१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

चितुवाको आक्रमण परी बालकको मृत्यु

चितुवाको आक्रमणमा परेर तनहुँमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँराका प्रेम बगालेका ५ वर्षीय  छोरा सुप्रिमको चितुवाको आक्रमणमा परेर मृत्यु भएको हो। 

मंगलबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा चितुवाले घरमा आएर आक्रमण गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए। ‘घरको आँगनमा दिदीभाई खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर लगेको हो। घरभन्दा दुई सय मिटर माथी छापेली सामुदायिक वनमा बालकको शव भेटिएको छ’, उनले भने। आधा घण्टापछि बालकको शव भेटिएको हो।

सो क्षेत्रमा शनिबार राती र आईतबार विहान पनि चितुवाको आक्रमण परेर दुई जना घाईते भएका थिए। बन्दीपुर–४ टावरमा शनिबार राती चितुवाको आक्रमण परी आठ वर्षीया बालिका रियाना थापा घाईते भएकी थिईन्। उनलाई घर नजिकैको बाटोमा चितुवाले आक्रमण गरेको हो।  

यस्तै, आइतबार विहानपख बन्दीपुर गाउँपालिका–१ बाघदले शिखरडाँडामा चितुवाले आक्रमण गर्दा ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका छन्। पिँढीमा सुतिरहेका उनलाई चितुवाले आक्रमण थियो।यो क्षेत्रमा पहिल्यैदेखि बेलाबखतमा चितुवा देखापर्ने गरेको स्थानीयहरु बताउँछन्। 

स्थानीयका अनुसार सो क्षेत्रमा बच्चा सहितको चितुवाले आतंक मच्चाएको छ। बासस्थानका लागी ओडार, पानीको व्यवस्थासँगै जंगल नजिकै भएकाले चितुवा बेलाबेलामा देखा परेपनि मान्छेलाई आक्रमण भने गरेको थिएन्। यसपाली चितुवा आतंक बढेपछि स्थानीयमा त्रास छाएको छ। आइतबार चितुवाको आतंक बढेपछि नियन्त्रणमा लिनलाई बाघदलेमा बाख्रा सहितको फलामे खोर राखिएको छ। तर नियन्त्रणमा आएको छैन्। पछिल्ला चार बर्षमा चितुवाको आक्रमणमा परेर तनहुँमा १२ जना बालबालिकाले ज्यान गुमाएका छन्।

प्रकाशित: ३१ जेष्ठ २०७९ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App