४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

वर्षा नहुँदा रोपाइँका लागि छट्पटिँदै सर्लाही र रौतहटका किसान

समयमा रोपाइँको लागि उपयुक्त पानी नपरेपछि सर्लाही र रौतहटका किसान रोपाइँ गर्न नपाएर छट्पटिएका छन्। साउन लागि सक्दा पनि पानी नपरे पछि धानको बेर्ना ब्याडमै सुक्न थालेको छ भने रोपेको धानपनि खेतमै सुक्न थालेको छ।  

असारको पहिलो सातामापानी परे पछि किसानहरु खुसी भएका थिए। रौतहटमा गत असार १ र असार १५ मा पानी परेको थियो तर त्यसपछि पानी नपर्दा धान खेती गर्ने किसानहरु मर्कामा परेका छन्।  

बोरिङको सुविधा भएको र नहरको पानी लाग्ने ठाउँका केही किसानले रोपाई गर्न पाएका छन् तर अधिकांश खेती आकाशे भरमा हुने हुनाले रोपाइँ गर्न नपाएर सर्लाही र रौतहटका किसानलाई निकै धेरै मर्का परेको छ।  

सर्लाहीको धनकौलका किसान किसन यादवका अनुसार अहिलेसम्म पानी नपरेर सबै भन्दा बढी क्षति किसानले बेहोर्नु परेको छ। दिनभर चर्को घामले गर्दा ब्याडमै धानको बेर्ना सुकिरहेको यादव बताउँछन्। कतैबाट सिँचाइको कुनै आशा नरहेका किसानहरु आकाशतिर हेर्दै छट्पटिइरहेका छन्।

आज पानी पर्ला र भोलि पानी पर्ला भन्दाभन्दै आकाशतिर हेर्दाहेर्दै पूरा असार सुख्खामा बितिसकेपछि किसानलाई निकै मर्का परेको छ। आकाशे भरमा खेतीगर्दा कहिले खडेरी त कहिले बाढीले दुःख दिने गरेकोमा धानको ब्याडमै बेर्ना सखाप हुँदा पनि पानी नपर्दा किसानलाई निकै समस्या परेको किसानहरु नै बताउँछन्।  

रौतहटमा बागमती सिँचाइ आयोजनाको पानीले केही प्रतिशत खेती भएको छ। पर्याप्त मात्रामा पानी नपुग्दा पानीको लागि किसानले हारालुछ गरिरहेका छन्। यसै गरी उत्तरी क्षेत्रका किसानले केही आफ्नो प्रयासमा सिँचाइ गरेका छन् तर जिल्लाको पचहत्तर प्रतिशतभागमा राम्ररी पानीपुग्न सकेको छैन।  

नहरको सुविधा भए पनि पानी नपुगेर किसानहरु छटपटिएका छन्। मौसम सुख्खा भएको र खेतलाई अत्यधिक पानी चाहिएको अवस्थामा आवश्यकता बमोजिम नहरमा पानी नआउँदा पनि किसानलाई समस्या भएको हो।  

नहरको सुविधा नभएको ठाउँका किसानलाई भने निकै समस्या भएको छ। धानको बेर्ना नै बिस प्रतिशतजति खेतमै सुकिसकेको गरुडा २ गेडहीका एक किसानले बताएका छन्।

प्रकाशित: १ श्रावण २०७९ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App