६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

युवा प्रशिक्षक बानियाँलाई भलिबल प्रशिक्षणमा भ्याइनभ्याई

भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित म्याग्दीका तेजेन्द्र बानियाँले बागलुङको काठेखोला गाउँपालिका वडा नं ७ नुन्थलामा १ महिने भलिबल प्रशिक्षण दिए। राष्ट्रिय खेल भलिबल खेलमा आकर्षित युवालाई भलिबल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदको विकासमा लगाउने उद्देश्यका साथ आयोजित प्रशिक्षणमा ४० युवाको सहभागिता थियो। प्रशिक्षणमा सहभागी युवा खेलाडीलाई प्रशिक्षक बानियाँले शारीरिक व्यायाम, भलिबलका आधारभूत सिपहरु, फिङगर, डिक, डिफेन्स, ब्लक, सेटिङ्क, स्पाइकर, ग्रीप, जस्ता अभ्यास गराए। गाउँघरमा आफ्नै तरिकाले भलिबल खेल्ने खेलाडीलाई प्रशिक्षक बानियाँले खेलको मापदण्ड, शैली मात्रै सिकाएनन, व्यवसायीक खेलाडीलाई आवश्यक पर्ने सीप समेत हस्तान्तरण गरे।

पहिलोपटक भलिबल प्रशिक्षणमा सहभागी खेलाडीलाई समापनमा प्रमाणपत्र वितरणसँगै प्रशिक्षण निकै उपलब्धीमुलक भएको महसुस गराउन प्रशिक्षक बानियाँ सफल भएका छन्। एकबर्ष अगाडि बागलुङ नगरपालिका–७, तितौरेमा समेत बानियाँले एक महिने प्रशिक्षणमार्फत ४० भन्दा बढी खेलाडीलाई सीप हस्तान्तरण गरेका थिए। सन् २०१९ मा भारतको बैंगलोरबाट भलिबल प्रशिक्षक कोर्समा उत्कृष्ट नतिजासँगै जिल्ला फर्किएका बानियाँले म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की सहित देशभरका २० स्थानमा पुगेर प्रशिक्षण दिएका छन्। यो अवधिमा उनले नेपाली सेनाको श्रीबक्स गुल्म, विरदल गढ रौतहट, श्री मेहर गढ बागलुङमा कार्यरत नेपाली सेनालाई समेत भलिबल प्रशिक्षण दिएका छन्। खेलाडीमैत्री प्रशिक्षकै कारण बानियाँ नयाँ र भलिबलमा रुची भएकाको रोजाईमा पर्ने गरेका छन्। ‘अधिकांश गाउँबस्तीमा नियमित जस्तै भलिबल खेलिन्छ, ‘गाउँका खेलाडीको पहिचानमा समेत प्रशिक्षणले सघाएको छ’ प्रशिक्षक बानियाँले भने।

उनले युवा पुस्तालाई भलिबलमा आकर्षित गर्न तथा राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि बस्ती–बस्तीमा प्रशिक्षण आवश्यकता रहेको उनले बताए। राष्ट्रिय खेल भएपनि राज्यका निकायबाट ध्यान नदिदाँ ग्रामिण क्षेत्रमा भेटिएका उत्कृष्ट प्रतिभाले समेत क्षेत्रीय तथा राष्ट्रियस्तरको खेलबाट बन्चित हुनुपरेको उनले बताए। युवा क्लबहरूमार्फत प्रतियोगिता हुने भएपनि प्रशिक्षण र सीप हस्तान्तरणको अभाव रहेको बताए। उनले गण्डकी प्रदेशबाट राष्ट्रियस्तरको खेलका साथै खेलाडीको आवश्यकता परेमा ब्याकअप खेलाडीको आवश्यकता रहेकाले प्रशिक्षणमा मुख्यगरी प्रतिभाको पहिचानमा जुटेको बताए। वडास्तरमै खेलाडी उत्पादनमा पछिल्लो समय स्थानीय तहको लगानीले समेत सहज भएको प्रशिक्षक बानियाँको भनाई छ। 

म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित भलिबल क्षेत्रमा जिल्लामै सबैभन्दा धेरै उपाधी जित्ने काउलेगौडा युवा क्लबका संस्थापक अध्यक्ष समेत रहेका बानियाँले भलिबल प्रशिक्षणमा गरिएको लगानी खेर नगएको बताए। उनले हरेक स्थानीय तहमा रहेका भलिबल खेलाडी आवद्ध क्लबलाई लगानी तथा खेलाडीको बर्गिकरण गरेमा क्षेत्रीय तथा राष्ट्रिय टिममा आउन चाहने व्यवसायिक खेलाडीलाई सहज हुने बताए। प्रशिक्षक बानियाँलाई पछिल्लो समय विभिन्न वडाबाट समेत प्रशिक्षणको माग आइरहेको छ। गण्डकी प्रदेशबाट ८ औं राष्ट्रिय भलिबलमा सहायक प्रशिक्षक भएर सहभागी समेत भएका बानियाँ भलिबल खेलाडीबाट प्रशिक्षण भएकाले आफ्नो प्रशिक्षणको सीप तथा खेल अनुभव समेत सजिलै हस्तान्तरण गर्ने भएकाले खेलाडीलाई सहज भएको सहभागीको भनाई छ।  

खेलाडी उत्पादनमा वडाको लगानी  

काठेखोला गाउँपालिका वडा नं ७ वडा कार्यालयको २ लाख आर्थिक सहयोगमा रेश नुन्थलामा १ महिने भलिबल प्रशिक्षण कार्यक्रम माघ १८ गतेदेखि सञ्चालन गरिएको थियो। उक्त प्रशिक्षण मंगलबार सम्पन्न भएपछि बानियाँलाई भव्य बिदाई गरिएको छ। प्रशिक्षण समापन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले सक्षम र दक्ष खेलाडी उत्पादन गरी खेललाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रशिक्षण सहयोगी हुने बताए।

शिक्षा जस्तै खेलकूदको पनि युवाहरुको समग्र विकासका लागि आवश्यकता हुने चर्चा गर्दै अध्यक्ष थापाले खेलाडीहरु समाज रुपान्तरणका लागि सहयोगी हुने भएकाले उनीहरुलाई सीप, दक्षतासंगै अनुशासन आवश्यक हुने धारणा राखे। स्थानीय निर्वाचनका क्रममा काठेखोलाका ८ वडालाई ८ विशेष क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएर घोषणापत्र जारी गरेको भन्दै अध्यक्ष थापाले आफूहरुको प्रतिवद्धता अनुसार रेशलाई खेलकुदको हव बनाउन पालिका सदैव तयार रहेको बताए।

प्रकाशित: १७ फाल्गुन २०७८ १७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App