९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराको प्याराग्लाइडिङ: ‘सोलो’ उडानका पाइलट आउनै छाडे

पोखरामा सोलो उडानमा रहेको प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक

हवाइ सेवाको एक मात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत असोज ३० देखि प्याराग्लाइडिङको (एकल) सोलो उडानमा रोक लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताए पनि दश महिना पुग्न लाग्दा पनि सोलो उडान अझै सुचारु भएको छैन। सोलो उडान संचालन नहुँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीले बताएका छन्।

असोज ३० गते मानवीय क्षति हुने गरी सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएपछि प्राधिकरणले पोखरा क्षेत्रको आकाश प्याराग्लाइडिङको व्यावसायिक उडानमा मात्र उपयोग गर्नुपर्ने गरी सोलोलाई प्रतिबन्ध लगाएको थियो। सोलो उडानका लागि व्यवसायीले माग गर्दा त्यो बेला नयाँ ठाउँ पहिचान गरेर मात्र उडान गर्न दिइने भने पनि अझै सुचारु भएको छैन। त्यतिन्जेल सराङकोटको आकाशबाट भइरहेको सबै खाले प्याराग्लाइडिङ उडान अहिले भने केही पश्चिमको मान्द्रेढुंगाबाट भइरहेको छ। अहिले मान्द्रेढुंगाबाट भइरहेको सबै उडान व्यावसायिक हो। व्यावसायिक उडानमा पाइलटसहित दुई जना (टेण्डम) उड्न पाउँछन्।

प्राधिकरणले सोलो उडानका लागि उपयुक्त ठाउँ तोक्ने जिम्मा प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)लाई दिएको थियो। ना ले पूर्व अध्यक्ष राजेश बमजनको अध्यक्षतामा अध्ययन टिम तयार पारेर सोलो उडानका लागि उपयुक्त ठाउँ सिफारिस गरेको थियो। अध्ययन समितिका संयोजक बमजनका अनुसार प्याराग्लाइडिङको हाल व्यावसायिक उडान भइरहेको मान्द्रेढुंगाबाट पश्चिमपट्टिको आकाश सोलो उडानका लागि उपयुक्त हुने ठहर गर्दै प्राधिकरणमा प्रतिवेदन बुझाएको भएपनि त्यसबारे यकिन निर्णय भइसकेको छैन।

उनका अनुसार हाल उडान भइरहेको मान्द्रेढुंगाबाट पश्चिमपट्टिको भागमा सोलो उडान गर्न सकिन्छ। मान्द्रेढुंगाको पश्चिमी भेग नौडाँडा, भदौरे, तामागि, पञ्चासे क्षेत्रबाट सोलो उडान गर्न सकिने भनेर समितिले प्रतिवेदन बुझाएको उनले बताए । ‘हामीले केही ठाउँ नै तोकेर सोलो उडान गर्न सकिनेबारे प्रतिवेदन बुझाएका छौ। तर, प्राधिकरणले त्यसबारे अझै यकिन निर्णय दिइसकेको छैन,’ उनले भने, ‘केही दिन अघि पनि सोलो उडानबारे प्राधिकरणमा छलफल भएको थियो। हामी आशावादी छौं की अबको केही समयभित्र प्राधिकरणले सोलो उडानका लागि ठाउँ दिनेछ।’

पोखराबाट नजिकको क्षेत्र भएकोले पनि सोलो उडानका लागि धेरै नै टाढा जान नसकेको उनले बताए। ‘प्याराग्लाइडिङ खेल पनि हो। पहिला खेल, त्यसपछि बल्ल व्यवसाय हो। तर, अहिले खेलका गतिविधि पनि ठप्प भए,’ बमजनले भने, ‘खेलाडीले अभ्यास समेत गर्न पाएनन्।’ इन्डोनेशियामा आयोजित १८ औं एशियाडमा नेपालले प्याराग्लाइडिङ क्रसकन्ट्रिमा नेपालले रजत जितेर इतिहास समेत रचेको थियो।

ठुलो खर्च गरेर प्याराग्लाइडिङ उड्न आउने प्रकृतिप्रेमी पर्यटक पनि अहिले आउन रोकिएको उनले बताए। प्रकृति  नियाल्न आउने भएकोले यो अवरोधले ती सोलो पाइलटको मन दुखेको उनले सुनाए । ‘पैसा खर्च गर्छु भन्दा पनि प्रतिबन्ध लगाएका छौं। सिजनमा २–३ सय जना यस्ता पाइलट पोखरा आउने गरेका थिए,’ उनले भने, ‘पर्यटनको सबै क्षेत्रले आम्दानी गुमाएको छ।’

प्याराग्लाइडिङ पाइलटहरुका अनुसार अक्टोवर र नोभेम्बरमा नेपाल प्याराग्लाइडिङ उडानका लागि सबैभन्दा राम्रो समय मानिन्छ। यो सिजनमा उड्नकै लागि भनेर विदेशीहरु ग्लाइडरको झोला बोकेर टाढाटाढादेखि आउँछन्। 

‘इतिहास बनाएको खेलको लागि अभ्यास समेत हुन पाएको छैन,’ उनले भने। त्यसबाहेक सोलो उडानका लागि आएका विदेशी पाइलट उड्नै नपाएको पनि उनले बताए। ‘सोलो उडानका लागि आएका विदेशी पाइलट उड्नै पाएनन्। लेकसाइडमा बस्ने र खाने सहजताका लागि पोखरा आसपासका ठाउँ सोलोका लागि तोकिदिएर उड्न दिने हो भने त्यसले पर्यटन क्षेत्रमा राहत मिल्थ्यो, तर, उड्न नै नपाएपछि समस्या परेको छ,’ उनले भने ‘प्राधिकरणको नियमन कमिटी नै आएर हामीले प्रस्ताव गरेको क्षेत्रको प्राविधिक अध्ययन गरेपछि बल्ल सोलोका लागि आकाश खुल्ने सम्भावना छ।’

उनका अनुसार सोलो उडान गर्नकै लागि भनेर वर्षमा करिब एक हजार विदेशी पाइलट पोखरामा आउने गर्दथे। पोखरामा उड्न नपाएपछि ती पाइलट आउनै छाडेको उनले सुनाए। सोलो उडानका लागि आउनले ती करिब एक हजार पर्यटक १५ दिनदेखि २ महिनासम्म पोखरामा बस्थे। तर, ती पर्यटक अहिले आउनै छाडेको उनले सुनाए।

‘सोलो उडान उनीहरु आउँदा पर्यटन चलायमान हुने गरेको थियो। खर्चालु पर्यटकको नेपाल आउने बाटो नै बन्द भयो,’ उनले भने, ‘कम्तीमा व्यावसायिक उडान नहुने ठाउँ हेरेर सोलोका लागि उड्न दिने हो भने त्यसले पर्यटन क्षेत्रमा सहयोग पुग्ने थियो।’

संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले पनि मान्द्रेढुंगाबाट पश्चिम भेगमा पर्ने तामागि, भदौरे क्षेत्रको आकाश सोलो उडानका लागि उपयुक्त हुने देखेर त्यही अनुसार प्राधिकरणमा प्रतिवेदन बुझाएको बताए। ‘झन्डै एक वर्षदेखि रोकिएको सोलो उडान अझै खुलेको छैन। यसले पर्यटनमा पनि मार परेको छ,’ भण्डारीले भने, ‘सोलो उडानका लागि आउने विदेशी रोकिए वा अन्यत्रै मोडिए। ती पर्यटक आउँदा सबै क्षेत्रको व्यवसायमा लाभ पुगेको थियो। तर, पर्यटक आउन नपाउँदा सबैलाई नोक्सान छ।’

अहिलेसम्म प्राधिकरणले सोलो उडानका लागि ठाउँ नखुलाएको र अबको सिजनसम्म सहज हुने अपेक्षा रहेको उनले बताए। ‘आएका पर्यटक पनि उड्न नपाई फर्केका छन्। यसले गर्दा पर्यटनमा नोक्सान परेको छ। यसै त थोरै संख्यामा मात्र पाहुना आएका छन्, त्यसमा पनि सोलो पाइलट रोकिँदा नोक्सान छ,’ उनले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले पनि अहिलेसम्म सोलो उडान बन्द नै रहेको बताए। यो बेला अफसिजन भएकोले खुला गरे पनि उडान हुन नसक्ने भएकोले अबको सिजनसम्म पर्खेको उनले बताए। ‘यो बेला अफसिजन हो। अहिले उड्ने मान्छे पनि छैनन्। अबको सिजनसम्म कुनै एउटा निर्णय हुनेछ,’ निरौलाले भने, ‘सिजनको बेलामा कसरी र कुन ठाउँमा सोलो उडान गर्ने भन्ने बारेमा पूर्नबिचार हुनसक्छ। तर, अहिले नै भइसकेको छैन।’

प्रकाशित: १६ श्रावण २०८० ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App