७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

स्वीकारको अभाव नै प्रतिशोधको व्यवहार

परिस्थिति, घटना, वस्तु, राम्रो/नराम्रो र सफलता÷असफलता सबैलाई आफ्नो अर्थ नलगाइकन जे छ त्यहीरूपमा हेर्नु/स्वीकारको कला हो। कुनै पनि घटना र परिस्थितिमा आफ्नो कथा र आफ्नो अर्थ नलगाइकन जे हो त्यहीरूपमा हेर्नु र विरोध नगर्नु अर्थात घटना र परिस्थितिको बीचमा आफू नआउनु अनि वकालत नगर्नु स्वीकार हो। तर हामीलाई बानी परेको छ तर्क गर्ने, जिद्दी गर्ने, आफ्ना कुरालाई माथि पारेरै छाड्ने, आफ्नै निर्णयलाई मात्र मान्ने त्यसैले त जीवनमा गुनासो र प्रतिशोध पनि बढी नै हुने गर्छन्। हाम्रो जीवनमा हामीले अनुभूति गरेका छौँ जतिबेला हामी जस्तोसुकै परिस्थिति र घटनालाई सहज स्वीकार गर्छाैँ त्यतिबेला दुःख महसुस हुँदैन। जतिबेला परिस्थिति र घटनालाई सहज स्वीकार गर्न सक्दैनौँ, त्यतिबेला दुःखको अनुभूति हुने गर्छ। जीवनलाई शान्त र सुखी राख्ने हो अनि आनन्दमा जिउने हो भने स्वीकारको कला नजानी सुखै छैन।  

अध्यात्म उपनिषद्मा परमगुरू ओशोले व्याख्या गर्नुभएको छ– तिम्रो जीवनमा आइपरेका घटना र परिस्थितिलाई केवल साक्षी भएर अर्थात द्रष्टा, देख्नेवाला, गवाह भएर हेर तब मात्र जीवनप्रति राम्रो नराम्रो अर्थ लाग्दैन र हरेक परिस्थिति र घटनालाई तिमी स्वीकार्न सक्ने हुन्छौँ। सफलता÷असफलता, दुःख–सुख, राम्रो– नराम्रो यी सब हामीले लगाएका अर्थ हुन्। परिस्थिति जुनरूपमा अगाडि आए पनि तिनीहरू बितेरै जानेछन् स्थायी रहने छैनन्। हुन पनि अहिलेसम्म मानिसलाई आफू कमजोरी ठान्ने या बलवान, धनी या गरिब, सम्मानजनक या अपहेलित यी सब मनबाट उब्जाएका रोग र यी रोगको कारण कुनै पनि परिस्थितिलाई स्वीकार गर्न अर्थात यो परिस्थितिसँग खुसी हुन नसक्ने कारणले गर्दा आफूप्रति नै सन्तुष्ट हुन नसकेको पाइन्छ।  

आफूसँग सन्तुष्ट हुन नसक्नेले अरूलाई के खुसी प्रदान गर्ला ? धनी बन्यो धन्यवाद भाव छैन बरू अझै थप धनी बन्नु छ। पद धारण गर्यो धन्यवाद छैन बरू अझै माथि जानु छ। व्यापार गर्यो अरू बढाउनु छ। १–२ वटा देश घुम्यो अझै विश्व घुम्ने इच्छा जाग्छ। यस्तै–यस्तै जे गरेको छ अझै माथि जानु छ। अझै गर्नु छ, प्रगति र आत्मविकासविनाको मृगतृष्णारूपी इच्छाले कहिल्यै नछाड्ने र त्यो मेरो इच्छा हो, आवश्यकता होइन भनेर बुझ्ने कलाको विकास नहुँदा नै मानिस सन्तुष्ट बन्न सकेको छैन। सबैलाई लाग्छ, एकपछि अर्को गर्दै प्रगति नगर्ने हो भने त के काम ? हुन त हो सरसर्ती हेर्दा तर यसको गन्तव्य कहाँसम्म छ ? कहाँ गएर टुंगियो भने व्यक्ति खुसी हुन्छ ? वर्तमानमा कर्म गर्दै जे छ त्यसलाई स्वीकार गर्दै त्यसमा रमाउदै जीवनप्रति धन्य हुने कला जानेन भने जति कमाए पनि व्यक्ति खुसी हुन सक्दैन चाहे त्यो धन होस् या पद, सम्मान होस् या मानपदवी। न आफ्नो प्रगतिप्रति मानिस खुसी छ, न अरूको प्रगतिप्रति सम्मान व्यक्त गर्न सक्छ। न बितेका घटनाबाट पाठ सिक्छ न त भविष्यलाई सुखी देख्छ। केही कुरामा पनि स्वीकार अर्थात् तथा भाव जाग्न सकेको पाइँदैन। छोराछोरीले अहिले गरेको प्रगतिप्रति खुसी हुन छाडेर हिजो बिगारेका कुराको याद गर्छन्। परिवारमा हिजो गरेका सहयोग बिर्सेर आज नगरेको कुरा हेर्छन्। साथीसंगीले जे गरे हिजो त्यसप्रति धन्यवाद छैन आज गरेन भनेर सिकायत मात्र हुन्छ। सिकायत भाव नहटेसम्म तथा भाव प्रकट हुँदैन। भनिन्छ, मानिस भावुक हुन्छ अनि त पक्ष विपक्ष र सही गलत, दुःख–सुख अर्थ लगाइहाल्छ। यही भावुकताले धेरैजसो मानिसलाई कमजोर पनि बनाएको हुन्छ।  

आफ्नै कुरा माथि पार्नमा र आफूले सोचेको कुरा सही प्रमाणित गर्न लागिपर्छ र भनेजस्तो भएन भने दुःख मान्छ। तर तथाता भावले वैचारिक द्वन्द्वबाट पर लैजान्छ र जे छ त्यही देख्ने कलाको विकास गर्छ। समर्थगुरू सिद्धार्थ औलिया आफ्ना शिष्यलाई बताउनुहुन्छ– ‘स्वधर्मलाई जानेर वर्तमानमा जे छ त्यसलाई स्वीकार गर्नु नै साक्षी हो र कुनै पनि घटनाबाट सत्य ग्रहण गरेर विगतलाई स्वीकार गर्नु नै तथाता हो। अस्तित्व या परमात्माले जे गरेको छ त्यसलाई मंगलमय ठानेर भविष्यमा जे भए पनि स्वीकार गर्छु भन्ने भाव समर्पण हो।’ हामीलाई अनुभूति हुने गर्छ जुन घटना र परिस्थितिलाई हामी सहजै स्वीकार गर्छौँ त्यसले दुःखमा लग्दैन तर जुन–जुन घटना र परिस्थितिलाई हामी सहजै स्वीकार गर्न सक्दैनौँ ती घटनाले दुःखमा पुर्याइरहेका हुन्छन्। अनुकूलता–प्रतिकूलताको जोड नै जीवन हो। प्रतिकूलताबिनाको जीवन त जीवन नै हुँदैन त्यो त स्वचालित रोबोर्ट जस्तो बटन दबाएर चल्ने मेसिन जस्तो हुनेछ। अस्तित्वको सृष्टिमा अनुकूल र प्रतिकूल भन्ने नै छैन यो त हामीले बनाएको कथा हो। प्रतिकूलतामा पनि होशपूर्ण र जागरणपूर्ण अवस्थामा हामी रहन सक्छौँ कि सक्दैनौँ ? संसारमा मात्र सफलता देख्नेले अस्वीकार बढी महसुस गर्छ भने आफैँभित्र मस्ती लुट्न जान्नेले अस्वीकार भाव जगाउनै सक्दैन। मनको काम भाग्नु र भड्काउनु हो त्यो सकारात्मक विचारद्वारा होस् या नकारात्मक विचारद्वारा। विचार त विचार नै हो, त्यसैले द्रष्टा भएर विचारप्रति सहयोगी बनिदिनु र विचारको प्रभावमा नपरी साक्षीपूर्वक हेरेर अन्तरात्माको सुन्नु सम्यक स्वीकार हो।

स्वीकारभावको वृद्धिले नै सचेतनाको गहिराइमा। भौतिक विकाससँगै विकसित मभित्र एउटा त्यस्तो तत्व पनि छ जसले दर्शनको, दृष्टिको र द्रष्टा बनेर हेर्ने काम गरेको छ भन्ने कुरा जानेपछि तथाता भाव स्वतः घटित हुन्छ। जे भइरहेछ मैले हेरिरहेछु, देखिरहेछु, मैले कुनै वकालत गरेको छैन भन्ने भावको विकास हुनु नै तथाता भावको विकास हुनु हो। हामी सबै कुरा अरूकै देख्छौं तर आफ्नो भित्र के घटित भइरहेको छ देख्दैनौँ। त्यसैले आफ्नै किताब पढ्नु जरुरी छ। आफ्नो कुरा जान्नु जरुरी छ, आफ्नोबारे पढ्नु छ। स्वीकार भाव विकास भयो भने बाहिरका कुनै पनि घटनाले दुःख दिँदैनन्। यी बाहिरका सब चिज नश्वर छन्। भित्र जुन ज्ञान प्राप्त हुन्छ त्यो नै शास्वत हो। शास्वत के हो बुझेपछि सबै कुरा अनुभूतिको रूपमा रहन्छन्। सबैलाई आफ्नो स्वामित्वमा राख्न खोज्दा नै मानिसलाई दुःखको महसुस हुन्छ। साक्षी भाव वृद्धि भएपछि दृश्य सबै हराएर जान्छन् केवल द्रष्टा बाँकी रहन्छ। द्रष्टालाई सिकायत रहँदैन जे छ त्यही रूपमा हेर्छ। त्यसैले हाम्रो जीवनमा स्वीकार भाव विकास हुनु अति नै जरुरी छ जसले जीवनसँग सिकायत गर्दैन बरु जीवनलाई धन्य ठान्छ र पाएका कुरामा प्रेम र धन्यवाद व्यक्त गर्न सक्ने हुन्छ।  

राजनीतिमा सफल, उच्च ओहोदामा पुगेको व्यक्ति होस् या भौतिक सम्पत्ति र व्यापार व्यवसायमा सम्पन्नता हासिल गरेको व्यक्ति होस्, धार्मिक गुरु भएर ख्याति बटुलेको व्यक्ति होस् या राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरको नोकरी गरेर बाहिरी प्रसन्नता हासिल गरेको व्यक्ति होस् भित्रबाट सन्तुष्ट छैन भने उसले आर्जन गरेका सबै समृद्धि उसलाई नै कौडी बराबरको खोक्रो लाग्ने गरेको पाइएको छ। ऐन–मौकामा विशिष्ट व्यक्ति पनि जीवनभरको मरिमेटी भौतिक सम्पन्नताले खाली, खोक्रो र पछुताउमा लगेको व्यक्त गर्छन्। उनीहरूका आफ्नै किताबका पानाले यी बताइरहेका हुन्। जीवनमा महान् बन्ने उद्देश्यले मानिस बन्न भूलेका त छैनौँ हामी ? आफैँले आफैँलाई गर्ने प्रश्न हो यो। एक मिनेटले जीवन बदलिन सक्दैन तर एक मिनेट सचेत भएर सोचेर लिएको निर्णयले पूरा जीवन बदल्न सक्छ। 

प्रकाशित: १२ पुस २०७९ ००:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App