१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नवौं खेलकुदमा ३६ खेल समावेश हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३६ मध्ये २३ खेलले चीनको हान्जाउमा हुने १९औं एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा तीन वर्षपछि शुक्रबार बसेको राखेपको १ सय १२औं बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका ३६ खेलबाट २३ खेलले चीनमा हुने प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो। एसियन गेम्स भदौ २५ देखि असोज ९ गतेसम्म हुँदै छ।

तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक सम्पन्न भएको हो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो।

युवा तथा खेलकुदमन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजनासँगै १९औं एसियाली खेलकदमा सहभागी हुने खेलको पनि टुङ्गो लगाएको हो। यसका अलावा बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयसमेत गरेको छ।

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुदलाई वर्षाले प्रभावित नगर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बताएका छन्।

‘प्रतियोगिता आयोजना गर्नका लागि अहिलेको अवस्थामा पनि ढिला भइसकेको छ। समय र तालिकाअनुसार हेर्दा अहिले दशौं राष्ट्रिय खेलकुद हुनुपर्ने हो,’ सदस्यसचिव घिसिङले भने, ‘अब कुनै पनि वहानमा प्रतियोगिता रोकिनु हुन्न। छोटो समयमा प्रतियोगिता गर्नु छ। वर्षाले प्रभावित हुँदैन।’

उता १९औं एसियन गेम्सको निर्णयबारे जानकारी दिँदै सदस्यसचिव घिसिङले बजेट अभावले आसन्न एसियन गेम्सको तयारी नरोकिने बताएका छन्। नवौं राष्ट्रिय खेलकुदमा समावेश भएका ३६ खेलमध्ये २३ खेलले प्रतिस्पर्धा गर्न पाउने हुँदा भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन पनि समावेश गरिने भएको छ। सेन्ट्रल जोन जितेको आधारमा महिला भलिबललाई समावेश गर्न लागिएको राखेपले जनाएको छ।

यस्तै ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी–२० विश्वकप खेलेको आधारमा क्रिकेट समावेश गर्न लागिएको हो। नेपालले ८ वर्षपछि एसियन गेम्समा क्रिकेटमा प्रतिस्पर्धा गर्ने भएको हो।

त्यस्तै जेठ अन्तिम साता गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउनेछ। नयाँ ऐनअनुसार कार्यान्वयन आवश्यक भएकाले बृहत् राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउने भएकाले पहिले जस्तो छनोट प्रक्रिया जटिल नहुने र बैठकमा आमन्त्रित पदाधिकारीहरू प्रतियोगिता गर्न उत्साहित भएको सदस्यसचिव घिसिङले थपे।

‘प्रदेश खेलकुद परिषद् नभएका प्रदेशमा खेलकुद हेर्ने मन्त्रालयले जिम्मेवारी लिनेछन्,’ घिसिङले भने, ‘हामीले छनोटको डेटलाइन तोक्न मिल्दैन तर जेठ १० गतेसम्म सबै प्रदेशले खेलाडी र टिम दर्ता गरिसक्नुपर्छ। खेलाडी छनोटका लागि हामीले सबै प्रदेशलाई बजेट सहयोग गर्नेछौं।’

नवौं खेलकुदमा सात प्रदेश र चार विभागीय गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा राखेपले ६८ सय खेलाडी समावेश हुने बताएको छ। यस्तै १ हजार प्रशिक्षक खटिँदा ५ सय व्यवस्थापक, संघीय प्रतिनिधि १ सय १४ र निर्णायक १ हजार हुने अनुमान गरिएको छ।

राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल

क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खो खो, कराते, जिम्नास्टिक, कबड्डी, पौडी, ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, फुल कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाकटाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, रग्बी र प्याराग्लाइडिङ। छेलो र क्यानोइङ (प्रदर्शनी खेल)।

१९औं एसियाली खेलकुदमा समावेश खेल

तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी (महिला), फेन्सिङ, ह्यान्डबल (महिला), टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन।

प्रकाशित: १० वैशाख २०७९ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App