३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरामा आन्तरिक पाहुनालाई ३० प्रतिशत छुट

पोखराको लेकसाईड क्षेत्रमा वर्षेनी दुईवटा महोत्सव हुन्छन्। अंग्रेजी र नेपाली नयाँवर्षमा पर्यटन व्यवसायीका दुई फरक संस्थाले महोत्सव आयोजना गर्दै आएका छन्। अंगे्रजी नयाँवर्षमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसनले पोखरा सडक महोत्सव गर्दै आएको छ। होटल व्यवसायीको छाता सँस्था पश्चिमाञ्चल होटल संघले पनि नेपाली नयाँवर्षलाई भव्य बनाउने उद्देश्यसहित फेवा नववर्ष महोत्सव गर्दै आएको छ।  

कोभिडले थला परेको पर्यटनलाई नयाँ आयाम थप्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न होटल संघ यतिबेला ‘जाउँ है पोखरा’ अभियानमा छ। विभिन्न शहर बजार पुगेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने धुनमा संघ जुटेको छ। नयाँ वर्षमा आउने आन्तरिक पर्यटकलाई होटलमा छुट दिई आन्तरिक पर्यटन मार्फत थला परेको पर्यटन क्षेत्रलाई उकास्ने योजना व्यवसायीले बनाएका छन्। ‘फेवा नववर्ष महोत्सवमा आउने पाहुलाई होटलका कोठामा ३० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेका छौ,’ जाउँ है पोखरा अभियानमा जुटेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘छुटले आन्तरिक पर्यटन प्रवद्र्धनको अपेक्षा छ। आन्तरिक पर्यटन मार्फत पर्यटन क्षेत्रलाई पुनर्जागृत हुने विश्वास छ।’  

सरकारले नै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई प्रोत्साहित गरेको छ। सरकारी निर्णयले पर्यटन क्षेत्रमा नयाँ आयाम थपिए पनि कोभिड १९ ले आक्रान्त बनाईदिएको छ। पोखरा आन्तरिक पर्यटकको पहिलो रोजाईको गन्तव्य समेत हो। शुक्रबार पोखरा आउने र विदा मनाई फर्किने प्रवृत्ति बढ्दै गएको छ। आन्तरिक पर्यटककै कारण पर्यटन क्षेत्रले राहत महसुस गरेको भन्दै उनले विगतमा ५ प्रतिशत हाराहारीमा रहेको आन्तरिक पर्यटक आगमन अहिले पोखरामा ४० प्रतिशत पुगेको अध्यक्ष सुवेदीको भनाई थियो।  

दुई दशक अघि द्वन्द्वकालमा सुरु गरिएको जाउँ है पोखरा अभियानले सकारात्मक प्रभाव पारेको जनाउँदै अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले सधैं कोभिड १९ भनेर बस्नुभन्दा मारमा परेको पर्यटन व्यवसायलाई विस्तारै पुनर्जागृत गर्दै चलायमान बनाउने उद्देश्य अनुरुप आफूहरु प्रचारमा निस्किएको बताए। ‘विगतमा पनि छुट दिदैं आएका थियौं। सबै क्षेत्रले छुट दिएका छन। तर होटलले संस्थागत छुटको घोषणा गरेको हो,’ निवर्तमान अध्यक्ष तुलाचनले भने, ‘पर्यटन उत्थानको लागि छुट दिएका छौं। छुटले पर्यटक आगमनमा बढोत्तरी छ।’  

आवासमा दिईएको छुटले पोखरामा पर्यटकको बसाई केहीहदसम्म लम्ब्याएको छ। पोखरा र आसपासका क्षेत्रमा पर्यटनका पूर्वाधार बढेका छन्। संरचना बनेका छन । पोखरा र आसपासका क्षेत्रमा बनेका संरचनाले पोखरालाई मात्रै नभई वरपर जिल्लालाई समेत छुटले प्रवद्र्धन गरेको विश्वास उनको थियो। ‘पूर्वाधार बनेका छन् । संरचनाले पर्यटन वितरणमुखी भएको छ,’ उनले भने, ‘आन्तरिक पर्यटक नयाँ ठाँउमा टहल्ने प्रवृत्ति बढ्दा वितरणमुखी देखिएको हो।’  

पर्यटन प्रवद्र्धन गर्न होटल संघले बुटवल, हेटौडा चितवन र वीरगञ्जमा प्रवद्र्धन गरेर फर्किएको अध्यक्ष सुवेदीले बताए। ‘कोभिडले आक्रान्त बनाईएको पर्यटनलाई विभिन्न क्षेत्रले दिने छुटले प्रवद्र्धन हुने विश्वास छ,’ उनले भने, ‘नयाँ पूर्वाधार थपिएका छन्। होमस्टे छन्। जिल्ला तहमा पनि संरचना बनेका छन। थपिएको पूर्वाधारले पर्यटकलाई आकर्षण बनाएको छ।’ होटल संघले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न चलाएको जाँउ पोखरा अभियानले अन्य जिल्लामा समेत ‘जाँउ है घुम्न’ भन्ने सन्देश दिएको छ। एक ठाँउबाट अर्को ठाँउमा घुम्न जानुपर्छ भन्ने ध्येय नै जाँउ है पोखरा अभियानले दिएको उनको भनाई थियो। अध्यक्ष सुवेदीका अनुसार अभियानले घुम्न जानेको विकास भएको छ।

‘आन्तरिक पर्यटक नै दिगो पर्यटन हो,’ उनले भने–‘जाँउ है अभियानले आन्तरिक पर्यटकलाई एक ठाँउबाट अर्को ठाँउ घुम्न जानुपर्छ भन्ने दिएका हौं।’ होटल संघले आगामी चैत २९ गतेदेखि बैशाख १ गतेसम्म फेवा नव वर्ष महोत्सव गर्ने तयारी गरेको छ। संघका सल्लाहकार एबं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले जाउँ है पोखरा अभियानले नेपालीमा घुम्ने संस्कृतिको विकास गरेको र आपसी भाइचार अभिवृद्धि गरेको बताए। पोखरामा केबलकार, विशाल शिव मूर्ति, बन्जी जम्पिङ, जिपफ्लाइङ लगायतका नयाँ पर्यटकीय सम्पदाले आन्तरिक पर्यकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरे।  

प्रकाशित: १२ फाल्गुन २०७८ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App