६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

२९ वर्षपछि बन्यो स्वास्थ्यचौकीको पक्की भवन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको छ।नगरपालिकाको ३८ लाख बजेटमा स्वास्थ्यचौकीको तीन कोठे पक्की भवन निर्माण गरिएको हो।

झण्डै वर्ष दिन लगाएर निर्माण गरिएको स्वास्थ्यचौकीको भवन सोमबार मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई र वडाध्यक्ष डिल्ली चाम्लिङले उद्घाटन गरेका छन्। झण्डै २९ वर्षअघि निर्माण गरिएको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्यचौकीको सेवा प्रवाह नयाँ भवनबाट सुरु गरिएको स्वास्थ्यचौकीका ईन्चार्ज हेल्थ असिस्टेन्ट सन्तोष भट्टराईले बताए। तीन कोठामध्ये एक कोठालाई ओपिडी, एक कोठालाई ड्रेसिङ, मातृ तथा शिशु हेरचाह कक्ष र अर्को कोठालाई औषधि वितरण कक्षका रुपमा प्रयोग सुरु गरिएको छ।

बिचको प्यासेजलाई भने सोधपुछ कक्षा तथा टिकट काट्ने ठाउँका रुपमा प्रयोगमा ल्याइएको छ। भवन निर्माण योजना अन्तरगत स्वास्थ्यचौकीलाई २ वटा बेड, ३ वटा दराज, २ वटा काठको टेबल, ४ वटा कुर्सी, ३ वटा लामो कुर्सी, टुल्स लगायतका सामान प्राप्त भएको हेल्थ असिस्टेन्ट भट्टराईले बताए।  

आठ आना मात्र जग्गा हुँदा स्वास्थ्यचौकीको थप भवन निर्माणको काम दशकौंदेखि अघि बढ्न सकेको थिएन। जग्गा अभाव हुँदा स्वास्थ्यचौकीको भवन निर्माणको कामअघि बढ्न नसकिरहेको अवस्थामा हेल्थ असिस्टेन्ट भट्टराईकै पहलमा २०७६ साल असोजमा स्वास्थ्यचौकीका लागि ५ रोपनीभन्दा बढी निःशुल्क जग्गा जुटाइएको थियो। पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्यचौकीलाई स्थानीय मोतीप्रसाद अधिकारी, गोबिन्द भण्डारी, लिलाप्रसाद भण्डारी र बोलनादेबी भण्डारीले ५ रोपनी २ आना जग्गा निःशुल्क प्रदान गरेपछि नयाँ भवन निर्माणको पहल थालिएको थियो।  

तत्कालिन गाविस अध्यक्षमा निर्वाचित राजकुमार राईको पहलमा निर्माण गरिएको तीन कोठे भवन जिर्ण हुँदा स्वास्थ्य सेवा प्रवाह कठिन भइरहेको थियो।  

जग्गादाता सहित ६ जनालाई सम्मान

स्वास्थ्यचौकीको नयाँ भवन उद्घाटनका क्रममा जग्गादाता सहित ६ जनालाई सम्मान गरिएको छ। स्वास्थ्यचौकीका लागि निःशुल्क जग्गा दिने मोतीप्रसाद अधिकारी, गोबिन्द भण्डारी, लिलाप्रसाद भण्डारी र बोलनादेबी भण्डारीलाई सम्मान गरिएको हो। कार्यक्रममा सम्झौता अनुसार स्वास्थ्यचौकीको भवन निर्माण गरेर हस्तान्तरण गर्ने उपभोक्ता समितिका अध्यक्ष जीवन राई र स्वास्थ्य चौकीको सुरुको संरचनाको अवस्थाका बारेमा समाचारमार्फत उजागर गरेकामा नागरिक दैनिकका पत्रकार दमन राईलाई पनि सम्मान गरिएको छ।

प्रकाशित: १८ श्रावण २०७८ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App