२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद् सधैँ बन्धक बन्न सक्दैन :सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताए।

उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए।

‘नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुन सक्ने वातावरण नभएमा अध्यादेशको बाटोबाट जानुपर्ने हुन्छ। यस्तो स्थिति आएमा लोकतन्त्रको मार्ग बलियो हुन सक्दैन’, सभामुख घिमिरेले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि समय मागिसक्नुभएको छ। यस्तो अवस्थामा सदन चल्ने वातावरण सृजनाका लागि सबै दल र स्वतन्त्रताका क्षेत्रमा काम गर्ने पत्रकारिताजगत्ले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ। उनले समानुपातिक प्रणालीकाका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्थाबीच राजनीतिक स्थायित्व र समृद्धिका लागि पत्रकारलाई कलम चलाउन सुझाव दिए।

नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मीनेन्द्र रिजालले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले जनताबाट निर्वाचितहरुले आफूले जे गरे पनि हुन्छ भन्ने दम्भ र निरङ्कुश भावनाले काम गरेमा लोकतन्त्रमा आघात पर्ने विश्व परिवेशका सन्दर्भ उल्लेख गर्दै व्यक्तिगत स्वतन्त्रलाई सम्मान गर्न नसकिए लोकतन्त्र सबल नहुने स्पष्ट गरे।

उनले मुलुकको विद्यमान अवस्थामा तात्विक सुधार नहुने हो भने नेपालको संविधान जोखिममा पर्न सक्नेतर्फ पत्रकारिताजगत् सचेत हुनुपर्ने बताए।

महासङ्घका पूर्वसभापतिहरु, वर्तमान सभापति विपुल पोखरेल र उक्त प्रदेश कमिटीका प्रथम अध्यक्ष शेखर अधिकारीलाई सम्मान गरिएको थियो। पत्रकारिताको सामयिक विमर्शका क्रममा वरिष्ठ पत्रकारहरु प्राध्यापक रामकृष्ण रेग्मी र युवराज घिमिरेले विचार प्रस्तुत गरेका थिए।

प्रकाशित: ५ जेष्ठ २०८१ १५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App