३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

भिड व्यवस्थापन गर्न नसक्दा तरकारी बजार बन्द

ओखलढुंगा– कोरोनाको संक्रमण रोकथामका लागि नेपाल सरकारले देश लकडाउन गरेपछि पनि चार सातासम्म लाग्दै आएको ओखलढुंगाको तरकारी बजार बन्द गरिएको छ । बजारमा तरकारी किनमेलका लागि आउने व्यक्तिहरुको भिडलाई व्यवस्थापन गर्न नसक्दा हटियाँ बन्द गर्ने निर्णय गरिएको हो ।
    
सदरमुकाममा सातामा दुई दिन बुधबार र शनिबार लाग्दै आएको नियमित हाट बजार मानिसको धेरै भिड भएको र यसले कोरोनाको जोखिम बढाउने भन्दै शनिबारबाट पूर्णरुपमा तरकारी बजार बन्द गरिएको हो ।

कोरोनाको संक्रमण सुरु भएसँगै तरकारी बाहेक कपडा, खाद्यान्न लगायत अन्य सामानको हाटबजारमा बिक्री वितरणमा रोक लगाईएको भएपनि तरकारी बजारमा व्यवस्थापनमा चुनौती आएकाले बन्द गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।

तरकारी र खाद्यान्नको कारोबारका लागि मात्रै पनि सयौंको संख्यामा मानिसहरुको भिड लाग्न थालेपछि नगरपालिकाले शनिबारबाट कोरोनाको त्रास नघट्दासम्म बजार लाग्न नदिने निर्णय गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । अबका दिनहरुमा हाटबजार क्षेत्रमा तरकारी राखेर बेच्न नपाईने उनको भनाई छ ।

सातामा दुई दिन लाग्ने हाटमा स्थानीय किसानहरुले उत्पादन गरेका तरकारी बिक्रीका लागि राख्ने गरेका थिए । तरकारी बिक्री गर्ने र किन्ने मानिसहरुका लागि स्थानको रेखाङ्कन गरिएको भएपनि नियम पालना नहुँदा जोखिम बढेको थियो ।

बजारसम्म ल्याउने व्यवसायीले तरकारी र खाद्य सामाग्री माग अनुसार घरघरमै पुर्‍याएर सहयोग गर्न सक्ने नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला उदयपुरमा समेत कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै थप सतर्कताको लागि पनि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । लकडाउनका बेला बजारमा मानिसको चहल पहल बढेको भन्दै स्थानीयले हाटबजार पूर्णरुपमा बन्द गर्न माग गरेका थिए ।

प्रकाशित: ७ वैशाख २०७७ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App