५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

मलमा ‘माल’ को खेल

समयमा रासायनिक मल नआउनुमा मन्त्रालय नै दोषी भएको भन्दै संसद्मा आलोचना भएको छ। विनियोजन विधेयकका विभिन्न शीर्षकअन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठकमा कृषि तथा पशुपन्छी मन्त्रालयको छलफलमा सांसदहरूले सरकारले समयमा मल नल्याउँदा किसानलाई मार परेको भन्दै यसतर्फ विशेष ध्यान दिन आग्रह गरे।

बर्खे खेती लगाउने समय सुरु भइसक्दा पनि मल नआउँदा किसान चिन्तित छन्। किसानको चिन्ता सांसदले सदनमा पोखेका हुन्। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सांसद गगन थापाले कृषि मन्त्रालय र त्यसको जिम्मेवारी लिएका मन्त्री र कर्मचारीका कारण नै रासायनिक मलको अभाव भएको बताए।

‘मन्त्रालयबाट वक्तव्य आउँछ तर मल आउँदैन, किसान रोएको फोटो मात्र आउँछ,’ उनले भने। सांसद थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर किसानलाई मलका कारण पर्ने मर्काबारे समयमै जानकारी गराएको पनि बताए। ‘प्रधानमन्त्रीले त्यहीबाट मन्त्रीलाई फोन गरेर भन्नुभएको पनि हो,’ उनले भने।

थापाका अनुसार चीनमा करिब प्रतिहेक्टर ३९४ केजी, भारतमा १२५ प्रतिहेक्टर र नेपालमा प्रतिहेक्टर ८७ केजी मल प्रयोग भइरहेको छ। ‘प्राविधिक रूपमा १२ लाख ९७ हजार मेट्रिक टन नेपालका लागि आवश्यक छ। अत्यावश्यक ५ लाख २० हजार हो,’ उनले भने। २ देखि ३ लाख रासायनिक मल जेठ र असारमा मात्रै आवश्यक पर्ने तथ्यांक सुनाउँदै थापाले कृषि मन्त्रालयले असार अन्त्यसम्म ल्याउने प्रतिबद्धता जनाए पनि मल नआउने दाबी गरे। १ लाख ९२ हजार मेट्रिक टन मल असार मसान्तसम्म आउने कृषि मन्त्रालयले जनाएको छ।

एमालेका सांसद योगेशकुमार भट्टराईले वर्षायाम सुरु भइसक्दा पनि किसानले मल पाउने अवस्था नरहेको भन्दै तत्काल व्यवस्था गर्न माग गरे। मल खोज्न भारत गएका कृषिमन्त्री अझै नआएको भन्दै उनले प्रश्न गरे, ‘मल नपाएर उहाँ नआउनुभएको हो ? उहाँ उतै निर्वासित हुनुभएको त होइन ?’ कृषिमन्त्री महेन्द्र राय यादव एक सातादेखि भारतमा छन्। उनले सरकारले मलसँगै ‘माल’ को आशा गरेको र त्यो नपाएको हुँदा समयमा मल नआएको आरोपसमेत लगाए।

‘मल आउँछ तर यो सरकारले ल्याउन खोजेको छैन। मलमा माल खोजिएको छ। जबसम्म माल आउँदैन तबसम्म मल आउँदैन,’ उनले भने, ‘हामीले मल खोजेका हौं, मालको पछि लाग्ने खोजेका होइनौं।’ सरकारले किसान पेन्सन कार्यक्रम जमिनदारलाई पोस्न ल्याएको आरोप पनि सांसल भट्टराईले लगाए। पेन्सन कार्यक्रममा सहभागी हुन किसानले पनि रकम जम्मा गर्नुपर्ने भनिएकाले गरिब तथा भूमिहीनका लागि असम्भव हुने उनले बताए।

‘त्यो रकम धनी र जमिनदार किसानले मात्रै जम्मा गर्न सक्छन्,’ उनले भने, ‘यसरी सरकारले पेन्सन कार्यक्रम जमिनदारलाई पोस्न ल्याएको हो।’ सरकारले किसानलाई पेन्सन दिने विषयले गर्दा कृषि मन्त्रालयले अहिले निकै चर्चा पाइरहेको तर किसानले कति वर्षपछि पेन्सन पाउने भन्ने स्पष्ट पार्न नसकेको उनले बताए। अहिलेसम्म किसानको वर्गीकरण र सूचीकरण नभएको स्पष्ट पार्दै उनले फाराम भर्ने क्रममा धनी, गरिब, भूमिहीन, सीमान्तकृत सबैले किसान नै लेख्ने गरेको उनको भनाइ थियो।

जमिनदारले पनि किसान लेख्ने गरेको चर्चा गर्दै उनले किसान पेन्सन कार्यक्रम कस्ता किसानलाई लक्षित गरेर ल्याइएको भनी प्रश्न गरे। यस्तो तरिकाबाट पेन्सन कार्यक्रम ल्याइए बाघ र बाख्रालाई एउटै खोरमा थुनेर बाघबाट बाख्राको संरक्षण खोजिएजस्तै हुने तर्क उनले गरे। किसानको सूचीकरण तथा वर्गीकरण गरेर मात्र सो कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले बजेटले किसानलाई उत्साहित बनाएको भन्दै कृषि उपज खपत र बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। लोसपाका सांसद उमाशंकर अरगरियाले बर्सेनि किसान मल नपाएर चिन्तित भएको बताउँदै यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे। सांसदहरूले कृषिसँग सम्बन्धित विषयमा सरकारले बजेटमा केही राम्रा योजना ल्याएको भए पनि त्यसको व्यावहारिक कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताए।

कांग्रेस सांसद डिला संग्रौलाले भारत सरकारसँग कूटनीतिक प्रयास गरेर रासायनिक मल ल्याउन सरकारसँग माग गरिन्। खेतीको याम सुरु भइसक्दा पनि सरकारले रासायनिक मलकै व्यवस्था मिलाउन नसकेको र गोदामहरू खाली भएको उनले बताइन्। उनले आगामी वर्षका लागि रासायनिक मलको बजेट झन्डै ५० प्रतिशतले घटाउनु उपयुक्त नभएको बताइन्।

बलात्कारीलाई कारबाही गर्न माग

बैठकमा बलात्कारजस्तो जघन्य अपराधीलाई कारबाही नभएको भन्दै सांसदले आपत्ति जनाएका छन्। एमाले सांसद आशाकुमारी विकले सुर्खेतमा सात वर्षीया बालिका ग्रीष्म विक चार दिनपछि मृत फेला परेको र बाँकेको खजुरामा जन्मदिन मनाउन गएकी किशोरीको सामूहिक बलात्कार भएको भन्दै जघन्य अपराध गर्ने दोषीलाई कारबाही नभएको भन्दै आपत्ति जनाइन्।

राष्ट्रियसभाका सांसदले पनि देशैभरि भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए। सांसद जयन्तीदेवी राईले दार्चुलामा एक महिलालाई जिउँदै जलाएर मारिएको घटनाप्रति भत्र्सना गर्दै दोषीउपर कारबाही गर्न माग गरिन्।

सांसद तुलप्रसाद विश्वकर्माले नवलपरासी–पूर्वमा पछिल्लो समयमा भएको जातीय भेदभाव तथा छुवाछुतको घटनालाई जबर्जस्ती मिलापत्र गरिएको भन्दै आपत्ति जनाए। सांसद नरबहादुर विष्टले सामाजिक सञ्जालमा महिला हिंसाका घटनाबारे भएका जथाभावी अश्लील भिडियो प्रसारण गर्ने व्यक्तिलाई कारबाहीको माग गरे।

‘कारबाही गर्नू’

सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गरेका छन्। बैठकमा सांसदले उठाएको मागप्रति सम्बोधन गर्न सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।

स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करिब तीन घन्टा मतदान रोकिएको थियो। सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकतालाई कुटपिट गरेका थिए।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा जेठ १४ मा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो। सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ। पछि उनी मृत भेटिएका थिए।

प्रकाशित: २६ जेष्ठ २०७९ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App