१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

आम्दानीको मुख्य स्रोत तरकारी खेती

अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन्।

यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन्। विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताए, ‘२०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गरे’, विगत सम्झिंदै उनले भने, ‘अहिले खेती विस्तार गर्दै १५ कठ्ठमा पुर्‍याएको छु।’

यहाँका किसानले दुई कठ्ठादेखि दुईतीन बिघासम्ममा तरकारी खेती गरिराखेको उनले बताए। ‘हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो’, उनले भने, ‘यसैको आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च व्यर्होछौं।’

डेढ दशकदेखि तरकारी खेतीमा लागेका सुदामा रानाले अन्य बालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती रोजेको बताए। ‘मेहेनत गर्न सके अन्य बालीको तुलनामा तीन गुणा बढी फाइदा हुन्छ’, उनले भने,‘ कहिलेकाहीं बजार समस्याले चुनौती थपिदिन्छ।’

भारतबाट आउने तरकारीले यहाँको स्थानीय उत्पादनमा समस्या गर्ने गरेको उनले गुनासो गरे।

त्यसैगरी तरकारी खेतीमा लागेकी मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताइन्। ‘बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ’ उनले भने, ‘हामीले विषादीरहित तरकारी उत्पादन गर्छौ, यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन्।’

उनले विभिन्न समस्याका बावजुद एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो बस्तीमा राना समुदायले घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याएका छन्। यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जानेको गरेको उनको भनाइ छ।

तरकारी खेतीमा लागेका कैलाशु राना पनि यसैबाट घरपरिवार चलेको बताउँछन्। ‘तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्छौँ, राम्रो फाइदा हुन्छ’ उनले भने, ‘तरकारीबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म फाइदा हुने गरेको छ।’

यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला छन्। पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरेर घरखर्च जोहो गर्ने गरेको उनीहरू बताउँछन्। गाउँमा उत्पादन गरेको तरकारी बैलगाडा, मोटरसाइकल र टाउकोमा बोकेर तरकारी बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन्। रासस

प्रकाशित: २० कार्तिक २०७९ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App