९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

भट्टराई स्मृति कराते माघ १८ देखि

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करण माघ १८ गतेदेखि हुने भएको छ।

नेपाल सितोरियो कराते संघ जिल्ला प्रमुख डोजो लगनखेलको आयोजनामा आगामी माघ १८ देखि प्रतियोगिता हुन लागेको हो। मंगलबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, एपिएफ क्लब र सात प्रदेश गरी कुल १० टोलीका दुई सय १० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीले २१ खेलाडी सहभागी गराउन पाउनेछन्। एकल र टिम कातासहित पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धमा खेल हुनेछ।

टिम च्याम्पियनले एक लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन्। पुरुष÷महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।

सोही पत्रकार सम्मेलनमा आयोजक र गोदावरी नगरपालिकाबीच चार संस्करण प्रायोजन गर्ने पूर्वसहमति बमोजिम तेस्रो संस्करणका लागि पनि सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ। आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सो पत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्नेछ।

आयोजकका अनुसार सातदोबाटोस्थित कराते हलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रूपैयाँ खर्च हुनेछ। सो अवसरमा बाग्मती प्रदेशका सांसद मीनकृष्ण महर्जनले स्तरीय प्रतियोगितामध्येको एक भएकाले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

मेयर महर्जनले गोदावरी नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्दै प्रतियोगिताले एरिका गुरुङ (हाङझाव एसियाडकी ऐतिहासिक रजत विजेता) जस्ता खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।  

प्रकाशित: ४ पुस २०८० ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App