१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

आहा–रारा पोखरा गोल्डकपः उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

पोखरामा आयोजना हुने आहारारा गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक सहारा क्लवका पदाधिकारी। तस्बिरः उमेश पुन

पोखराको प्रतिष्ठित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिको तयारी अन्तिम चरणमा पुगेको छ। सहारा क्लव पोखराको आयोजनामा आगामि मंगलबारदेखि २० गतेसम्म चल्ने प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा र थ्रीस्टार क्लव भिड्ने भएका छन्। प्रतियोगिता अन्तर्गत माघ १० गते नेपाली सेनाको त्रिभूवन आर्मी क्लवबिरुद्ध राईजिङ स्टार फुटबल क्लव, माघ ११ गते मच्छिन्द्र क्लवबिरुद्ध जाउलाखेल युथ क्लव र माघ १२ गते सशस्त्र प्रहरी बलको एपिएफ क्लवबिरुद्ध नेपाल पुलिस क्लव आमनेसामने हुने प्रतियोगिता संयोजक तथा सहारा क्लव पोखराका बरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए।

प्रतियोगितामा माघ १३ गतेदेखि १६ गतेसम्म क्वाटरफाइनल खेलहरु सञ्चालन हुनेछन् भने माघ १७ र १८ गते सेमीफाइनल तथा माघ २० गते फाइनल खेल हुने उनले बताए। प्रतियोगितामा यसवर्ष एक विदेशी, तीन विभागीयसहित नौ वटा ए डिभिजन क्लव, आयोजक र मोफसलको एक गरेर १२ टीम सहभागि हुने आयोजकले बताएको छ। प्रतियोगितामा विभागीय टोलीहरु नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपिएफ क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव तथा ए डिभिजन क्लवहरु जाउलाखेल युथ क्लव, मनाङमस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, मच्छिन्द्र क्लव, संकटा क्लव र चर्च व्वाईज युनाइटेड फुटबल क्लव सहभागि हुँदैछन्।

प्रतियोगितामा यसअघि दुई विदेशी टीम आउने भनिएपनि अन्ततः एक टिममात्र सहभागि हुने भएको छ। प्रतियोगितामा यसवर्ष पारो फुटबल क्लव भुटानले सहभागिता जनाउँदैछ। दिल्ली फुटबल क्लव आउने भनिएपनि अन्तिम समयमा सो क्लवले आउन नसक्ने जानकारी गराएको क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए। पारो फुटबल क्लव भुटानको प्रिमियर लिग च्याम्पीयन क्लव भएको आयोजक सहारा क्लवको दाबी छ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा–रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उपाधि बिजेताले नगद १२ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ। त्यस्तै, उपबिजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। उत्कृष्ट पाँच विधा र हरेक दिनको म्यान अफ दी म्याच ट्रफी र नगद पुरस्कार सहारा युकेले प्रायोजन गर्ने जनाइएको छ।

प्रतियोगिता अवलोकनका लागि प्रि–क्वाटर र क्वाटरफाइनल खेलका लागि साधारणतर्फ एक सय र भिआइपीतर्फ २ सय रुपैयाँ निर्धारण गरिएको छ भने सेमीफाइनलमा साधारणतर्फ २ सय र भिआइपीतर्फ ४ सय तथा फाइनलमा साधारणतर्फ ३ सय भिआइपीतर्फ ५ सय रुपैयाँ कायम गरिएको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न १ करोड ४९ लाख ३ हजार लाग्ने आयोजकले अनुमान गरेको छ। प्रतियोगिताबाट १ करोड ८६ लाख ७५ हजार आम्दानी गरेर ३७ लाख ७२ हजार बचत गर्ने लक्ष्य लिइएको महासचिव अधिकारीले बताए।

२०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको प्रतियोगिताको यस वर्षको संस्करणलाई पनि हिमश्री फुड्स प्रालिको उत्पादन आहा र रारा चाउचाउले मुख्य प्रायोजन गरेको छ। प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गरिने जनाइएको छ। पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल ८ जिल्लाका १४ जना असहायः बालकहरु आश्रित छन्। उनीहरुलाई शिक्षा, दीक्षा, खेलकुद प्रशिक्षणलगायत निःशुल्क रुपमा गरिदै आएको छ।

प्रकाशित: ७ माघ २०८० ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App