८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णालीको विकासका लागि ‘६ ब’ कार्यान्वयन आवश्यक: मुख्यमन्त्री शाही

वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जीवनबहादुर शाही।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि ‘६ ब’ लाई दृढताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रममै ‘६ ब’लाई कर्णाली विकासको प्रमुख आधारका रुपमा प्रस्तुत गरिएको बताउँदै यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। प्रदेश सरकारले ‘६ ब’ (बाटो, विजुली, वन, बजार, व्यवस्थापन र विचार) लाई विकासको प्रमुख आधार मान्दै ‘समृद्ध कर्णाली सुखी कर्णालीबासी’को दीर्घकालीन सोच तय गरेको छ।

‘बाटो, विजुली, वन, बजार, व्यवस्थापन र विचारविना कर्णालीको समृद्धि र विकास सम्भव छैन,’ प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘यसको कार्यान्वयनतर्फ सबैले ध्यान दिन आवश्यक छ’,उनले भने।

मुख्यमन्त्री शाहीले बाटो (सडक) विना कर्णालीको तीव्र विकास सम्भव नभएको बताए। ‘कनेक्टिभिटी नै कर्णाली विकासको पहिलो आधार हो,’ मुख्यमन्त्री शाहीले भने, ‘थोरै जनसंख्या र ठूलो भूगोल रहेको कर्णालीले बाटोलाई पहिलो प्राथमिकतामा राखेको छ।’  

मुख्यमन्त्री शाहीले विद्युतीकरण विना पनि समृद्धि सम्भव नभएको बताए। ‘कर्णालीका पाँच जिल्लाहरुमा अझै राष्ट्रिय प्रसारणलाइन पुगेको छैन्,’ मुख्यमन्त्री शाहीले भने, ‘विद्युतीकरणले नै आधुनिक जीवनमा मानिसहरुको जीवनस्तर वृद्धि हुन्छ।’

मुख्यमन्त्री शाहीले वनको अर्थ रुख–विरुवा मात्रै नभएको बताए। उनले बहुमूल्य जडीबुटीदेखि उच्च मूल्यका कृषि वस्तुहरुको कर्णाली उर्वर भूमि रहेको बताउँदै वन क्षेत्रको संरक्षण, संवद्र्धन गर्दै यसको उपयोगमा ध्यान दिनुपर्ने बताए। ‘सडक, विद्युत, सञ्चार, वन स्रोत भएर मात्रै पनि हुँदैन्,’ मुख्यमन्त्री शाहीले भने, ‘यसको बजारीकरण र व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक छ।’

मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा शत प्रतिशत प्रगति देखिने गरेर काम गर्न पनि विभागीय मन्त्री र सचिवहरुलाई निर्देशन दिए। उनले इच्छाशक्ति भएमा थोरै समयमा उल्लेख्य कामहरु गर्न सम्भव रहेको बताउँदै समयमै व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।  

मुख्यमन्त्री शाहीले ठूला योजनाहरुको भदौभित्र टेन्डर प्रक्रियामा पूरा गर्न पनि सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिए। उनले कर्णालीको विकासका लागि बोलेर भन्दा काम गरेर व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता रहेको बताए। वार्षिक प्रगति समीक्षा कार्यक्रममा आठ वटै मन्त्रालयले गरेका कामहरु र आगामी योजनाका बारेमा जानकारी गराउनेछन्।

प्रकाशित: १९ श्रावण २०७९ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App