६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरालाई पर्यटकीय राजधानीको ‘ललीपप’!

राजधानीको ललीपप देखाइन्छ तर, दिइन्नः व्यवसायी

पर्यटकीय सहर पोखरा। फाइल तस्बिरः नागरिक

बोलीचालीको भाषामा पोखरालाई देशकै पर्यटकीय राजधानी भन्दै आइएको छ। पर्यटन व्यवसायीले पनि पोखरालाई पर्यटकीय राजधानी भन्दै देशविदेशमा बजारीकरण गर्दै आएका छन्। तर, सरकारले भने अझैसम्म पोखरालाई पर्यटकीय राजधानीको आधिकारीक मान्यता दिएको छैन। सरकारका मन्त्रीहरुले बेलाबेला पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अघि बढाएको आश्वासन दिँदै आएपनि मूर्तरुप भने पाएको छैन।

पछिल्लो समय पर्यटनमन्त्री बनेका जीवनराम श्रेष्ठले पनि पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिए। मन्त्री श्रेष्ठको मात्र आश्वासन मात्र होईन, यस्तै आश्वासन यसअघि पनि दिँइदै आइएको थियो।  

त्यसबाहेक संघ सरकारले मात्र नभई प्रदेश सरकार सहित पोखरा महानगरले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणाको माग गर्दै आएका छन्। गण्डकी प्रदेश सरकारले समेत पोखरालाई पर्यटकीय राजधानी बनाउन दोहोर्‍याएरै संघीय सरकारलाई अनुरोध गरिसकेको छ। गण्डकी प्रदेश सरकारको गत कात्तिक २९ गते बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय समेत गरेको थियो।  

त्यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गरेको थियो। सोहि निर्णय अनुसार संघ सरकारमा सिफारिस गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नसकिने भन्दै सो सिफारिस अस्वीकार गरेको थियो। डेढमहिना अघि मात्र निर्वाचित पोखरा महानगरका मेयर धनराज आचार्यले पनि पदभार ग्रहण गर्दै पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्ने गरि पहल गर्ने बताएका थिए।

व्यवसायीसहित पर्यटन सम्बद्ध विज्ञ र राजनीतिक नेताहरु त्था प्रदेश र स्थानीय सरकारले पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्र्नुपर्ने बताउँदै आएका छन्। तरपनि पोखरेली र गण्डकी प्रदेशका बासिन्दाको त्यो माग पुरा भएको छैन। आखिरमा पर्यटकीय राजधानी घोषणा गर्दा पोखरालाई के फाइदा पुग्छ त? पर्यटन व्यवसायी भन्छन्, ‘पर्यटकीय राजधानी घोषणा गर्दा फाईदै फाइदा हुन्छ। तर, घोषणामा मात्र सिमित भने हुनु हुँदैन। राजधानी घोषणासँगै गरिने कार्यक्रम र प्रवद्र्धनात्मक गतिविधि हुनुपर्छ।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन्, ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने र पर्यटनलाई फोकस गरेर पूर्वाधार बनाउने हो भने फाइदा पुग्छ। पर्यटकीय राजधानी घोषणा गरेपछि बजेटको प्राथमिकता पर्छ, व्यवसायिमा लगानीको माहोल बन्छ नयाँ लगानीसँगै पूर्वाधार थप गरिन्छन्। पर्यटन व्यवसाय सबैको प्राथमिकतामा पर्छ।’ नारामा मात्र सिमित नराखी वास्तविक काम गर्ने हो भने पोखरालाई फाइदा पुग्ने उनले बताए।  

बोर्डका अर्का पूर्व सदस्य बासु त्रिपाठी पनि पर्यटकीय राजधानी घोषणा गर्दा भाषणमा मात्र सिमित हुन नहुने बताउँछन। ‘राजधानी घोषणा गर्न सरकारलाई लगाउने र पर्यटनको राजधानीमा के हुनुपर्छ र के हुनुहुँदैन भनेर हेर्ने हो भने त्यसले राम्रो गर्छ। पर्यटकको वर्गीकरण सहित श्रोत बजारको खोजी हुन्छ। घोषणा गर्दा नेपालमा पर्यटक भित्रिने विभिन्न मुलुकसँग हवाई सञ्जाल बिस्तार हुन्छ।’  

उनका अनुसार राजधानी घोषणा गर्दा अन्तर्राष्ट्रिय बजारसम्म हवाई सञ्जाल बिस्तार हुन्छ। पर्यटन केन्द्रीत अन्तर्राष्ट्रिय उडानले पोखरालाई जोड्छ। पर्यटकीय सम्पदा संरक्षणमा बजेट दिइन्छ। पहुँचको स्थापनामा ध्यान दिइन्छ। पर्यटनको राजधानी बनेपछि आवास र व्यवसायिक क्षेत्र छुट्याइन्छ। उद्यमशिलता विकास गर्ने र नयाँ लगानीकर्ता भित्र्याउन पनि सघाउने उनले बताए। ‘पर्यटन क्षेत्रमै नयाँ लगानीकर्ता आउन सक्छ। गण्डकी प्रदेशमा लगानीको प्राथमिकता पर्यटन पर्छ,’ उनले भने। 

पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी पनि अहिलेसम्म पोखरालाई सबैले पर्यटकीय राजधानी भन्दै आएपनि औपचारिक घोषणा कतै नभएको बताउँछन्। ‘औपचारिक रुपमा कतै पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छैन, तर, जनजिब्रोमा भन्दै आइएको छ। व्यवसायिक हिसाबले अनौपचारिक रुपमा पोखरालाई राजधानीको रुपमा चिनाइएको हो,’ भण्डारी भन्छन्, ‘साँच्चै राजधानी घोषणा गर्दा पोखरालाई सरकारले दिएको महत्व बढ्छ। त्यही अनुसार पूर्वाधार थपिन्छन्। लगानी थपिने आधार तय हुन्छ। त्यो आधारमा पोखरा अब्बल पनि छ।’

राजधानी घोषणामा ढिलाई किन त?

पर्यटन व्यवसायी, गण्डकी प्रदेशका जिल्लाबाट राजनीति गर्ने नेताहरु, प्रदेश, संघ र स्थानीय तहका पदाधिकारी पनि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने बताउँदै आएका छन्। स्वयं विभागीय मन्त्रीहरु नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने पहल गर्न तयार रहेको बताउँछन। तर, पोखरालाई राजधानी घोषणा गर्न सकेका भने छैनन्। आखिर किन ढिलाई गरेको छ त? पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटा भन्छन्, ‘मन्त्री परिषदमा गएपछि बल्ल घोषणा हुने हो। त्यहाँसम्मको प्रक्रिया अघि बढ्यो वा बढेन भन्ने महत्वपूर्ण हुन्छ। त्यसमा चाँसो दिनुपर्छ।’ सापकोटाको अनुमानमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न संघीय राजधानी काठमाडौंले नचाहेको पनि हुनसक्छ। ‘पोखरालाई पर्यटकीय राजधानीको पहिचान दिन नचाहेको पनि हुनसक्छ । वर्षाैदेखि सबैले आश्वासन दिईरहेको विषय हो। तर, घोषणा भएको छैन,’ उनले भने, ‘ढिला हुनुमा आशंका गर्न सकिन्छ।’  

बोर्डकै अर्का सदस्य बासु त्रिपाठी पनि पोखरालाई पर्यटनको राजधानी बनाउने चाहना गण्डकी प्रदेशका बासिन्दाको मात्र रहेकोले पनि अरुले चाँसो नदिएको हुनसक्ने उनले बताए। ‘गण्डकीका बासिन्दाको पहुँच नभएर पनि हुनसक्छ। राजनीतिक पहुँच नपुगेकैले पनि पछाछि परेको हुनसक्छ,’ त्रिपाठीले भने, ‘पर्यटनको राजधानीको विषयमा पनि प्रदेशीबीच प्रतिश्पर्धा हुँदा ढिलाई भएको हुनसक्छ।’ प्रदेशबीच अनावश्यक प्रतिश्पर्धा भईरहँदा पनि ढिलाई भएको हुनसक्ने उनले बताए।  

‘गण्डकी प्रदेशमा जत्तिको पर्यटनको सम्भावना अन्यत्र छैन। तर, काठमाडौंको सहानूभुति कम भएको हुनसक्छ। योजनाकर्ताले चाहेका छन की छैनन् भन्ने पनि हो,’ त्रिपाठीले भने, ‘जुन महत्वका साथ नेताले पोखरालाई चिन्नुपर्ने हो, त्यो चिनेका छैनन, त्यसले गर्दा ढिला भएको हो।’ उनका अनुसार पोखरालाई राजधानी घोषणा गराउनमा काठमाडौंले सकेसम्म छेक्नेछ, किनकी हिजो पनि यस्तै अवस्था थियो, नसक्ने अवस्था आएपछि बल्ल काठमाडौंले पोखरासँग सहकार्य गर्न चाहन्छ।

पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पनि अरु क्षेत्र वा प्रदेशले दावा गर्दै पर्यटकीय राजधानी मागेको भए छलफल गर्नुपर्ने बताउँछन्। ‘पोखराको दावी गरे झै अरु प्रदेशले गरेको भए बहस गरौ, नत्र पोखरालाई मान्यता दिनुपर्छ,’ उनले भने, ‘हामीले लामो समयदेखि मागेको कुरा हो। यसमा टुंगो लगाउनुपर्छ।’ पर्यटकीय राजधानी बन्न पोखरा अब्बल रहेको उनले बताए। तर अहिलेसम्म पोखरालाई पर्यटकीय राजधानीको ललीपप मात्र देखाइएको उनले बताए।

राजधानी की पर्यटकीय सहर?  

पर्यटन सम्बन्धि एक जना जानकारका अनुसार दोहोरो ‘राजधानी’ घोषणा गर्ने चलन कतै छैन। तर, पर्यटकीय सहर वा पर्यटकीय केन्द्र भनेर घोषणा भने गर्न सक्ने उनले बताए। ‘मुलुकमा एउटा मात्र राजधानी हुन्छ। राजधानी बाहेकका अरू ठुला सहर व्यवसायिक रुपमा अब्बल हुन सक्छन,’ ती जानकार भन्छन, ‘पोखरालाई पर्यटकीय सहर घोषणा गर्न सक्छ, तर, पर्यटकीय राजधानी नभन्न सक्छ।’  

ती जानकारका अनुसार अन्तर्राष्ट्रिय अभ्यासमा पनि दोश्रो राजधानी कतै घोषणा गरिन्न। तर, व्यवसायिक महत्वका हिसाबले विशेष पहिचान भने दिलाउने चलन छ। ‘कुनैपनि देशको एउटा मात्र राजधानी हुन्छ। अरू सहरलाई महत्व र विशेषताको आधारमा भिन्दै पहिचान भने दिन सक्छ तर, दोश्रो राजधानी नै भन्ने अभ्यास कतै छैन,’ उनले भने, ‘सरकारले नै राजधानीको रुपमा चिनिन योग्य सहर भन्न सक्छ । राजधानी नै भनेर भन्दैन  बरु, पर्यटकीय केन्द्र भन्न सक्छ।’ पर्यटकीय सहर घोषणा गरेपनि प्रवद्र्धनात्मक रुपमा फाइदा हनुसक्ने उनले बताए।  

परिषद्का अध्यक्ष गोपी भट्टराई भने राजधानी नभई पर्यटकीय सहर हो भनेर मान्यता दिएमा पनि मान्य हुने बताउँछन्। ‘हामी पर्यटनमा अब्बल छौ। अहिलेसम्म पर्यटनको राजधानीको रुपमा ब्याख्या गरेका हौ। तर, राजधानी नै शब्दमा विवाद हो भने सहर भन्दा पनि फरक हुँदैन,’ उनले भने, ‘तर, यसमा पोखरा अब्बल छ। पोखराले लामो समयदेखि मागेको कुरा पनि हो।’  

प्रकाशित: २३ असार २०७९ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App