५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मुक्तिनाथ यात्रामा जान पाउँदा ज्येष्ठ नागरिकमा छायो उल्लास

धनगढी नगरपालिका वडा नं ७ का ८० वर्षीय पुनाराम थारुलाई खुशीको सिमा छैन। परिवारको जिविकोपार्जनका लागी पूरा जिवन बिताएका उनलाई राम्रो तीर्थस्थल जाने पहिलेदेखि चाहना थियो। आर्थिक अभाव र पारिवारिक समस्याले उनी जान सकेका थिएनन्।

धनगढी उपमहानगरपालिकाले लैजान लागेको मुक्तिनाथको भ्रमणमा जाने अवसर पाएपछि जिवन सार्थक भएजस्तै खुशी लागेको उनले बताए। ‘मेरो ‘मुक्तिनाथ अथवा कुनै ठूलो तीर्थस्थल जाने पहिलेदेखिको चाहना हो, आर्थिक अभावले त्यो पूरा भएको थिएन्’ उनले भने, ‘मुक्तिनाथको यात्रामा जान पाउँदा धेरै खुशी लागेको छ।’

तीर्थस्थल र धार्मिक स्थलको यात्राले पुण्य कमाइन्छ भन्ने धार्मिक मान्यता रहेकाले उमेरको उत्तरार्धमा रहेका प्राय सबैको चाहना धार्मिक तीर्थस्थल जाने हुने गर्छ। आर्थिक अभाव लगायत पारिवारिका समस्याले कयौको तीर्थस्थल जाने चाहाना पूरा नभइ जिवन बितेर जाने गर्छ। पुनाराम मात्र नभइ चाहना भएर पनि आर्थिक अभाव लगायतका समस्याले जान नसकेका धनगढीका ज्येष्ठ नगारिकहरु मुक्तिनाथको यात्रामा जान पाउँदा खुशीले दंग भएका छन्।

‘ठूलो तीर्थस्थल मुक्तिनाथको दर्शन गरेमा मनले चाहेको पूरा हुन्छ भन्ने सुनेको थिए, जाने चाहना भएर पनि घरको अवस्थाले जान सकिँदैनथ्यो’ धनगढी उपमहानगरपालिका वडा नं १५ का ७० वर्षीय भागा देवी रानाले भनिन् ‘मुक्तिनाथ जस्तो ठूलो तीर्थस्थल जान पाउँला भनेर सोचेको पनि थिइन्, मेरो लागी यो भन्दा ठूलो अवसर र खुशी अरु के हुन सक्छ।’

धनगढी उपमहानगरपालिकाले ६८ वर्ष माथिका १ सय ३० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथको यात्रामा पठाएको हो। प्रत्येक वडाबाट ६, ६ जना र एक वर्षभित्र निवृत हुन लागेका कर्मचारी समेत गरेर ४ वटा एसी बसमा बिहिबार ज्येष्ठ नागरिकलाई मुक्तिनाथको यात्रामा पठाइएको हो।

मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना लगायत वडा अध्यक्षहरुले टिका लगाएर र रामनामी ओढाएर जेष्ठ नागरिको बिदाई गरेका थिए। ज्येष्ठ नागरिकलाई मुक्तिनाथको यात्रामा जाने बेला बाजागाजासहित सम्मान गरेर बिदाई गरिएको थियो। मुक्तिनाथको यात्रामा जाने बेला ज्येष्ठ नागरिकहरुमा खुशीले उल्लास छाएको थियो। उनीहरु मध्य केही जना बिदाईका लागी बजाइएका बाजाको लयमा तन्नेरी जस्तै नाचिरहेका थिए।

‘पछाडी परेका परिवारका मान्छेहरु जान चाहेर पनि तीर्थस्थल जान सक्ने कुरो हुँदैन’ धनपा ८ का ७८ वर्षीय पुष्करप्रसाद दाहालले भने, ‘हामीहरुलाई मुक्तिनाथको यात्रा गर्ने ठूलो अवसर प्रदान गर्नुभएकोमा मेयरलाई धेरै धेरै धन्यवाद छ।’ धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले वार्षिक निती तथा कार्यक्रम अनुसार जेष्ठ नगारिकलाई मुक्तीनाथको यात्रामा पठाइएको बताए।

ज्येष्ठ नगारिकलाई माया र सम्मान गर्नुपर्छ भनेर धार्मिक यात्रा गराइएको उनले बताए। ‘आउने पुस्ताहरुमा पनि जेष्ठ नगारिकप्रति माया र सम्मान गर्नुपर्छ भन्ने धारणा पैदा होस भनेर स्थानीय सरकारले जेष्ठ नागरिकलाई गर्नुपर्ने माया र सम्मानका लागी यो भ्रमण गरेका हौं’ उनले भने, ‘जेष्ठ नागरिकलाई स्वास्थ्य उपचार र धार्मिक भ्रमण नै आवश्यक हो, हामीले स्वास्थ्य उपचारको व्यवस्था गरिसकेका छौं र धार्मिक भ्रमण पनि गराउन सुरु गरेका हौं।’

धनगढी उपमहानगरपालिकाले प्रत्येक वडामा घुम्ती निःशुल्क श्वास्थ्य क्लिनिक सञ्चालन गरेर महिला, जेष्ठनागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ। ज्येष्ठ नागरिकलाई प्रत्येक वर्ष भ्रमण गराउने उनले बताए। बाटोमा खाना, पानी लगायतको सबै व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मीलाई पनि पठाइएको छ। ज्येष्ठ नगारिकलाई हुनेखानेले घरमै पनि उचित माया र सम्मान दिन नसकेको बेला स्थानीय सरकारले जेष्ठ नागरिकलाई सम्मान गरेर धार्मिक भ्रमण गराइएको कार्यको स्थानीयले प्रशंसा गरेका छन्।

प्रकाशित: ४ कार्तिक २०७९ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App