१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जापानबाट आइपुग्यो ३ लाख डोज खोप, कसले पाउँछन् ?

कोभ्याक्स परियोजनामार्फत जापान सरकारले नेपाललाई दिएको कोभिड १९ विरुद्धको खोप नेपाल आइपुगेको छ। जापान सरकारले अनुदानमा दिने भनिएको एस्ट्राजेनेकाको १६ लाख डोज मध्ये ३ लाख खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। जापानबाट प्राप्त भएकाे खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बताइएकाे छ। 

नेपालका लागि जापानका राजदूत किकूता यूताकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन्। बाँकी ५ लाख डोज खोप आइतबार नेपाल आइपुग्ने बताइएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै जापानी राजदुत यूताकाले उक्त खोप नेपालसँगको मित्रतालाई अझ प्रगाढ बनाउन जापानी जनताले पठाएको उपहार भएको बताए।  

उनले खोप नेपालसम्म ल्याउन सहयोग गरेकोमा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन, कोभ्याक्स, ग्याभी, संयुक्त राष्ट्रसंघीय बाल कोषलाई धन्यवाद दिएका छन्। देउवा  सरकारको कोभिडविरुद्धको खोप लगाउने अभियानलाई जापान सरकारले सक्दो सहयोग गर्ने पनि उनले बताए।

यसैगरि, शुक्रबार भूटानबाट पनि दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो। नेपालले खरिद गरेको खोप भारतले उपलब्ध नगराउँदा कोभिशिल्ड खोप लगाएका १४ लाख ५० हजार व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

जापान र भूटानबाट आएको खोप कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ। हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ। नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ। चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ। भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन।

यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ। यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ।

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरेको छ। खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो। पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्‍याइएको छ । काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्‍याइएको छ। उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए।

सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। यस्तै आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढेको छ। विसं २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको थियो। अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ व्यक्तिले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ ले पूर्णमात्रामा खोप लगाइसकेका छन्।

प्रकाशित: २३ श्रावण २०७८ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App