११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

फ्रेन्डसिप तेक्वान्दोका लागि खेलाडी छनोट

दक्षिण कोरियामा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि आइतबार ६ खेलाडी छनोट भएका छन्।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजनामा सम्पन्न चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगितामा च्याम्पियन हुँदै ग्योरोगीमा चार र पुम्सेमा दुई गरी ६ खेलाडीले दक्षिण कोरियाको यात्रा तय गरेका हुन्।

आगामी अगस्ट २३ देखि २४ तारिखसम्म सिओलमा उक्त प्रतियोगिता हुँदै छ। ग्योरोगीमा एनटिएका सुवासचन्द्र बोहरा, कोटेश्वर तेक्वान्दो डोजाङका एलिस ठकुरी र इशिका राणा तथा चन्द्रागिरिकी सलिना धामी गरी कुल चार खेलाडी छनोट भए।

छनोटसँगै ६ खेलाडीले जनही ५० हजार रूपैयाँ नगद पुरस्कार पनि प्राप्त गरे। एकल पुम्से पुरुषमा एनटिएका भिजन तामाङ र महिलामा कोटेश्वरकी सन्ध्या लामा गरी दुई खेलाडी छनोट भए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न प्रतियोगितामा ग्योरोगीको पुरुष ६३–६८ केजीमा एनटिएका सुवासचन्द्र बोहरा पहिलो भए। उनले फाइनलमा एनटिएकै आयुश ढुंगेललाई हराए।

पुरुष ५४–५८ केजीमा कोटेश्वरका एलिस ठकुरी फाइनलमा आफ्नै डोजाङका मानदेव भाट क्षेत्रीलाई हराउँदै पहिलो भए।  

महिला ४६–४९ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङकी इशिकाले स्वर्ण जितिन्। इशिकाले चन्द्रागिरिकी सुमित्रा बलामीलाई पराजित गरिन्। महिलाको ५३–५७ केजीमा चन्द्रागिरिकी सलिना धामी पहिलो भइन्।

सलिनाले फाइनलमा चन्द्रागिरिकै रचना कुमाललाई पन्छाइन्। एकल पुम्सेको पुरुषमा एनटिएका भिजन ताामाङ तथा महिलामा कोटेश्वरकी सन्ध्या लामा पहिलो हुँदै छनोट भए।

जुनियर विधातर्फ भने चन्द्रागिरिका संगम थापामगर र सौरभ मल्ल ठकुरीले स्वर्ण जितेका छन्। ग्योरोगीतर्पm चन्द्रागिरिका संगमले पुरुष ३१ केजी तौलसमूह र सौरभले पुरुष २८ केजी तौलसमूहमा स्वर्ण जिते।  

संगमले फाइनलमा पर्वतका प्रसन थापालाई हराए। सौरभले भने फाइनलमा धुलिखेलका रिजन शिवभक्तलाई पराजित गरे। यो तौलसमूहमा नेसनल तेक्वान्दो एकेडेमीका अर्थ कुँइकेल र रोज तितुङले कांस्य पदक जिते।

पुरुषकै २२ केजी तौलसमूहमा सिन्धुपाल्चोकका कुशल नेपाली र २५ केजी तौलसमूहमा ककनीका सुवास तामाङले स्वर्ण पदक जिते। फाइनलमा कुशलले कोटेश्वर डोजाङका अनमोल केसीलाई हराए।  

यसै तौलमा प्रान्जलीका अंकितबाबु अधिकारी र हिमाल पाण्डेले कांस्य पदक जिते। सुवासले भने फाइनलमा नेसनल तेक्वान्दो एकेडेमीका आहन तामाङलाई पराजित गरे। प्रकाशशमशेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले यो प्रतियोगिता खेलेमा खेलाडीलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

सोही कारण विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफका खेलाडीले भने यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएनन्। यद्यपि, प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको यस प्रतियोगितामा देशभरबाट करिब ६ सय खेलाडीले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गरे।

महिला जुनियर ३१ केजी तौलसमूहमा चन्द्रागिरिकी सेजल रोक्काले फाइनलमा पर्वतकी कृतिका थापालाई हराउँदै स्वर्ण जितिन्। यसै तौलमा कञ्चनपुरकी पूजा सार्की र नवजीवनकी रोशनी आचार्यले कास्ंय पदक जिते।

जुनियर महिला २८ केजीमा सुदूरपश्चिमकी दीपिका थापा र २५ केजीमा चन्द्रागिरिकी नेओमी महर्जन स्वर्ण पदक जित्न सफल भए। फाइनलमा दीपिकाले दोलखाकी अर्पना कुमाल र नेओमीले चन्द्रागिरीकै मारिया तामाङलाई हराए। दीपिकाको तौलसमूहमा नेसनल तेक्वान्दो एकेडेमीकी श्वेनी लामा र बैभारी सापकोटाले कांस्य पदक जिते।

२५ केजीमा भने छेत्रपालकी रोनिता पाण्डे र प्राञ्जलीकी सीता मुनिकारले कांस्य पदक जिते। जुनियर महिला २२ केजीमा नेसनल तेक्वान्दो एकेडेमी (एनटिए) की पुनम घिमिरेले पर्वतकी ट्विन्कल मल्ललाई हराउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाइन्। यसै विधामा चन्द्रागिरिकी लियाना आले मगर र मुस्कान सेवाकी देविका आलेमगरले कांस्य पदक जिते।

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) च्याम्पियन टिम च्याम्पियन बन्यो। एनटिएले ११ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो। दोस्रो भएको कोटेश्वरले ९ स्वर्ण, ४ रजत र ३ कांस्य हात पार्‍यो। तेस्रो स्थानमा चित्त बुझाएको चन्द्रागिरिले ८ स्वर्ण, ६ रजत र ८ कांस्य प्राप्त गर्‍यो।

शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाए। प्रतियोगिताको प्रशिक्षकमा मोतीलाल लामा तथा निर्णायकमा शारदा धिमाल उत्कृष्ट भए। दुवैले जनही १० हजार नगद पुरस्कार पाए।

प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष-महिलामा समान ६÷६ गरी कुल १२ स्पर्धा भएको नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे।

प्रकाशित: ३ वैशाख २०८१ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App