७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ

मुक्तक

 १.मुक्तक

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ,

आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ।

छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन,

मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।

 २.मुक्तक

शृङ्गारका साधनहरूमा चुराले कति अर्थ राख्छ,

पीडामा परेको मान्छेलाई सुराले कति अर्थ राख्छ।

नपत्याए सोध्नुस् त आकाशमा उडेका जोडी ढुकुरलाई,

निकट सम्बन्धमा ससाना कुराले कति अर्थ राख्छ?

 ३.मुक्तक

मलाई तिमीले दिएका हरेक ऊर्जा र आत्मबल प्यारो लाग्छ,

तिमी छौ र त, जिन्दगीका प्रेमिल पल, प्रतिपल प्यारो लाग्छ।

तिमीलाई सम्बोधन गर्न मसँग कुनै शब्द छैनन् साँच्चै गरिब छु,

त्यसैले त अचेल  तिम्रो प्रेम मिसिएको गजल प्यारो लाग्छ।

 ४.मुक्तक

आँखामा प्यारको प्रचारप्रसार हुन थालेपछि,

नजरको वाणले बेस्सरी प्रहार हुन थालेपछि।

हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल,

नसानसा यादको झंकार हुन थालेपछि।

 ५.मुक्तक

जिन्दगी कहिले पहाडजस्तो, कहिले खोलाजस्तो लाग्छ,

कहिले खुसीहरू चुहिने, थोत्रो झोलाजस्तो लाग्छ।

जिन्दगीलाई तिमी, फूल भन्छौ, कहिले जून भन्छौ,

सोच्छु, कहिले होइन जस्तो, कहिले होला जस्तो लाग्छ।  

प्रकाशित: ६ फाल्गुन २०७९ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App