११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रशिक्षक नियुक्तिप्रति ब्राजिली राष्ट्रपतिद्वारा आलोचना

रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टी (दायाँ)।तस्बिर: एजेन्सी

ब्राजिलका राष्ट्रपति लुइज इनासियो डा सिल्भाले कार्लो एन्सेलोट्टीलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गर्र्ने निर्णय गलत भएको बताएका छन्।  

इटालियन प्रशिक्षक एन्सेलोट्टीले कीर्तिमानी चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। आगामी जुनमा अमेरिकामा हुने कोपा अमेरिकाबाट एन्सेलोट्टीले ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्नेछन। एन्सेलोट्टी हाल स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडको प्रशिक्षकका रूपमा छन्। यस सिजनको अन्त्यसँगै उनी सो जिम्मेवारीबाट  

अलग हुनेछन्।

‘एन्सेलोट्टीलाई म सम्मान गर्छु, तर उनी कहिले पनि इटालीको राष्ट्रिय टोलीको समेत प्रशिक्षकमा नियुक्त भएनन्,’ लुलाले भने, ‘उनी इटालीको राष्ट्रिय टोलीमा देखिएका समस्या समाधानमा किन लाग्दैनन्। जो २०१८ र २०२२ गरी लगातार दुई पटक  

विश्वकप बाहिर रह्यो।’ ब्राजिलले २०२६ को फिफा विश्वकप छनोटको सुरुआती चरणमा अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिचको प्रशिक्षणमा खेल्नेछ।  

‘म डिनिचको समर्थक हुँ,’ लुलाले भने, ‘उनीसँग व्यक्तित्वका साथै सिर्जनात्मक कलासमेत रहेको छ। उनले हाल राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिरहेका छन्। उनले नै केही समय टोलीको प्रशिक्षण सम्हाल्दा त्यो राम्रो हुने थियो। ब्राजिल फुटबल संघ (सिबिएफ) ले मंगलबार एन्सेलोट्टीले २०२४ को कोपा अमेरिकामा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने घोषणा गरेको थियो। यससँगै एन्सेलोट्टी पछिल्लो ६० वर्षमा ब्राजिलको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक बन्ने पक्का भएको थियो।  

फुटबलप्रेमी ब्राजिल सन् २०२६ मा छैटौं पटक विश्वकप ट्रफी उचाल्ने लक्ष्यसहित युरोपियन फुटबलकै सफल प्रशिक्षक भित्र्याउने योजनामा छ। सन् २००२ यता ब्राजिलले विश्वकप उपाधि जित्न सकेको छैन। २०२२ को विश्वकप पनि ब्राजिलका लागि सुखद बन्ने सकेन। पाँच पटकको विश्वविजेता ब्राजिल क्रोएसियासँग स्तब्ध हुँदै क्वार्टरफाइनलबाटै आउट भएको थियो। यद्यपि, सोही महादेशको कट्टर प्रतिद्वन्द्वी अर्जेन्टिनाले भने विश्वकप उपाधि उचाल्यो। कतार विश्वकपमा असफलतापश्चात् ब्राजिलका प्रशिक्षक टिटे जिम्मेवारी छाड्न बाध्य भए। विश्वकपमा लगातार असफलताकै कारण ब्राजिलले टोलीमा युरोपियन प्रशिक्षक भित्र्याउन लागेको हो।

‘युरोपियन प्रशिक्षकका लागि ब्राजिलको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्न त्यति सहज भने छैन,’ लुलाले भने, ‘यद्यपि उनी प्रशिक्षकमा नियुक्त भैसकेकाले म उनलाई सफल कार्यकालको शुभकामना दिन चाहन्छु।’  

प्रकाशित: २३ असार २०८० ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App