुरो कोरिडर भए पुग्ने देखिन्छ।

अर्को प्रमुख कुरा भनेको रेलको गति हो। ब्रोड गेज प्रयोग गर्ने हो भने रेलको औसत गति १०० किमि प्रति घन्टा भन्दा माथि जान गाह्रो छ । रेलको डिब्बा तथा यन्त्र, ब्रेक देखी सुरक्षाका अन्य धेरै प्राविधिक कुराहरूको समस्या आइपर्छ । भारतमा अहिले एक्सप्रेस भनीएका रेलकै गति औसतमा ५० –१०० किमि प्रतिघन्टा जस्तो छ । उच्च गतिको रेल मार्ग भएका चीन, जापान, अमेरिका लगायतका देशमा स्ट्यान्डर्ड गेज प्रयोग गरिन्छ र जहाँ रेलको गति ३५० किमि प्रतिघन्टा सम्म पनि छ। भारतकै द्रुत गतिको रेल भनीएको बेङ्लोर देखी दिल्लीसम्मको करिब २१५० किमि चल्ने राजधानी एक्सप्रेसले करिब ३६ घन्टा लगाउछ जबकी त्यति नै दुरी चीन, जापान, अमेरिका तिर करिब ६ घन्टामा पार गरेको देखिन्छ । यस हिसाबले नेपालको पूर्व पश्चिम रेलमार्गमा पनि करिब १८ घन्टा लगाउने देखिन्छ जुन एक्सप्रेस बसबाट यात्रा गर्न लाग्ने समय जस्तै हो । त्यसकारण पनि हामीले भारतीय प्रविधि अपनाउनु हुँदैन । अब बनाउने रेलको गति कम्तिमामा पनि २०० किमि प्रतिघन्टा हुनुपर्छ, जसको लागि स्ट्यान्डर्ड गेज नै प्रयोग गरिनुपर्छ । खरबौँ खर्च गरेर रेल मार्ग निर्माण गरिसके पछी उच्च गतिकै निर्माण गरिनुपर्छ।

ब्रोड (भारतीय) गेज प्रयोग गर्ने हो भने १.५ प्रतिशतभन्दा बढी उकालोमा रेल जान गाह्रो देखिन्छ। १.५ प्रतिशत उकालो भन्नाले १०० मिटर रेल गुड्दा १ मिटर माथि (उकालो) जानु भन्ने बुझिन्छ । तर स्ट्यान्डर्ड गेज प्रविधि प्रयोग गर्ने हो भने ३.५ प्रतिशत जति उकालोमा रेल जान सक्ने देखिन्छ। त्यसकारण पनि नेपाल जस्तो पहाडी भेगमा धेरै उकालोमा जान सक्ने रेल प्रविधि (स्ट्यान्डर्ड गेज) नै उपयुक्त हुन्छ।

ब्रोड गेज भारतमा मात्र प्रयोग गरिन्छ जहाँ रेल परम्परगत शैलीमै सञ्चालित छ । नयाँ नयाँ प्रविधि प्रयोग विकास गरिएको छैन । तर स्ट्यान्डर्ड गेजमा प्रविधिको उच्चतम प्रयोग गरिएको । रेलको डिब्बा तथा यन्त्र (रोलिङ स्टक), ब्रेक, सुरक्षा आदी धेरै कुराहरूमा स्ट्यान्डर्ड गेज प्रविधि धेरै अगाडि छ । स्ट्यान्डर्ड गेजको महत्वपूर्ण पाटो पनि यसको विश्वव्यापी प्रयोग हो र अहिले जति पनि रेलसँग सम्बन्धित नयाँ–नयाँ प्रविधि आएको छ त्यी सबै स्ट्यान्डर्ड गेज प्रयोग हुने गरी आएका छन । रेल मार्गको पर्याबाची कै रूपमा स्ट्यान्डर्ड गेजलाई लिन थालिएको छ।

अर्को महत्वपूर्ण कुरो यदि हामीले ब्रोड गेज प्रविधि अपनाउने हो भने जसरी पेट्रोलियम पदार्थमा हामी भारतसँग मात्र निर्भर छौ रेल यातायातमा पनि भारतसँग मात्रै भर पर्नु पर्ने हुन्छ जसले गर्दा बेला बेलामा धेरै समस्या पर्न सक्छ जुन कुरा पेट्रोलियम पदार्थमा हामीले भोगीरहेका छौ । यदि हामीले स्ट्यान्डर्ड गज अपनाउने हो भने रेलसँग सम्बन्धी कुनै पनि कुराहरू चीन, जापान, अमेरिका लगायत धेरै देशहरूबाट ल्याउन सक्छौ । हामी कुनै एक देशमा पूर्ण भर पर्नु पर्ने हुँदैन । त्यसकारण पनि हामी स्ट्यान्डर्ड गेजमै जानुपर्छ।

केरुङ हुँदै काठमाडौँतर्फ अघि बढ्ने रेल ‘वान बेल्ट वान रोड’ (ओबिओआर) योजनाअन्तर्गत पर्छ । यो रेलमार्ग चीनले बनाउने भन्ने विश्वास गरिएको छ यसलाई लुम्बिनी सम्म पुराउने सरकारको लक्ष्य रहेको देखिन्छ । यदि केरुङ–काठमाडौँ–लुम्बिनीमा चिनियाँ लगानी र प्रविधि प्रयोग हुने भएपछी यसमा पक्कै पनि स्ट्यान्डर्ड गेजको प्रयोग गरिने छ । हाम्रो सरकारले चीन हुँदै हाम्रो सम्पर्क (कनेक्सन) युरोपसम्म पुग्ने उद्देश्यले नै ‘वान बेल्ट वान रोड’ (ओबिओआर) सहमति जनाइसकेको छ । यदि हामीले ब्रोड गेज प्रयोग गर्ने हो भने रेलबाट पनि हाम्रो सम्पर्क भारतसँग मात्र हुने देखिन्छ त्यसले धेरै ठूलो अर्थ नराख्ला आर्थिक र राजनैतिक रूपले जति हामी चीन र युरोपसँग जोडिँदा राख्छ।

ब्रोड गेजमा चल्ने रेलको डिब्बा (यात्रु कार–३.६६ मिटर चौडाइ) स्ट्यान्डर्ड गेज (यात्रु कार– ३.२ मिटर चौडाइ) को भन्दा ठूलो हुने भएकाले केही मात्रामा धेरै यात्रु ओसार्न सक्छ तर अन्य देशको वा सहरको तुलनामा हाम्रो जनसंख्या न्यून नै मान्नुपर्छ, त्यसले खासै फरक पार्दैन । रेलको गति बढी हुनासाथ रेल फ्रिक्वायन्सी (ओहोरदोहोर गर्ने संख्या) बढ्न सक्छ त्यसले गर्दा स्ट्यान्डर्ड गेजको कार अलि सानो भए पनि दैनिक धेरै यात्रु बोक्न सक्छ । स्ट्यान्डर्ड गेज प्रयोगले बिजुलीको खपत पनि काम गर्न सकिन्छ । सामान्यतः स्ट्यान्डर्ड गेज प्रयोग हुने इन्जिनको प्रयोग गर्दा ५० युनिट प्रतिकिमि ऊर्जा कम खपत हुन्छ भनिन्छ । भारतको रेल मन्त्रालयमा कार्यरत एक अनुसन्धानकर्मीले सन् २००६ मा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेखका अनुसार भारतको मुम्बई मेट्रो प्रोजेक्टको एक खण्डको अध्ययन गर्दा ब्रोड गेजभन्दा स्ट्यान्डर्ड गेज करिब १० प्रतिशत महँगो देखिएको थियो । जसमा जग्गाको मूल्यदेखि निर्माण तथा सञ्चालन खर्च र यात्रु ओसार्ने क्षमता आदि धेरै तथ्यहरूलाई आधार मानिएको थियो । भारतको हकमा ब्रोड गेजको सबै यन्त्र, डिब्बा आदि सबै भारतमै बनाउने भएकाले ब्रोड गेज केही सस्तो पर्ने देखिए तापनि हाम्रो हकमा ब्रोड गेज र स्ट्यान्डर्ड गेज दुवै प्रविधि बाहिरबाट ल्याउनुपर्ने भएको स्ट्यान्डर्ड गेज नै सस्तो पर्ने देखिन्छ।

संसारमा अहिले करिब १८० मेट्रोलाइनहरू सञ्चालनमा छन्, तीमध्ये ९५ प्रतिशतमा त स्ट्यान्डर्ड गेज प्रयोग गरिएको छ तथा अहिले बन्दै गरेका मेट्रोलाइनहरूमा ब्रोड गेज प्रयोग गरिएको भन्ने बाहिर आएको छैन । भारतमा करिब एक लाख एक्काइस हजार पाँच सय किमि जति रेलवे ट्रयाक छ । तीमध्ये करिब ६ हजार किमि जति मिटर गेज र साँघुरो गेजको रेल मार्ग छ भने गत दशकदेखि बनेका मेट्रो र केही उच्च गतिको रेलमार्गबाहेक सबैमा ब्रोड गेज नै छ । तैपनि हाल भारतमा निर्माण भइसकेका, निर्माणाधीन र अध्ययन हुँदै गरेका गरेर करिब ३० वटा जति मेट्रो ट्रेनहरूमा केही अपवादलाई छोडेर अधिकांशमा स्ट्यान्डर्ड गेज प्रयोग गरिएको छ । अहिले जापानको सहयोग र प्रविधिमा निर्माण हुँदै गरेको मुम्बई–अहमदाबाद रेलमार्गमा स्ट्यान्डर्ड गेज नै प्रयोग गरिएको छ, जसमा रेलको गति ३२० किमि प्रतिघन्टा छ । अहमदाबाददेखि गान्धीनगर, गुजरात रेलमार्गमा पनि स्ट्यान्डर्ड गेज प्रयोग गरिँदै छ । भारतले पनि अब निर्माण हुने रेलमार्ग कि त स्ट्यान्डर्ड गेज कि त स्ट्यान्डर्ड र ब्रोड दुवै प्रविधिको रेल सञ्चालन गर्न मिल्ने मिश्रित प्रविधि (डुअल गेज) अपनाउँदै छ । ब्रोड गेज भएका रेल मार्गलाई स्ट्यान्डर्ड गेजमा उन्नयन गर्नेबारे भारतमा ठूलो बहस चलिरहेको छ र बिस्तारै भारतले पनि ब्रोड गेजलाई प्रतिस्थापना गर्ने लक्षण देखिन्छ भन्दा हुन्छ।

लाखौँ किमि ब्रोड गेज भएको देश, ब्रोड गेज रेल सञ्चालनमा आत्मनिर्भर नै भएको देशले किन जापान, चीनजस्ता देशको प्राविधिक सहयोग लिएर स्ट्यान्डर्ड गेजमा रेल मार्ग बनाउँदै छ त ? हामीले यसको सही उत्तर खोज्नु जरुरी छ, हाम्रो सरकार र सम्बन्धित निकायहरूले । भइरहेको लाखौँ किमि ट्रयाक, त्यसका आधारभूत संरचना, आफ्नो क्षमता सबै छोडेर भारत स्ट्यान्डर्ड गेजको प्रयोगमा लाग्छ भने हामी जो शून्यबाट सुरु गरिरहेका छौँ, त्यही देशले किन पुरानो, सबैले छोडेको प्रविधि अपनाउने ? भारतीय (ब्रोड) गेजको डम्पिङ साइट भन्ने त होइन हाम्रो रेल मार्ग ? अहिले चीनमा २२ हजार किमि तीव्र गतिको रेलसहित १ लाख २७ हजार किमि रेलमार्ग छ जुन सबै स्ट्यान्डर्ड गेजमा छ । अहिले चीन विश्वमै उच्च दरमा रेल मार्ग विस्तार गर्ने देश हो, केही वर्षमै हजाराैँ किमि रेल मार्ग थपिँदै छ, चीनमा जुन स्ट्यान्डर्ड गेजमै हुनेछ । बेला बेलामा नेपालमा हुने चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणमा नेपालमा रेल मार्ग निर्माणका लागि प्रतिबद्धता आइसकेको अवस्थामा हामीले विश्वभर नै चलेको, उच्च प्रविधि प्रयोग गर्न मिल्ने स्ट्यान्डर्ड गेजमा नै प्रयोग ल्याउनुपर्छ।

अहिले निर्माण भइरहेको जयनगरबाट सुरु भएर जनकपुर हुँदै बर्दिबास र जोगबनीदेखि विराटनगरसम्मको निर्माणाधीन रेलमार्गमा ब्रोड गेज प्रयोग गरिएको छ । यी रेल मार्गहरू कुनै बेला रेल मार्गकै रूपमा चलेर बन्द भएका मार्ग हुन् र भारत नेपालको प्रमुख सहर स्थानीय रूपले जोडिन महत्वपूर्ण पनि छन् । यी बन्दै गरेका छोटा रेलमार्गलाई ब्रोड गेजमै चल्न दिएर वा मिश्रित गेजमा उन्नयन गरेर बाँकी अरू चर्चामा करिब २ हजार किमि रेलमार्ग स्ट्यान्डर्ड गेजमै बनाउनुपर्छ । ब्रोड गेजमा अहिले निर्माणलाई निरन्तरता दिने हो भने पछि स्ट्यान्डर्ड गेजमा लानैपर्ने हुँदै साह्रै ठूलो धनराशिको खर्च हुनेछ । यद्यपि भारतको सहयोग लिने बहाना वा अन्य कुनै बहानामा भारतको पुरानो प्रविधि ब्रोड गेज प्रयोग गर्न थाल्यौँ भने रेल मार्ग हाम्रा लागि सेतो हात्ती हुनेछ । त्यसकारण हाम्रो रेल विभाग र सरकारले बेलैमा सोचोस् र हालै भएको रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक सर्वेक्षण गर्ने सहमतिमा ‘ब्रोड गेज लाइन’ भन्ने कुरालाई तुरुन्त सच्चाउनुपर्छ । त्यस्तै यातायात क्षेत्र विशेष गरी आधुनिक रेल यातायात प्रयोग गर्नबाट हामी कम्तीमा पनि ५० वर्ष पछाडि धकलिनेछौँ।

(सिभिल इन्जिनियर)

प्रकाशित: १६ आश्विन २०७५ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App